स्थानीय निर्वाचनको तयारी सुरु : मन्त्री सिंह

काठमाडौं, २० फागुन । उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय निर्वाचनका लागि सरकारले आवश्यक तयारी सुरु गरेको बताएका छन् । स्थानीय विकास पत्रकार समाजका पदाधिकारीसँग मंगलबार भएको भेटमा उनले निर्वाचनका लागि आवश्यक पर्ने ऐन, नियम निर्माण तथा संशोधनको काम अगाडी बढेको जीकिर गरे ।
उपप्रधानमन्त्री सिंहले स्थानीय निकायको निर्वाचनको मिति घोषणा दलीय सहमतिमा हुने र यसका लागि दल तथा निर्वाचन अयोगसँग कुराकानी अगाडि बढिरहेको पनि बताए । मंगलबारै आयोजित एक अर्को कार्यक्रममा उनले जनप्रतिनिधिको अनुपस्थितिमा स्थानीय निकाय भताभुंग भएको बताएका छन् । जनप्रतिनिधिको अनुपस्थितिका कारण कर्मचारीले नागरिकलाई दिनुपर्ने सेवामा ढिलासुस्ती भएको भन्दै सरकार चाँडोभन्दा चाँडो स्थानिय निर्वाचन गराउने पक्षमा रहेको बताए ।
जिल्ला विकास समिति काठमाडौंका सातौं जिल्ला परिषद्मा बोल्दै उपप्रधानमन्त्री सिंहले नागरिकलाई छिटो सेवा दिन र काम पारदर्शी गर्न निर्देशन दिए । उनले जनप्रतिनिधिको अभाव पूर्ति गर्न सरकारले स्थानीय निकायको निर्वाचनको प्रक्रिया अगाडि बढाएको बताए । काठमाडौंका निर्वाचित र समानुपातिकतर्फका समासद्हरू उपस्थित परिषद्मा ५ अर्ब ८६ करोड ३८ लाख ५४ हजार रूपियाँको बजेट पेश गरिएको थियो ।

प्रतिक्रिया