कञ्चनपुर, १४ मंसिर । सरकारले कृषिमा सहुलियत दिने नीति पछि जिल्लाका किसानहरु उन्नत गाईपालनतर्फ आकर्षित भएका छन् । सुडा गाविसलाई सुदूर तथा मध्यपश्चिममै उन्नत गाईपालनमा नमुना गाविस घोषणा गरिएलगत्तै यस क्षेत्रका किसान उन्नत जातको गाईपालनतर्फ आकर्षित भएका हुन् ।
सुडा गाविससँगै भीमदत्त नगरपालिका किसान पनि उन्नत जातका गाईपालनतर्फ आकर्षित हुन थालेका छन् । सुदूरमा उन्नत गाईपालन फस्टाउँदै गएका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का एक युवा व्यावसायिक रुपमा पशुपालन व्यवसायमा लागेका छन् । गाईपालन फस्टाउँदै गएपछि बिमा कम्पनीमा कार्यरत भिनपा–२ का केशवराज ओझाले पनि व्यावसायिक रुपमा नवदुर्गा पशुपक्षी फर्मको स्थापना गरी उन्नत जातको गाईपालन शुरु गरेका छन् ।
व्यावसायिक रुपमा फर्मको स्थापना गरी उनले गाईपालन शुरु गरेको हो । उजले उन्नत गाईपालनको सुरुवातीमा फर्ममा पाँच उन्नत जातका गाई पालेका छन् । पहिलेदेखि नै आफ्नो गाईपालनतर्फ इच्छा भएकाले देशका विभिन्न स्थानमा किसानले पालेका उन्नत जातका गाई हेरेपछि आफू पनि गाईपालन व्यवसायतर्फ आकर्षित भएको उनले बताए ।
सुरुमा आफूले व्यवसाय सञ्चालन गर्दा केही मानिसले कुरा काट्दै हिंडे पनि आफूले कडा परिश्रम गरेर व्यवसाय स्थापित गरेको बताए । ओझाले अहिले आफ्नो नवदुर्गा पशुपक्षी फर्ममा दुई जनालाई रोजगारसमेत दिएका छन् । अहिले अरुको लहलहैमा लागेर विदेशिने युवालाई पनि स्वदेशमै बसेर कृषि व्यवसाय गरेर राम्रो कमाइ हुने उनले बताए । विदेशमा परिश्रम बगाउनुभन्दा स्वदेशमा यहीको स्रोत साधन प्रयोग गरेर मनग्य आम्दानी गर्न सकिने ओझाको भनाइ छ ।
कृषि व्यवसायमा आफूले निकै सम्भावना देखेर बिमा कम्पनीको स्थायी जागिर छाडेर फर्म सञ्चालन गरेको उनले बताए । ‘राम्रै तलब स्केल भएको बिमा कम्पनीको जागिर छोडेर गाईपालनतर्फ आकर्षित भएको हुँ ।’ उनले भने । अहिले आफ्नो फर्ममा पाँच वटा विभिन्न जातका उन्नत गाईका साथै विश्वकै सबैभन्दा अग्लो दुई वटा अष्ट्रिज चरा पालेका छन् । जुन चरा दुई वर्षको अवधिमा करिब २५० किलो जति तौल हुने गर्दछ । त्यस्तै, दैजी गाविसका धनबहादुर देउवाले पनि व्यावसायिक रुपमा उन्नत जातको गाईपालन सुरु
गरेका छन् ।
करिब दुई महिना अगाडि फर्म खोलेका देउवाले व्यावसायिक रुपमा गाईपालन गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । उनले विदेशमा काम गर्दै आएका चार जनासाग मिलेर उन्नत जातको गाईपालन शुरु गरेका थिए । करिब २५ लाखको लागतमा गत जेठ महिनामा व्यावसायिक रुपमा बैजनाथ गाईपालन केन्द्र स्थापना गरी गाईपालन पेसामा लागेका थिए । उनले २५ गाई राखेर केन्द्रको स्थापना गरेका थिए । सुदूर तथा मध्यपश्चिममा गाईपालन व्यवसाय फस्टाउँदै गएका बेला कञ्चनपुरमा पनि गाईपालन फस्टाउँदै गएको जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरका प्रमुख डा मदनसिंह धामीले बताए ।
प्रतिक्रिया