काठमाडौ, २३ मंसिर । कांग्रेस नेता डा. प्रकाशशरण महतले जिम्मेवार राजनीतिक दलले राष्ट्रपतिलाई विवादमा तान्न नहुने बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा नेता महतले जनताले पार्टीलाई दिएको जनादेशअनुसार एक वर्षभित्र संविधानसभाबाट संविधान जारी गर्न पार्टीले सबै दलसँग सहकार्य गर्ने बताए ।
उनले भने, ‘जनताले दललाई दिएको जनादेश संविधान बनाऊ भन्ने हो, राष्ट्रपति र उपराष्ट्रपति नयाँ बनाऊ भन्ने होइन, यस्ता कुरामा आफ्नो पार्टी अल्झिँदैन ।’
नेता डा. महतले एमालेलगायत अन्य दलले आगामी सरकारको नेतृत्व कांग्रेसले नै गरोस् भन्ने चाहना राखेकाले यसलाई ध्यानमा राखी संविधान जारी नभएसम्मको अवस्थामा आफ्नो पार्टीले सबै दललाई समेटेर सहमतिको सरकार निर्माण गर्ने जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम खापुङले राष्ट्रपति र उपराष्ट्रपतिलाई अहिले विवादमा तान्न नहुने धारणा राखे । नेता खापुङले अहिले दलहरूले सरकार गठन र संविधान लेखनलाई प्राथमिकता दिनुपर्ने तर्क राखे । सद्भावना पार्टीका उपाध्यक्ष सञ्जय साहले निर्वाचनबाट आएको जनादेशलाई सबैले स्वीकार गर्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया