वैकुण्ठ र दीपकलाई आवास सुविधा

bista_manandhar copyकाठमाडौं, २३ माघ । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी धावक वैकुण्ठ मानन्धर र तेक्वान्दोका दीपक विष्टलाई नेपाल सरकारले आवास सुविधास्वरूप जनही २५ लाख रुपियाँ पुरस्कार बिहीबार प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ०६८ साल २१ चैतमा मा बसेको  ९० औँ बोर्ड बैठकले दक्षिण एसियाली खेलकुदमा तीन वा सोभन्दा बढी साग खेलमा स्वर्ण पदक वा एसियाडमा स्वर्णसहित दुई पदक वा ओलम्पिक खेलकुदका पदकधारी खेलाडीलाई आवास सुविधा स्वरूप २५ लाख रुपियाँ प्रदान गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसै वर्षको मंसिर अन्तिमतिर मन्त्रिपरिषद् बैठकले उक्त निर्णयलाई पारित गरेको थियो ।
वैकुण्ठले पहिलो, दोस्रो र तेस्रो सागमा स्वर्ण जितेका थिए भने दीपकले आठौंदेखि ११ औँ सागसम्म लगातार चार स्वर्ण जितेका थिए । दीपकले एसियाली खेलकुदमा पनि दुई कास्य जितेका छन् । त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमिकभर्डहलमा आयोजित एक कार्यक्रमका बीच मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उनीहरूलाई पुरस्कार प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले कुशल खेल प्रदर्शन गरी अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गरेकामा पुरस्कृत दुवै खेलाडीलाई धन्यवाद ज्ञापन गर्दै खेलकुद शान्ति र एकताका साथै राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने माध्यम भएको बताए । उनले खेलकुदको विकासका लागि सरकार निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले खेलाडीले भविष्यको असुरक्षाका कारण बस्नु पर्ने अवस्थाको क्रमैसँग अन्त्य हँुदै गएको बताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले सरकारको पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनको नीतिअनुरूप नै खेलाडीलाई प्रोत्साहन गरिएको बताए । राखेप सदस्य–सचिव युवराज लामाले खेलाडीलाई सम्मान गर्न पाउँदा सिंगो खेलकुद र देशले गर्विलो महसुस गरेको बताउँदै परिषद्को सिफारिस कार्यान्वयन गरिदिएकामा सरकारलाई धन्यवाद ज्ञापन गरे ।
‘यो सम्मान पाउँछु भन्ने आशा पनि गरेको थिइनँ । पुरस्कार पाएकोमा खुसी छु ।’ पुरस्कार ग्रहणपछि वैकुण्ठले भने ‘यसका लागि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, परिषद्लाई धन्यवाद दिन चाहन्छु ।’ दीपकले खेलकुदले गर्दा आफू यहाँसम्म आइपुगेको बताउँदै परिषद्को खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ भन्ने नीति अत्यन्तै सराहनीय भएको बताए ।

प्रतिक्रिया