जलविद्युत् तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरू छन् : राजदूत पोखरेल

काठमाडौं : नेपाल बेल्जियम दौत्यसम्बन्ध ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमहरूको सिलसिलामा नेपाली दूतावास ब्रसेल्सले युरोपियन इस्टिच्युट अफ एसियन स्टडिज (इआस)सँगको सहयोगमा बेल्जियमको ब्रसेल्समा ‘इन्भेस्टमेन्ट अपरच्युनिटिज इन नेपाल : हाइड्रोपावर एन्ड टुरिजम’ विषयमा एक सेमिनार आयोजना गर्‍यो । साढे दुईघन्टा चलेको सो सेमिनारमा नेपाली दूतावास, ब्रसेल्सका राजदूत राममणि पोख्ररेल, नेपाल राष्ट्र बैंकका सञ्चालकद्वय डा. श्रीराम पौडेल र डा. रामहरि अर्यालले नेपालमा लगानी तथा नेपालको पर्यटनसम्बन्धी विषयमा प्रष्टयाएका थिए ।
उक्त सेमिनारमा युरोपियन युनियनको नेपाल हेर्ने महाशाखा प्रमुख मारिया क्यास्टिलो फर्नान्डेज, ब्रसेल्सस्थित भुटानी राजदूत सोनाम छोङ, ब्रसेल्सकै बंगलादेशी राजदूतवासका काउन्सिलरलगायत कुटनीतिज्ञका साथै बेल्जियमको फ्लान्डर्स प्रान्तकी मध्य तथा दक्षिण एसिया लगानी तथा व्यापार व्यावस्थापक कारिन डे भिलिसच्वर, इच्छुक बेल्जियन लगानीकर्ता तथन नेपालको बारेमा चासो राख्ने व्यक्तिहरूको उपस्थिति थियो ।
सेमिनारमा संक्षिप्त मन्तव्य दिँदै ब्रसेल्सका राजदूत राममणि पोख्ररेलले नेपालको भौगोलिक, प्राकृतिक विविधताको जानकारीसहितको नेपालको छोटो चिनारी प्रस्तुत गरेका थिए । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिँदै राजदूत पोखरेलले जलविद्युत् तथा पर्यटन क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरू भएको औल्याएका थिए ।
विदेशी लगानी प्रवद्र्धन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र नेपालमा विदेशी लगानी मैत्री नियम, कानुन, अथाह प्राकृतिक स्रोत, पर्याप्त श्रम उपलब्ध तथा बढ्दो आन्तरिक तथा बाह्य बजारले गर्दा विदेशी लगानीकर्ताका लागि नेपालमा लगानी गर्न आकर्षक बनेको बताए । राजदूत पोखरेलले नेपालमा लगानीका लागि आह्वान गर्दै दूतावसले सहजीकरण तथा सहयोग गर्ने बताए ।
सेमिनारमा राष्ट्र बैकका सञ्चालक प्रा.डा. पौडेलले नेपालमा लगानीसम्बन्धी विस्तृत व्याख्या गरेका थिए । नेपालको वर्तमान आर्थिक अवस्थाको चित्रण गर्दै विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावानाहरू रहेको प्रस्टयाए । उनले नेपालमा लगानीका अवसरहरू केलाउँदै सो अवसरको उपयोग गर्न सबैमा अनुरोध गरेका थिए । नेपालका ठूला परियोजनामा गरिने लगानीलाई सरल तथा सहज बनाउन नेपालमा दुई वर्षअघि मात्र लगानी बोर्ड गठन भएको जानकारी दिँदै नेपाल सरकारले सानो, मझौला तथा ठूला परियोजनाहरूमा विदेशी लगानीको प्रक्रियालाई चुस्त बनाएको सचित्र व्याख्या गरे ।
सेमिनारमा डा. रामहरि अर्यालले नेपालका पर्यटनसम्बन्धी विभिन्न तथ्यहरू प्रस्तुत गरेका थिए । उनले नेपाल प्रकृति र सँस्कृतिको कारणले मात्र नभई साहसिक पर्यटनको लागि पनि विदेशीहरू माझ लोकप्रिय हुँदै गएको बताए । नेपालको मुख्य पर्यटकीय स्थलको विविधतालाई सचित्र दर्शाउँदै उनले विभिन्न ख्यातिप्राप्त अन्तर्राष्ट्रिय सञ्चारमाध्याम तथा सर्वेक्षणहरूले समेत विभिन्न दृष्टिकोणबाट नेपाललाई उत्कृष्ट गन्तव्य ठहराएको स्मरण गराएका थिए ।
यसैगरी ग्लोबल वाटर इस्टिच्युटकी अध्यक्ष प्रा. भेलेरीन्डारुजानीयले समेत उक्त सेमिनारमा जलविद्युत्का उत्पादनका फाइदाहरू तथा जलविद्युत् क्षेत्रमा लगानी गर्दा विचार पुर्‍याउनुपर्ने विषयहरूमा आफ्नो विचार राखेका थिए । (सौस)

प्रतिक्रिया