थापाले किन भने, ‘इतिहास आफैँ दोहोरिन्छ’

काठमाडौं । सूर्यबहादुर थापा विचारको हिसाबले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधी कित्ताका हुन् । तर, संयोग नै भन्नु पर्छ, थापालाई संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउने संविधानसभाको अध्यक्षता गर्ने अवसर प्राप्त भयो ।
पञ्चायती शासनकालको बेला लामो समय सत्ताको बागडोर सम्हालेका सूर्यबहादुर थापाले मुलुकमा प्रजातन्त्र प्राप्तिपछि पनि प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका थिए । तर, उनलाई संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउने संविधानसभाको अध्यक्षसमेत बन्ने अवसर पनि प्राप्त भयो । उनलाई त्यो अवसर मुलुकको सबैभन्दा ठूलो दलको नेताको हैसियत प्राप्त भएको भने होइन । ८६ वर्षीय थापालाई संविधानसभाको पहिलो बैठकको अध्यक्षता गर्ने अवसर संविधानसभाको सबैभन्दा ज्येष्ठ सदस्यले गर्ने नियमअनुसार प्राप्त भएको हो । उक्त अवसरलाई छोप्दै थापाले अध्यक्षको कुर्सीबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउने भाषण ठोक्दै हिँडेका नेताहरूलाई इतिहास दोहोरिन सक्ने भन्दै सजक हुन आग्रह गरे । उनले त्यही कुर्सीबाट ००७ देखि ०१४ सालसम्मको राजनीतिक अस्थिरताबारे समेत स्मरण गराए । थापाले सम्झनका लागि सजिलो होस् भन्दै ००७ सालको परिवर्तनपछि अन्तरिम संविधानमा संविधानसभाको निर्वाचनको व्यवस्था गरिएको स्मरण गराएका थिए ।
००८ सालदेखि ०१४ सालसम्मको तत्कालीन नेतृत्ववर्गको अवस्था भ्रमपूर्ण रहेको, अर्काको हैसियत र अस्थित्व कोही पनि स्वीकार्न तयार नरहेको, आत्मकेन्द्रित नेतृत्व वर्गमा देखिएकोजस्ता कुराले त्यो अवसर गुमेको उनको दाबी थियो । राजनीतिक क्षेत्रमा कत्ति पनि गम्भीर नहुने स्थिति, नेतृत्वको अदूरदर्शिताजस्ता कारणले पनि संविधान बन्न नसकेको उनले सभासद्हरूलाई स्मरण गराए । त्यसबेला गुमेको संविधानसभा र संविधान प्राप्त गर्न करिब ५० वर्ष कुर्नु परेको स्मरण थापाले गराउँदै गर्दा सबै सभासद् भावुक बनेका थिए । संविधान नै जारी नगरी पहिलो संविधानसभा विघटन हुनुमा पनि त्यही अवस्था प्रमुख रहेको थियो ।
थापाले ००८ सालको अन्तरिम संविधानमा नै संविधान जारी गर्ने व्यवस्था भएको तर, तत्कालीन नेतृत्व वर्गको अन्योल, इष्र्या, द्वेष, गम्भीर नहुने प्रवृत्ति र गैरजिम्मेवार प्रवृत्तिले गर्दा तत्कालीन राजाबाट अन्तरिम संविधान संशोधन गरेकोसमेत स्मरण गराए । अहिलेका राजनीतिक दलमा पनि त्यो प्रवृत्ति रहिरहने हो भने त्यतिबेलाकोजस्तै यो संविधान पनि राजाले दिने अवस्था आउन सक्ने भन्दै उनले ‘इतिहास आफैँ दोहोरिन्छ’ भन्ने शब्दलाई निक्कै जोडका साथ वाचन गरेका थिए । अन्तिममा उनले, ‘आशा राखौँ त्यस्तो नहोस्’ भने पनि उनको आसय के–हो भन्ने कुरा बुझ्न संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउने यात्रामा लागेका दलका नेतालाई मुस्किल नपर्ला कि ?

प्रतिक्रिया