महिला दिवसकै दिन महिलाको यो गति

सप्तरी, २४ फागुन । शनिबार मार्च ८ अर्थात् १०४ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला सप्तरीमा एक महिलामाथि जिउँदै आगो लगाइएको आशंका गरिएको छ ।
राजविराज ७ निवासी २६ वर्षकी नजराना खातुनलाई जिउँदै जलाएर हत्याको प्रयास भएको छिमेकीहरूले दाबी गरेका छन् । तर, प्रहरीले भने हत्या प्रयास वा आत्महत्या के हो भन्ने अहिल्यै एकिन नभएको बताएको छ ।
कोठामा सुतिरहेको बेलामा नजरानाको शरीरमा आगो लागेपछि चिच्याएपछि पुगेका छिमेकीहरूले उद्धार गरी अस्पताल लगेका हुन् । उनको शरीरको ९० प्रतिशत भाग आगोले पोलेको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नजरानालाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नजरानाको जिउमा कसरी आगो लाग्यो भन्नेबारे यकिन तथ्य सार्वजनिक नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छिमेकीका अनुसार नजरानाको सासुसहित घरका परिवारसित पटक–पटक झगडा हुँदै आएको थियो ।
नजरानाका पति गुडु अन्सारी १५ दिन अघि रोजगारीका लागि साउदी अरब गएका छन् । नजरानालाई आगो लगाएर मार्ने प्रयास गरेको आशंकामा प्रहरीले शनिबार बेलुकी उनकी सासु बानो खातुन र जेठानीलाई पक्राउ गरेको छ । दुवै जनालाई अनुसन्धानका लागि हाल जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।

प्रतिक्रिया