संविधानसभा निर्वाचनमा पराजित भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी दलका नेताहरूले हार्नु भनेको आफ्नो नभई भारतको पराजय हो भनेका छन् । महतोको यो भनाइलाई सामान्य रूपमा लिन सकिँदैन । हामी नेपालीले यति ठूलो मूल्य चुक्ता गरेर राष्ट्रको मुल कानुन बनाउनका निमित्त गरिएको निर्वाचनमा अर्को कुनै राष्ट्रले जित्ने वा हार्ने भनेको गम्भीर प्रश्न हो । यसले प्रष्ट हुन्छ, महतो विगत भारतीय दलालका रूपमा काम गरिरहेका रहेछन् र यो चुनावमा भारतले उनलाई जिताउने भूमिका खेलिदिएन । महतोको यो भनाइले के पुष्टि हुँदैछ भने निर्वाचन त हामीले गर्यौँ, जनतालाई मत हाल्न पनि लगायौँ तर नेपालको राजनीतिको पर्दापछाडि अरु तागतले खेलेका रहेछन् । विगतका दिनमा मधेसी दलका नेताहरू आफूलाई मधेसका मसिहा ठान्थे र समग्र मधेसका हकवाला धर्तीपुत्र आफू मात्र हौँ भनिरहेका थिए । यदि तिनीहरू स्वतन्त्र, स्वाभिमानी तराई मधेसका धर्तीपुत्र भएको भए यो चुनावमा उनीहरूले जित्नु पर्ने हो ।
महतोको भनाइलाई बल पुग्ने गरी र यो संविधानसभालाई पनि निकम्मा सावित गराउने मनसायले हुनसक्छ, डा. बाबुराम भट्टराईले विगतको संविधानसभामा भए गरेका सबै काम उल्टाउन पर्ने र नयाँ राजनीतिक कोर्स सुरु गर्नु पर्ने तर्क अगाडि सारेका छन् । स्मरणरहोस् विगतको संविधानसभालाई यिनै डा. भट्टराईले हत्या गरेका थिए । नेताहरूका अलोकतान्त्रिक क्रियाकलापले देश हरेकप्रकारका भयानक विवादको भूमरीमा पर्यो । दु:खका साथ भन्नुपर्छ, यो राष्ट्रको राष्ट्रिय राजनीतिको बागडोर राजेन्द्र महतोले भनेजस्तै विदेशीले कसलाई हराउने र कसलाई जिताउने भन्ने कुराको ताकत आफ्नो हातमा लिएका छन् । राजसंस्थाको अन्त्यपश्चात नजानिँदो ढंगले विदेशीहरू देखिने गरी राजनीतिको अग्रभागमा छन् । स्वाधिन भएर आफ्नो देशको राजनीतिक व्यवस्था चलाउन सक्ने ल्याकत भएका नेताहरू यो देशमा भएको भए आपसमा मिलेर बसेको नेपाली समाज भाँड्नुमा गर्व गर्न सक्ने थिएनन् ।
लोकतन्त्रको नाममा गलत उद्देश्य राखेर साम्राज्यवादी र विस्तारवादीहरू नेपाल राष्ट्र बर्वाद बनाउन दलका नेताहरूलाई काँधमा बोकेर यस धर्तीमा मस्तसँग खेलिरहेका छन् । महतोलगायत मधेसी दलका नेताहरूको हार र आफ्नै नेपाली दाजुभाइलाई वर्गशत्रु घोषणा गरेर जनयुद्ध नामको हिंसात्मक राजनीतिक अभियान चलाउनेहरूको लज्जास्पद हारलाई देशभित्र स्वाभाविक ठानिँदै छ । संसदवादीहरूले आफ्नो जितलाई बाहिरी मुखले जनताको मत भने पनि उनीहरूको मनमा बाह्यशक्तिले पासा पल्टाइदियो भन्ने ठानेका छन् । देशीविदेशीलाई प्रयोग गर्दै आएको एमाओवादीको नेतृत्वले शान्ति प्रक्रियामा आउँदै गर्दा र बालुवाटारमा प्रचण्ड प्रकट हुँदा उनले नेपाली सेनालाई राजाको मलामी जाने, सलामी ठोक्ने र चेलीबेटी बलात्कार गर्ने सेना हो भनेका थिए । आफैँले दुनियाँका सामु ललकारेको त्यही नेपाली सेनाका ताकतमा आफ्ना सहयात्रीलाई बाहिर राखेर चुनावमा जाँदा के हालत होला भन्ने एमाओवादी नेतृत्वले बुझ्न सकेन । यसको अर्थ चुनावमा सेनाले धाँधली गर्यो भन्ने होइन । सेना बाहिर आयो, जनताले निर्भय तरिकाले मतदान गर्न पाएकाले यो परिणाम आएको हो ।
