फेका कपमा गोठाटारको जीत

gyan_carnival

काठमाडौ, २३ मंसिर । गोठाटार इङलिस सेकेन्डरी स्कुलले आठौं अन्तरविद्यालय फेका कप फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।
पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको खेलमा गोठाटारले शिक्षालय नेपाललाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्‍यो । अनिश श्रेष्ठले ह्याट्रिक पूरा गरे । सुशान्त श्रेष्ठ र पुरुषोत्तम दाहालको नाममा १–१ गोल रह्यो ।
फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगितामा कस्मिक इन्टरनेसनल एकेडेमी र गेटवे एकेडेमीले पनि जित आत्मासात् गरे ।
कस्मिकले विद्या विकास इङलिस सेकेन्डरी स्कुलमाथि २–० को जित प्राप्त गर्‍यो । दुवै गोल रोविन कार्कीले गरे ।
गेटवेले हाइली क्रिएटिभ इङलिस सेकेन्डरी स्कुलमाथि ६–० को सहज जित दर्ता गर्‍यो । ओम्बुज गौतमले ह्याट्रिक गरे भने थप १–१ गोल तिलक थापा, सलिन भण्डारी र जीवन कोइरालाको नाममा रह्यो ।

प्रतिक्रिया