‘दलितको सहभागिता बढाऊ’

काठमाडौं : दलित नेता एवम् अगुवाहरूले संविधानसभामा दलितहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय दलित आयोगले विहिवार आयोजना गरेको ‘संविधानसभामा दलितहरूको सहभागिता’ विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताहरूले समानुपातिकतर्फ सभासद छान्दा दलहरुले दलितलाई प्राथमिकता दिनु पर्ने माग गरे । उनीहरुले दलितहरूलाई उल्लेख्य सहभागी गराउन पार्टीहरूलाई दबाब दिनुपर्ने, मनोनीत २६ सिटमा दलितलाई पनि अनिवार्य सहभागी गराउनुपर्ने लगायतका धारणा राखेका थिए । उनीहरूले दलित आन्दोलनलाई छुट्टै रूपमा नभई दलित, जनजाति, महिला र उत्पीडित क्षेत्रसँग जोडेर आन्दोलनलाई अगाडि बढाउनुपर्ने, अब बन्ने संविधानमा राज्यका सबै अङ्गमा जनसङ्ख्याको आधारमा दलितको प्रतिनिधित्व हुने सुनिश्चित गरिनुपर्ने लगायत माग राखे । कार्यक्रममा पूर्व सभासद् खिमलाल देवकोटाले ‘संविधानसभामा दलितहरूको सहभागिता’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा अघिल्लो संविधानसभामा ५० दलित सभासद् रहेकामा यस पटक त्यो सङ्ख्या घट्ने देखिएको भन्दै त्यो सङ्ख्या बढाउन दलित नेता र अगुवाहरूले दबाब दिनु पर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया