थाइल्यान्डमा अविश्वासको प्रस्ताव अस्वीकृत

Yinluckk Sinawatraबैंकक । थाइल्यान्डकी प्रधानमन्त्री यिङलक सिनावात्रा अविश्वासको प्रस्तावबाट बचेकी छन् ।

थाइल्यान्डको प्रतिनिधिसभामा बिहीबार भएको मतदानपछि प्रधानमन्त्री सिनावात्रा अविश्वासको प्रस्तावबाट बचेकी हुन् । मतदानमा सिनावात्राको पक्षमा २९७ भोट र विपक्षमा १३४ भोट परेको छ ।
प्रमुख प्रतिपक्षी डेमोक्रयाटिक पार्टीले मंगलबार प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो । सो प्रस्तावमा संसदमा दुई दिनसम्म छलफल भएपछि बिहीबार मतदान भएको थियो ।
थाइल्यान्डको तल्लो सदनमा बहुमत भएको सरकारले हालै मात्र आममाफी दिनेसम्बन्धी कानुन पारित गरेको थियो । तर त्यसलाई त्यहाँको राष्ट्रिय सभाले असफल गराइदिएको थियो । प्रधानमन्त्री सिनावात्राले आफ्ना दाजु एवम् पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्रालाई आममाफी दिई स्वदेश फर्किन पाउनेगरी सो कानुन ल्याएको आरोप विपक्षीले लगाउँदै आएको छ । पूर्वप्रधानमन्त्री थाकसिनले सन् २०१० पछि भ्रष्टाचारको आरोपमा निर्वासित जीवन बिताइरहेका छन् ।
तल्लो सदनले पारित गरेको कानुनको विरोधमा प्रदर्शनहरू हुन थालेको छ । राजधानी बैंककमा केही दिनदेखि सरकारको विरोधमा प्रदर्शन भइरहेको छ ।
यसैबीच अविश्वास प्रस्तावको सामना गरेलगत्तै प्रधानमन्त्री सिनावात्राले आन्दोलनरत विपक्षी दलहरूलाई वार्ताका लागि आह्वान गरेकी छन् ।
विगत डेढ सातादेखि प्रधानमन्त्रीविरुद्ध विपक्षीहरूले प्रधानमन्त्रीको राजिनामा माग गर्दै आन्दोलन गरिरहेका छन् । प्रधानमन्त्रीले आन्दोलन स्थगित गरेर वार्तामा आउन आह्वान गर्दै आन्दोलनबाट कुनै उपब्धि नहुने र यसले देशको अर्थतन्त्रमा नै असर पार्न सक्नेतर्फ सबैको ध्यानाकर्षण गराएकी छन् । बिहीबार टेलिभिजनबाट दिएको सम्बोधन भाषणमा उनले सरकारले सबैलाई सम्बोधन गर्नेगरी वार्ताका लागि बोलाएको र सबै समस्याको समाधान वार्ताबाटै सम्बोधन गर्ने गरी लचक बन्ने पनि बताएकी छन् । आगामी ५ डिसेम्बरमा थाई राजा भूमिबोलको जन्मोत्सव आएको तथा राजाको जन्मोत्सव सबैलाई एकताकबद्ध रुपमा मनाउनका लागि पनि आन्दोलनलाई तत्कालै रोक्नुपर्नेमा उनले जोड दिएकी छन् ।

प्रतिक्रिया