काठमाडौं, १३ मंसिर । इनोभेटिभले २० औं आयसर–ज्ञान कार्निभलको ब्वाइज बास्केटबलमा बुधबार दोश्रो जित हात पारेको छ । इनोभेटिभले ज्ञानोदय बालवाटिका उमाविलाई ५६–१९ ले पराजित गर्दै लगातार दोश्रो जित दर्ता गर्यो । इनोभेटिभको जितमा सुदीप श्रेष्ठले १६ अंक योगदान गरे ।
पहिलो क्वाटरमा १६–६ को अग्रता लिएको इनोभेटिभ दोश्रोमा १०–९ ले अघि रह्यो । तेश्रोमा दुवै टिम शून्यको स्थितिमा रहे । चौथो तथा अन्तिम क्वाटरमा इनोभेटिभले ३०–४ अंक जोड्दै जित अन्तर फराकिलो बनायो । खोकनास्थित ज्ञानोदय इन्टरनेसनल रेसिडेन्सियल इन्टरनेसनल स्कुल (जिआईआरएस) द्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै लिटिल एन्जल्स (एलए) र हिम्स पनि विजयी भए ।
एलएले ज्ञान निकेतनलाई ६१–४५ ले हरायो । विजेताका कुन्खेन लामाले १४ अंक जोडे । सुरुको क्वाटर १८–१८ को बराबरीमा सकियो । दोश्रोमा एलएले १६–५ को अग्रता बनायो भने तेश्रोमा ९–१० ले पछाडि पर्यो । निर्णायक क्वाटर एलएले १८–१२ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्यो । पासाङ नुरुको २० अंक सहयोगमा हिम्सले भीएस निकेतनको चुनौती ५४–४६ ले समाप्त पार्यो । पहिलो क्वाटरमा ४–६ ले पछि परेको हिम्सले दोश्रोमा १२–१२ को बराबरी खेल्यो । हिम्सले तेश्रोमा १८–१६ र चौथोमा २०–१२ को प्रदर्शन गर्यो ।
गल्र्समा एलआरआईले जित हात पार्यो । एलआरआईले ज्ञान निकेतनमाथि १९–१८ को कठिन जित निकाल्यो । विजेताकी स्नेहा श्रेष्ठले महत्वपूर्ण १४ स्कोर गरिन् । सुरुका दुई क्वाटरमा एलआरआईले ६–४ र ७–२ को अग्रता लियो । तेश्रोमा एलआरआईले खाता खोल्न सकेन भने ज्ञान निकेतनले ६ स्कोर गर्यो । चौथो क्वाटर ६–६ को बराबरीमा टुंगिएपछि एलआरआई समग्रमा १ अंकको झीनो अन्तरले विजयी भयो ।
प्रतिक्रिया