‘अपाङ्गता भएकालाई अधिकारमुखी बनाउन नयाँ ऐन’

काठमाडौं, १९ मंसिर । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री ऋद्धिबाबा प्रधानले अपाङ्गता भएकालाई अधिकारमुखी बनाउन सरकार नया ऐन तर्जुमाको क्रममा रहेको जानकारी गराएकी छिन् ।

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालले २२ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज यहा आयोजना गरेको कार्यक्रममा मन्त्री प्रधानले उनीहरूलाई शिक्षा, स्वास्थ्य, सशक्तीकरण गर्न देशभर पुन:स्थापना कार्यक्रम अघि बढिसकेको बताइन् । मन्त्री प्रधानले अपाङ्गता भएका व्यक्तिलाई लोक सेवा आयोगमा आरक्षण गरिएको भन्दै उनीहरूको स्वावलम्बनपूर्ण जीवनयापन गर्न समानुपातिक सहभागिता गराउनुपर्नेमा जोड दिइन् ।
मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले अपाङ्गता भएका मानिसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले प्रदान गरेका अधिकार दिनुपर्नेमा जोड दिँदै उनीहरूका समस्यालाई प्राथमिकता दिन मन्त्रालयमा छुट्टै शाखा खोलिएको जानकारी दिए । महासंघका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका मानिसलाई विभिन्न समस्या रहेको भन्दै उनीहरूलाई स्वावलम्बी बनाएर परिवारमा पुन:स्थापना गर्न आग्रह गरे ।
कार्यक्रममा अपाङ्गता भएका मानिसको ‘मानव अधिकार प्रतिवेदन’ सार्वजनिक गरिएको थियो । यसअघि महासंघले भृकुटीमण्डपबाट र्‍याली पनि निकालेको थियो सो र्‍याली बसन्तपुर पुगेर पुन भृकुटीमण्डपमा आई समापन भएको थियो ।

प्रतिक्रिया