इलाम, १६ मंसिर । पूर्वी जिर्मले–२ सलकपुरका किसानले गाउँमा सिँचाइ सुविधा र पिउने पानीको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन् ।
कृषि क्षेत्रको व्यापक सम्भावना भए पनि पानीको असुविधाका कारण सलकपुरवासी समस्यामा परेको भन्दै उनीहरूले यस्तो माग गरेका हुन् ।
सलकपुरमा स्थानीय जातको अलैँची, सुन्तला, अम्लिसो, सागसब्जी र आलुखेतीको प्रसस्त सम्भावना हुँदाहुदँै पनि सिँचाइको असुविधाका कारण अपेक्षित लाभ लिन नसकेको उनीहरूको गुनासो छ ।
इलामले नदेखेको, झापाले नहेरेको भन्ने यस क्षेत्रका बासिन्दाको आरोप छ । कृषि क्षेत्रका लागि प्रचुर सम्भावना बोकेको सलकपुरमा किसानले सिँचाइ सुविधा पर्याप्त नहुँदा अलैँचीमा थोपा सिँचाइ गर्दै आएका छन् । ‘अलैँची खेतीलाई बाह्रैमास चिसो र ओसिलो राख्नुपर्छ, तर यस क्षेत्रमा भनेजस्तो पानीको व्यवस्था छैन,’ स्थानीय बासिन्दा यामप्रसाद अधिकारीले भने ।
यहाँबाट यसवर्ष सुन्तला, अलैँची गरी करिब दुई करोडको निकासी भएको स्थानीय दलबहादुर तामाङले बताए । कन्यामको तारगाउँबाट दु:खजिलो गरेर ल्याएको एक पाइप पानी पनि बेलाबेला बिग्रिएर हैरान बनाउँछ । एक दिन पानी आएन भने पूरै गाउँ हाहाकार हुन्छ । पानीको संकट दिनप्रतिदिन बढ्दैछ, यसप्रति सरकार र यसक्षेत्रका नेताले पनि सोचिदिनुपर्यो, तामाङले भने । यस क्षेत्रका अधिकांश किसानको घरमा मौरी, अलैँची र सुन्तलाखेती छ ।
करिब छ किलोमिटर टाढा पानी भए तापनि यहाँसम्म ल्याउन नसक्दा समस्या भएको उनीहरू बताउँछन् । सानोतिनो खर्चमा ल्याउन नसक्दा र सरकारीस्तरबाट कुनै पहल नहुँदा गाउँ नै काकाकुलको अवस्थामा पुगेको उनीहरूको भनाइ छ । गाउँघरमा सानोतिनो कार्जे गर्नुपर्यो भने समस्या आइपर्ने दलबहादुर बताउछन् । मुहानबाट पानी नआएको दिन गाईवस्तुले पनि पानी खान पाउँदैनन् ।
सलकपुरमा रहेका ६० घर परिवारलाई पिउने पानी र सिँचाइको सुविधा मिलाउन सके यहाँको कृषि क्षेत्रले निकै फड्को मार्ने उनीहरूको भनाइ छ ।
प्रतिक्रिया