काठमाडौं : एशियन कराते च्याम्पियनसीप र रेफ्री सेमिनारमा सहभागी हुन नेपाली खेलाडी सहित २३ जनाको टोली आज दुवई तर्फ प्रस्थान गरेको छ । अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्र विक्रम लाखेको अध्यक्षतामा संयुक्त अरव इमिरेटसको दुवई प्रस्थान गर्ने टोलीमा १६ रेफ्रि छन् । दुवईमा शुक्रवारबाट तीन दिनसम्म रेफ्रि सेमिनार हुनेछ । त्यस लगत्तै तिन दिन एशियन कराते च्याम्पियनसीप हुनेछ । सो च्याम्पियनसीपमा बुढानिलकण्ड डोजोमा प्रशिक्षण लिइरहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । नेपाली खेलाडीहरुको प्रशिक्षकका रुपमा प्रेमलाल बोम्जन पनि दुवई गएका छन् ।
विश्व कराते महासंघको तत्वावधान र एशियाली कराते महासंघको आयोजनामा संचालन हुने सो कार्यक्रममा सहभागी हुनका लागी पुरेन्द्र लाखे अध्यक्ष रहेको नेपाल कराते महासघंकै प्रयासमा खेलाडी र रेफ्रिहरु दुवई जान सफल भएका हुन् । राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको दावा गुरुङ अध्यक्ष रहेको नेपाल कराते महासंघले पनि सो प्रतियोगितामा सहभागीता जनाउनका लागी पहल गरेपनि त्यो सफल हुन सकेन । विश्व कराते महासंघले पुरेन्द्र लाखे अध्यक्ष रहेको महासंघलाई नै मान्यता दिएपछि राष्ट्रिय खेलकुद परिषदमा कर्मचारीको रुपमा रहेका प्रशिक्षक र रेफ्रीहरु समेत पनि दावा गुरुङलाई छाडेर लाखेको महासंघमार्फत् दुवई गएका छन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले दुई बर्ष अगाडी नेपाल कराते महासंघ र विघटन गरेदेखी नै नेपालमा कराते खेलमा विवाद रहेको थियो । देशभित्र दावा गुरुङले मान्यता पाएपनि अन्तराष्ट्रिय रुपमा पुरेन्द्र लाखेकै महासंघ मान्य छ । त्यसै कारण एशियन कराते च्याम्पियनसीप भएपनि यस पटक नेपालका केही चर्चित राष्ट्रिय खेलाडी सो प्रतियोगितामा सहभागी हुन पाएनन् । दावा गुरुङ अध्यक्ष रहेको महासंघले ती खेलाडीलाई बन्द प्रशिक्षणमा राखे पनि उनीहरुको मन्जुरी नभएका कारण ती खेलाडी दुवई जाने अवसरबाट बन्चित रहे । युवराज लामा संरक्षक रहेको दावा गुरुङको कराते महासंघले राखेप अन्र्तगत रहेका खेलाडी र प्रशिक्षकलाई लाखे अध्यक्ष रहेको महासंघ सग कुनै पनि सम्बन्ध नराख्न निर्देशन दिइरहेको थियो । तर यस पटक कराते रेफ्रिहरुले दुवई नगए उनीहरुको रेफ्रि लाइसेन्स रद्ध हुने भएका कारण राखेपको निर्देशनको वेवास्ता गर्दै उनीहरु दुवई गए ।
यस पटक दुवई जाने धेरै जसो रेफ्रिहरु दावा गुरुङ अध्यक्ष रहेको महासंघलाई नै समर्थन गर्नेहरु नै छन् । सो प्रतियोगितामा सहभागी हुन जाने खेलाडी र पदाधिकारीहरुलाई बुधवार विहान बुढानिलकण्ठमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका महासचिव इश्वर पोखरेलले विदाई गरे । सो अवसरमा नेपाल ओलम्पिक कमिटिका महासचिव जीवराम श्रेष्ठ, कराते महासंघका महासचिव केदारबाबु शिवाकोटी लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया