दिल्लीका मुख्यमन्त्री केजरीवालको काइदा

dillyनयाँ दिल्ली । तीन पुलिस अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै धर्नामा बसेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो आन्दोलन समाप्त भएको घोषणा गरेका छन् । दिल्लीका उपराज्यपाल नजीव जंगको आग्रहपछि केजरीवालले यस्तो निर्णय गरेका हुन् ।

मुख्यमन्त्री केजरीवालले ती पुलिस अधिकारीलाई निलम्बन गर्न माग गरेका थिए तर, उपराज्यपालले ती प्रहरी अधिकारीलाई बिदामा राख्ने निर्णय गरेका छन् । उनीहरूलाई बिदामा राख्ने निर्णय गरेलगत्तै उपराज्य पालले केजरीवाललाई आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए । केजरीवालले आफ्नो माग आंशिक रूपमा मात्रै सफल भएको बताएका छन् । उनले दिल्लीका जनताको जित भएको दाबी पनि गरेका छन् । केही दिन पहिले दिल्लीको पहाडगन्जमा डेनमार्ककी एक महिलालाई बलात्कार गरिएको थियो । सो घटनालाई लिएर केजरीवालले सो क्षेत्रका प्रहरी अधिकारीलाई निलम्बन गर्न माग गरेका हुन् । यसअघि मंगलबार दिउँसो समर्थक र प्रहरीबीच हिंसात्मक भिडन्त भएको थियो । दिल्लीका मुख्यमन्त्री केजरीवालले सोमबार रातिदेखि नै रेल भवन नजिकै धर्नामा बसेका थिए ।
प्रहरी र केजरीवालका समर्थकबीच झडप सुरु भएपछि प्रहरीले पनि लाठीचार्ज गरेको थियो । केजरीवालका सर्मथकले पनि प्रहरीमाथि ढुंगामुढा गरेका थिए । सो घटनामा आमआदमी पार्टीका केही कार्यकर्ता र दुई प्रहरी घाइते भएका छन् । महिला हिँसाका घटनामा दोषीलाई कारबाही नगरेको तथा अपराधीसँग साँठसाँठ गरेको आरोप लगाउदै दिल्लीका मुख्यमन्त्री केजरीवालले ती प्रहरी अधिकारीमाथि कारबाहीको माग गरेका थिए । उनको सर्मथनमा हजारौँ दिल्लीका बासिन्दा पनि धर्नामा सहभागी थिए । भारतीय जनता पार्टीले केजरीवालको धर्नालाई कंग्रेस आईसँग मिलेर नियोजित कार्यक्रम भएको आरोप लगाएको थियो । केजरीवालको समर्थनमा उत्रेको समाजवादी पार्टीले भने तत्काल पुलिस अधिकारीलाई कारबाहीको माग गरेको थियो । कंग्रेस आईले भने केजरीवालले अराजकता फैलाएको आरोप लगाएको छ ।
दिल्लीका मुख्यमन्त्री केजरीवालले आफ्नो धर्नाले भारतीय गृहमन्त्री सुशीलकुमार सिन्देको निद्रा हराएको बताए । उनले भने, ‘म त सडकमा धर्नामा नै बसेको भए पनि रातभर मजाले सुतेँ तर, मेरो धर्नाले सुशीलकुमार सिन्देको निद्रा हराएको छ ।’ भारतमा प्रहरी प्रशासन केन्द्रीय सरकारको मातहतमा चल्छ । प्रहरी अधिकारीलाई कारबाही गर्न केन्द्रीय गृह मन्त्रालयले कदम उठाउनु पर्ने हुन्छ । यस अघिकी दिल्लीकी मुख्यमन्त्री शीला दीक्षितले पनि बेला–बेलामा आफूलाई प्रहरीले सहयोग नगरेको गुनासो गर्ने गरेकी थिइन् । जसका कारण प्रहरी उच्च अधिकारी र उनीबीच
खटपट भइरहन्थ्यो ।

प्रतिक्रिया