आइपिएम प्रविधिबाट चियाको व्यावसायिक उत्पादन

इलाम : जिल्लाको साँखेजुङका किसान आइपिएम प्रविधिबाट चियाको व्यावसायिक उत्पादनमा सक्रिय रुपमा लागेका छन् । प्राङ्गारिक माध्यमबाट उत्पादित इलामको चियालाई विश्व बजारसम्म पुर्‍याई विदेशी मुद्रा आर्जन गर्ने उद्देश्यले सााखेजुङका किसान समूहमा आबद्ध भएका छन् ।
रासायनिक मलको सट्टा जैविक प्रविधिबाट बनाइएको मल तथा विषादी प्रयोग गरी चिया उत्पादन गर्न थालिएको छ । रासायनिक विषादी प्रयोग गरिएको चिया विदेशमा त के स्वदेशमै पनि बिक्री हुन मुस्किल पर्न थालेपछि किसानहरु सामूहिक रूपमा प्राङ्गारिक चिया उत्पादनमा लागेका हुन् । तीन वर्षअघिदेखि आइपिएम प्रविधिमार्फत सिर्जनशील आइपिएम चिया कृषक पाठशाला सञ्चालन गरी चिया उत्पादन गर्न थालेका किसान उत्पादनलाई प्राङ्गारिक प्रमाणीकरण गराउन लागिपरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय, विश्व खाद्य तथा कृषि संगठन र नर्वे सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्वस्थ बाली उत्पादन कार्यक्रमअन्तर्गत यहाँका १२ महिला र १६ पुरुष गरी २८ जनाको सक्रियतामा कृषक पाठशाला सञ्चालित छ । कार्यक्रम सञ्चालन भएको पहिलो वर्ष दुई रोपनीमा नमुना परीक्षण गरेका किसानले अहिले प्रत्यक सदस्यको घरमा आइपिएम प्रविधिबाट चिया उत्पादन गर्न थालेका छन् । साँखेजुङ गाविसको वडा नं ५, ६, ७ र ९ मा यो प्रविधिबाट चिया उत्पादन हुँदै आएको छ । यो प्रविधिबाट उत्पादित चियाको मूल्यसमेत बढेको छ भन्नुहुन्छ, सिर्जनशील आइपिएम चिया कृषक पाठशाला समूहकी अध्यक्ष मिलनकुमारी खत्री ।
राम्रो गुणस्तरको चियालाई समूहले प्रतिकिलो ५१ दिँदै आएको छ । झारपात र गाईवस्तुको मल–मूत्र कुहाएर बनाइएको मल तथा जैविक विषादी सुरुमा प्रयोग गर्दा उत्पादनमा केही गिरावट आउन खोजे तापनि अहिले भने रासायनिक मल प्रयोग गरेको भन्दा बढी उत्पादन हुने गरेको खत्रीको अनुभव छ । गडयौाले मलका लागि जिल्ला कृषि विकास कार्यालयमा सहयोगका लागि प्रस्ताव पेस गरेको उनले बताइन ।
तेस्रो मुलुकमा इलामबाट धेरै चिया बिक्री हुन थालेको छ । प्राङ्गारिक प्रमाणीकरण भइसकेपछि यहाँको चिया पनि तेस्रो मुलुकमा निर्यात हुने र किसानले मूल्यसमेत बढी पाउने अपेक्षा लिइएको सााखेजुङ–७ का किसान मोतीराम दाहालको भनाइ छ उत्पादित चिया प्रशोधन गर्नका लागि स्थानीयस्तरमै तीन वटा कारखाना स्थापना भएका छन् । कञ्चनजङ्घा प्राङ्गारिक हाते चिया उद्योग, पाथीभरा चिया प्रशोधन कारखाना र गजुरमुखी चिया प्रशोधन कारखानाले प्राङ्गारिक चिया प्रशोधन गर्दै आएका छन् । पाथीभरा चिया प्रशोधन कारखानाले यस वर्ष १३ हजार किलोग्राम तयारी चिया बिक्री गरेको जनाएको छ ।
प्रशोधित चिया इलामलगायत देशकै विभिन्न सहरमा एक हजारदेखि तीन हजारसम्म बिक्री हुने गरेको खत्रीले बताइन । बजारमा ह्वाइट टी तीन हजार, ग्रीन टी एक हजार र ब्ल्याक टी दुई सयदेखि एक हजारसम्ममा बिक्री हुन थालेको छ । आइपिएम प्रविधिबाट चिया उत्पादन गर्न सुरु गरेको भन्दै जिल्ला कृषि विकास कार्यालयले यहााका किसानलाई प्रमाणपत्रसमेत उपलब्ध गराइसकेको छ । (सौस)

प्रतिक्रिया