जेसिज महाधिवेशन बागलुङमा

बागलुुङ, २२ मंसिर । नेपाल जेसिजको चालिसौँ राष्ट्रिय महाधिवेसन आगामी पुस १२ देखि १४ गतेसम्म बागलुङमा हुने भएको छ ।

महाधिवेशनमा भाग लिन नेपालभरका तीन हजारभन्दा बढी जेसी युवा बागलुङमा भेला हुने आयोजक समितिका सहनिर्देशक सुदीप राजभण्डारीले जानकारी गराए ।
अधिवेशनका लागि जेसिजले स्थान छनोट गरी मञ्च निर्माण र होटल बुकिङको कामसमेत थालिसकेको छ । जेसी युवाको लागी छिमेकी जिल्ला पर्वत र म्याग्दी सदरमुकामका होटलमा समेत पाहुना बस्ने व्यवस्था मिलाइएको जानकारी दिइएको छ । अधिवेशनका क्रममा एकैपटक तीन हजार युवालाई जिल्लामा भित्रयाएर पर्यटन प्रवद्र्धनमा पनि सहयोग गर्ने योजना बनाइएको जिल्ला अध्यक्ष दिवाकर शाक्यले बताए ।
महाधिवेशनका लागि सातजनाले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडाौ जेसिजका सुशीलबाबु श्रेष्ठ, तरहरा जेसिजका रामकुमार गिरी, म्याग्दी जेसिजका धनञ्जय श्रेष्ठ, टङ्कीसिनवारी जेसिजका सुबोध कोइराला, विराट जेसिजका सन्देशदास श्रेष्ठ, बिर्तामोड जेसिजका विनोद बस्नेत र इनरुवा जेसिजका वीरेन्द्रकुमार शाहले उम्मेदवारी दर्ता गराएका हुन् । एक अध्यक्षका लागि सात र चारजना कार्यकारिणीका लागि २२ जनाको उम्मेदवारी परेको हो ।
उम्मेदवारका लागि पुस ९ देखि ११ गतेसम्म पर्वत सदरमुकाम कुस्मामा प्रशिक्षणको व्यवस्थासमेत गरिएको छ । महाधिवेशनका लागि डेढ करोड खर्च हुने अनुमान गरिएकामा सदस्यता शुल्कले ५० लाख र नपुग खर्चका लागि सहयोग अभियान सञ्चालन गरिएको शाक्यले बताए ।
अधिवेशनमा बागलुङमा मात्र तीन करोडभन्दा बढीको व्यापार हुने विश्वास लिइएको छ । उक्त अवसरमा धौलागिरिका तीन जिल्लाका पर्यटकीय क्षेत्रमा युवाहरूलाई भ्रमण गराइने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया