बालकृष्ण ढुंगेल खोज्दै प्रहरी

काठमाडौं, १६ फागुन । एकीकृत नेकपा माओवादीका नेता तथा पूर्वसभासद बालकृष्ण ढुंगेललाई प्रहरीले पक्रने तयारी गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले मन्त्रालय सम्हाले लगत्तै ढुंगेललाई पक्रन निर्देशन दिएका थिए । गौतमको निर्देशनपछि प्रहरीले उनको खोजी सुरु गरेको बताइएको छ । ज्यान मुद्दामा सर्वोच्चले दोषी ठहर गरेका ढुंगेललाई तत्काल पक्रन प्रहरीलाई निर्देशन दिइसकेको गृह स्रोतको दाबी छ । गृहमन्त्री गौतमले बिहीवार एक सार्वजनिक कार्यक्रममा समेत ढुंगेल छिट्टै पक्राउ पर्ने बताएका थिए ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी गणेश केसीले ढुंगेललाई प्रक्राउ गर्न अदालतले आदेश यसअघि नै दिइसकेको भन्दै प्रक्रिया जारी रहेको बताए । ‘अदालतले पक्रनु भनेको छ, हामी प्रक्रियामा नै छौँ योभन्दा बढी त के भन्ने ।’ प्रवक्ता केसीले सौर्यसँग भने ।
तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याआरोपमा दोषी ठहर गर्दै सर्वोच्चले ढुंगेललाई सर्वस्वसहित जन्म कैदको फैसला केही वर्ष पहिले नै सुनाएको थियो । सर्वोच्चको आदेशपश्चात पनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । उनी सभासद् रहेको बेलामा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईनिकट रहेका ढुंगेललाई नपक्रन उनले नै यसअघि प्रहरीलाई निर्देशन दिएका थिए । माओवादीले युद्धकालका मुद्दा ब्यूँताए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया