सेमेस्टर प्रणाली लागू गर्न विद्यार्थी मनाउँदै त्रिवि

tuकाठमाडौं । त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा जसरी भए पनि सेमेस्टर प्रणाली सुरु गर्ने तयारी गरेको छ । सेमेस्टर प्रणाली जसरी पनि सुरु गर्न त्रिविले विद्यार्थी संगठनहरूसँग छलफल पनि सुरु गरेको छ । विद्यार्थी संगठनहरूलाई मनाएर जसरी पनि सेमेस्टर प्रणाली लागू गर्न त्रिवि पदाधिकारीहरूले प्रयास पनि थालेका छन् । पदाधिकारीहरूले विद्यार्थी नेताहरूसँग विभिन्न चरणमा पनि छलफल गरिसकेका छन् । ‘विद्यार्थी संगठनहरूलाई सेमेस्टर प्रणाली लागू गर्नका लागि सहमतिमा ल्याउने प्रयास गरिरहेको छौँ,’ त्रिविका रजिस्ट्रार चन्द्रमणि पौडेलले भने, ‘उनीहरू पनि सेमेस्टर लागू गर्नेमा कन्भिन्स भइरहेका छन् ।’ उनले आफूहरूले जसरी पनि विद्यार्थी संगठनलाई कन्भिन्स गर्ने दाबी गरे । विनातयारी हचुवाको भरमा सेमेस्टर प्रणाली लागू गरेर फलदायी नहुने भन्दै विद्यार्थी संगठनहरू विरोधमा उत्रेका हुन् । विद्यार्थी संगठनको विरोधका बाबजुद २ माघबाट सेमेस्टर प्रणालीको फारम वितरण सुरु गरिएको थियो । तर, विद्यार्थीको विरोधले वितरण प्रक्रिया अवरुद्ध छ । रजिस्ट्रार पौडेलले चाँडै नै फारम खुलाइने बताए । ‘चाडै नै विद्यार्थीहरूलाई कन्भिन्स गर्छाैँ । करिब–करिब कन्भिन्स भइसकेका छन्,’ पौडेलले भने, ‘उनीहरूले सहमति गर्नासाथ फागुनको पहिलो हप्ताबाट कक्षा सञ्चालन गर्ने गरी फारम खुलाउछौँ ।’ यसअघि त्रिविले २ माघमा फारम खुलाएर २ फागुनबाट कक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । त्रिविले केन्द्रीय क्याम्पस कीर्तिपुरमा मात्र यसै शैक्षिक सत्रदेखि सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरेको हो । रजिस्ट्रार पौडेलले शिक्षामा गुणस्तर ल्याउनका लागि सेमेस्टर प्रणाली आवश्यक भएको बताए । उनले वार्षिक प्रणालीले विद्यार्थी पनि कक्षामा नियमित नहुने र पढाइको गुणस्तर पनि राम्रो हुन नसकेको दाबी गरे । उनका अनुसार सेमेस्टर प्रणालीले ती समस्या समाधान हुनेछ । उनले सेमेस्टर प्रणाली सुरु भएपछि विद्यार्थी उत्तीर्ण हुने प्रतिशत ३० बाट बढाएर ७० पुर्‍याउन सकिने बताए । विद्यार्थी संगठनहरूले भने सेमेस्टर प्रणालीमा शुल्क महँगों हुने र त्यसको तयारी पनि अपुग भएको भन्दै विरोध गरिरहेका छन् । तर त्रिवि भने विद्यार्थीको भनाइसँग सहमत छैन । रजिस्ट्रार पौडेलले विद्यार्थी संगठनले भने जस्तो सेमेस्टरको पढाइ महँगो नहुने दाबी गरे । ‘अहिलेको वार्षिक परीक्षामा शुल्क जति हुन्छ । त्यतिनै सेमेस्टरमा खर्च लाग्छ,’ उनले भने, ‘एक वर्षमा लाग्ने शुल्क एक सेमेस्टरमा लाग्छ । पढाइको गुणस्तर राम्रो दिने भएकाले अलि बढी शुल्क मात्र लाग्ने हो ।’ त्रिविले सेमेस्टर प्रणालीका लागि शिक्षा शास्त्र संकायमा ६४ हजार २ सय, व्यवस्थापनमा ५६ हजार ६ सय र मानविकीमा ४६ हजार ५ सय शुल्क लिने तयारी गरेको छ । त्रिविले निश्चित कोटामा मात्र सेमेस्टरको पढाइ गर्ने छ । पौडेलका अनुसार अहिले जति नियमित विद्यार्थी छन्, त्यति नै कोटा निर्धारण गरिने छ । एउटा विषयका लागि त्रिविले १ सय ५० देखि २ सयको हाराहारीमा कोटा निर्धारण गरेर कक्षा सञ्चालन गर्नेछ । मानविकि संकायका डिन चिन्तामणि पोख्रेलले पनि योजना बनाएरै सेमेस्टर प्रणाली लागु गर्न थालिएको बताए । ‘हामीले योजनाअनुसार सेमेस्टरको पढाइ सुरु गर्न थालेका छौँ । विद्यार्थीले यसलाई विरोध नगरी साथ र समर्थन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘शिक्षामा गुणस्तर ल्याउनका लागि सेमेस्टर प्रणाली सुरु गर्न थालेका हौँ ।’ अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले सेमेस्टर प्रणालीप्रति आफूहरू सकारात्मक रहेको बताए । उनले शुल्क, कोटा प्रणाली र विश्वविद्यालय क्याम्पसमा मात्र लागू गर्नेलगायत कुराहरूप्रति आफ्नो असहमति रहेको बताए । ‘सेमेस्टर लागू गर्ने विषयमा छलफल सकारात्मक भइरहेको छ,’ उनले भने, ‘हामी पनि लागू गर्ने पक्षमा छौँ । हाम्रा कुरामा सहमति भए लागू हुन्छ ।’ त्रिविले पहिलो सेमेस्टरको पाठ्यक्रमसमेत तयार गरिसकेको छ ।

प्रतिक्रिया