खोटाङका सामुदायिक रेडियो संकटमा

खोटाङ, १ फागुन । खोटाङमा सञ्चालित सामुदायिक रेडियोहरु लोडसेडिङका कारण संकट परेका छन् । जिल्लामा सञ्चालित २ वटा सामुदायिक रेडियो जेनेरेटरकै भरमा प्रसारण गर्नुपर्ने भएपछि समस्यामा परेका हुन् ।
दैनिक लोडसेडिङ बढ्दै गएपछि रेडियोको नियमित प्रसारणमा समस्या परेको रुपाकोट सामुदायिक रेडियोका स्टेशन मेनेजर टंकबहादुर थापाले जानकारी दिएका छन् । स्थानीय समुदायबाट आउने सूचना तथा विज्ञापनमा निर्भर रुपाकोट सामुदायिक रेडियो र सामुदायिक हलेशी एफ.एम. लाई दैनिक १२ घण्टासम्म पुगेको लोडसेडिङले चर्को मारमा पारेको छ ।
खोटाङ तथा आसपासको जिल्लाहरुमा सुनिने पाँच सय वाट क्षमताको रुपाकोट सामुदायिक रेडियो र दुई सय पचास वाट क्षमताको हलेशी एफ्.एम. महंगो डिजेल खरिद गरी जेनेरेटरको भरमा सञ्चालन भईरहेको छ । बिद्युत् सुचारु भएकै समयमा पनि कम भोल्टेजका कारण पावरले नपुग्ने हुनाले पुरै प्रसारण जेनेरेटरकै भरमा धान्नुपर्ने रुपाकोट रेडियोको प्राबिधिक चुडामणी गदालले बताए । रेडियो सञ्चालनको लागि प्रतिलिटर १ सय बीसका दरले खरिद गरेको डिजेल मासिक करिब ५० हजार रुपैंया सम्मको खपत हुने गरेको गदालको भनाई छ । प्राविधिक गदालका अनुसार जेनेरेटर, सोलार, यूपीएस, ट्रान्समिटरलगायतका उपकरणहरु समेत बिग्रिरहने गरेको छ । बिद्युत आपूर्तिको लागि जेनेरेटर निरन्तर चलाईरहनुपर्ने हुँदा जेनेरेटर दैनिक जसो नै बिग्रिरहने र त्यसको मर्मतको लागि बढि खर्च हुने गरेको छ ।
स्थानिय समुदायको सूचनामा पहुँच विस्तार गर्ने भरपर्दो माध्यम बनेको सामुदायिक रेडियोहरुमा बढेको चर्को आर्थिक भारले दैनिक प्रसारणमा समस्या आएपछि जनताको सूचनाको हकलाई समेत वाधा पुग्ने गरेको छ । लोडसेडिङ मात्र नभई बारम्बार बिद्युत लाईन बिग्रिरहने र विद्युत प्राधिकरणले तत्काल मर्मत गरी सुचारु नगर्ने गरेको जिल्लाका रेडियोकर्मीहरु बताउँछन् । यद्यपी जेनेरेटर खरिद तथा मर्मत र डिजेल खरिदको आर्थिक भारले गर्दा समयमा महशुल बुझाउन नसक्दा स्टेशनको लाईन पटक पटक प्राधिकरणको कर्मचारीले काटिदिने गरेको रुपाकोट रेडियोको स्टेशन म्यानेजर टंक थापाले बताए । यसरी अन्य सर्वसाधारण तथा नाफामुलक संस्थाको जसरी लाईन काटिदाँ र स्थानीय सामुदायिक रेडियो जस्तो संबेदनशील संञ्चार माध्यम अबरुद्घ हुँदा सम्पुर्ण पक्षमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ ।
यता, हलेसी सूचना तथा सञ्चार सहकारी संस्थाले ०६५ सालमा स्थापना गरेको हलेसी एफ्.एम. को पनि उस्तै समस्या रहेको छ । हलेशी एफ.एम.ले भने प्रसारण स्टुडियो मुढेमै भए पनि केही समय अघिदेखि वाईफाइ प्रबिधिद्वारा सदरमुकामबाटै प्रसारण गरिरहेको छ । यसरी मुढे र दिक्तेल दुवै ठाउँमा बिद्युत आपूर्तिको लागि डिजेल खरिद गर्नुपर्दा आफुहरुलाई समस्या पर्ने गरेको हलेशी एफ.एम्.का स्टेशन मेनेजर उजिर कार्कीले जानकारी दिएका छन् ।
बिद्युत आपूर्तिका कारण दुवै सामुदायिक रेडियोको प्रशारण पटक पटक अबरुद्घ भईरहने गरेको छ । यसरी जिल्लामा सञ्चालित रेडियोहरु घरीघरी अबरुद्घ भईरहँदा स्थानीय सूचना र समाचारबाट बन्ञ्चित हुनुपरेको जिल्लाबासीको गुनासो छ ।
यहाँका रेडियोहरुबाट गाउँठाउँका खबरका साथै बैठक बस्ने सूचना, बिवाह ,ब्रतबन्ध काजक्रिया, मलामी जाने आदिको निमन्त्रणाहरु समेत प्रसारण गर्ने गरिन्छ । यस्तै रेडियोबाट पशु चौपाय हराएको साथै तत्काल कसैले कसैलाई सम्पर्क गर्नु परेको तर सम्पर्क हुन नसकेर रेडियोमा सम्पर्क गरेको खण्डमा रेडियोबाट खबर नि:शुल्क प्रसारण गरिदिने सुबिधा समेत रहेको रुपाकोट रेडियोकर्मीहरु बताउँछन् ।
सूचना र सञ्चारको अभावबाट खोटाङवासीहरुमा उत्पन्न भएको पछौटेपनको अन्त्य गर्ने उदेश्यले २०६४ सालमा रुपाकोट रेडियो स्थापना गरिएको रुपाकोट रेडियो सञ्चालक समितिका कार्यबाहक अध्यक्ष हरी राजभण्डारीले जानकारी दिएका छन् । सम्पुर्ण खोटाङवासीको संलग्नतामा रुपाकोट सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रुपाकोट रेडियो हाल दैनिक १२ घण्टा प्रसारण हुने गरेको छ । १ सय रुपैंया गोटाको दरले शेयर बिक्री गरिएको रुपाकोट रेडियोको करिब ३५ सय खोटाङवासीको शेयर रहेको जनाइएको छ ।

प्रतिक्रिया