लोकतन्त्रको मूल्य, मान्यता विधिको शासनविपरित देश दुनियाँ मारेर, बाह्यशक्तिसँग अस्वाभाविक सम्बन्ध राखेर आफ्नो राष्ट्र र जनताप्रति गम्भीर प्रकृतिका धोखाधडी गर्ने हाम्रो राजनीतिक नेतृत्वको असफलताका कारण देशको अस्तित्व नै धरापमा परिसकेको आजको अवस्थाबाट राष्ट्रको रक्षा गर्न र वास्तविक जनपक्षीय, नीति र विधिमा आधारित न्यायपूर्ण प्रजातान्त्रिक राज्य व्यवस्था स्थापना गर्ने हो भने इमान्दार नेताहरूले हरेकपार्टीबाट विद्रोह गर्न सक्नु पर्छ । यो राष्ट्रलाई विवेकशील कम भ्रष्ट मानिसहरूको देश बनाउने हो भने आफ्ना नेताहरूले गरेका राजनीतिक, सामाजिक र आर्थिक अपराधको लेखाजोखासहित कारबाहीको प्रक्रियाअगाडि बढाउनु आवश्यक देखिन्छ ।
अक्षम राजनीतिक नेतृत्वका पछि लागेर आफ्नो राष्ट्रिय दायित्व पूरा गर्न सकिँदैन भन्ने जानेर पनि लोकतन्त्रभित्र आफूलाई जिवित राख्न नसक्नेहरूले राष्ट्र र समाजलाई अग्रगामी बाटोमा लैजान सक्छन् भनेर पत्याउने कुनै राजनैतिक र सैद्धान्तिक आधार छैन । अलोकतान्त्रिक दलीय राजनीतिका कारण सिंगो नेपाल, एकताबद्ध नेपाल, सबै जातजाति, भाषाभाषिका नेपाली जनता अटाउने नेपाल यति बेला जोखिम अवस्थामा छ । चोरबाटोबाट विदेशीको पैसा खाएका आफूलाई बौद्धिक भन्ने केही व्यक्तिहरू यो कुरा मान्न तयार छैनन् ।
सबै क्षेत्रमा लथालिंग अवस्था दलगत स्वार्थी राजनीतिक नेृतृत्वले गर्दा भएको हो भन्न सकिएन भने देशप्रतिको गद्धारी हुनेछ भन्ने कुरा जान्न नसक्नेहरू लाजै नमानिकन बौद्धिक भएर समाजमा छाँटिएर हिँड्दै छन । हाम्रो राजनीतिक नेतृत्वले परचक्रिहरूका सामु लम्पसार भएर दिएको गम्भीर प्रकृतिको राष्ट्रिय धोखाधडीलाई नेपाली जनताले धैर्यतापूर्वक हेरिरहेका छन् । राष्ट्रको अस्तित्व समाप्त हँुदा आफू सम्मानित जीवन बाँचिरहन्छौँ भन्ने कसैले ठानेको छ भने त्यो मुखर्ता साबित हुनेछ ।
नेपालका राजनीतिक दलका नेताहरू विदेशीका आड्भरोसामा बलवानजस्ता देखिन्छन यर्थात् त्यस्तो छैन । उनीहरूको चिन्तनशैली र जीवनशैलीले गर्दा फगत कठ्पुतलीका रूपमा आफ्नो पहिचान बनाइरहेका छन् । विदेशीका आडमा आफ्नो देश कमजोर बनाएर राष्ट्र चुसेर बाँच्नु बहादुरी हुन सक्दैन । लोकतन्त्रमा देश बलियो हुनुपर्छ । मुठ्ठीभर मानिस धनी बन्नुलाई मात्र लोकतन्त्र हो भनेर मान्न सकिँदैन । आफ्नो देशप्रति इमान्दार बन्न नसक्ने लम्पटहरूले नयाँ नेपाल बनाउने गफ गर्न अब किमार्थ सुहाउँदैन । चेतनशील प्राणी जगतका मानिसका जीवनसँग खेल्ने राजनीतिक आवरणभित्रका अपराधीहरूलाई मालिक मान्नैपर्ने जनतालाई बाध्यता पनि हुँदैन ।
राष्ट्र र राज्यलाई कुनै एक दल, व्यक्ति वा कुनै समूहको माग पूरा गरिदिने संस्थाको रूपमा बुझ्ने राजनीतिक चेतनाले मात्र राष्ट्र हाँक्न सकिँदैन । राष्ट्र भनेको बृहत कुरा हो जुनकुरा हाम्रा राजनीतिक दलका नेताहरूले जान्न सकेका छैनन् । जनताका समस्या के के हुन् समाधानको तरिका कस्तो अपनाउने भन्ने विचार प्रवाह गर्न नसक्नेहरूले राष्ट्र हाँक्ने नैतिक अधिकार राख्न सक्दैनन् । यस्तो असभ्य राजनीतिक संस्कार बोकेका नेताहरूले देशलाई ठूलो द्वन्द्वमा फसाउने खतरा टरेको छैन । सबै सचेत नेपालीले इमान्दारीपूर्वक सोचौँ ? के यस्तै सभ्यता भएका मानिसहरूबाट यो देशको प्रगति र जनताको उन्नति होला ?
प्रतिक्रिया