‘जलवायु परिवर्तनका असर कम गर्न प्रयास आवश्यक’

काठमाडौं, १३ मंसिर । उपराष्ट्रपति परमानन्द झाले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका असरहरू घटाउन औद्योगिक राष्ट्रहरूले विशेष प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), जल तथा मौसम विज्ञान विभाग समाज, अन्तर्राष्ट्रिय जलविज्ञान संगठनले संयुक्तरूपमा आयोजना गरेको ‘पहाडी क्षेत्रमा जलवायु परिवर्तन, जलस्रोत तथा प्राकृतिक प्रकोप : जलवायु समानुकूलन’ विषयक तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनको बुधवार उद्घाटन गर्दै उनले उक्त कुरामा जोड दिएका हुन् । ‘हरितगृह ग्यास उत्सर्जनका प्रभाव कम गर्नेतर्फ औद्योगिक मुलुकहरूको ध्यानाकर्षण गराउन हामी सबैको प्रयास अपरिहार्य भएको छ,’ जलवायु परिवर्तनको प्रमुख कारक तत्वलाई घटाउन विश्वका सबै राष्ट्रको प्रयास हुनुपर्ने उपराष्ट्रपति झाको तर्क थियो ।
औद्योगिक विकासले ल्याएका नकारात्मक प्रभावले जलवायु परिवर्तनका समस्या जटिल बनाएको उल्लेख गर्दै उनले पर्यावरणका साथै जैविक विविधताको संरक्षणमा सामूहिक पहल हुनुपर्ने बताए । उनले भने , ‘प्रकृतिमाथिको शोषण अन्त्य गर्नुपर्छ, पृथ्वीको अस्तित्व जीवन्त राख्न पनि त्यो आवश्यक छ ।’ सीमित स्रोत र साधनका बाबजुद सरकार जलवायु परिवर्तनका असरहरू घटाउन क्रियाशील रहेको बताउँदै उपराष्ट्रपतिले सन् २०११ देखि नेपालले जलवायु परिवर्तन नीति कार्यान्वयन गरेको जानकारी दिए ।
अब बन्ने नेपालको नयाँ संविधानमा जलवायु परिवर्तनका दुष्प्रभावलाई न्यून गर्न आवश्यक प्रबन्ध हुने विश्वास व्यक्त गर्दै उनले हावापानी परिवर्तनका जोखिम कम गर्न नागरिक समाज, निजी क्षेत्र र गैरसरकारी संघसंस्थाबीच सहकार्य आवश्यक भएको बताए । विज्ञान प्रविधि तथा वातावरणमन्त्री उमाकान्त झाले मानव सिर्जित समस्याका कारण जलवायु प्रणालीमा पर्ने प्रतिकूल प्रभाव र त्यसले सिर्जना गर्ने प्राकृतिक विपत्ति रोकथामका उपाय अपनाउन संयुक्त राष्ट्रसंघले अघि सारेको क्योटो अभिसन्धिको पक्षधर नेपालले वातावरणीय संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका प्रयास जारी राखेको बताए ।
जलवायु परिवर्तनले अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, तापक्रममा असन्तुलन हुँदा बालीका साथै समग्र कृषि क्षेत्रमा असर परेको तथा भू–क्षय, बाढी, हिमताल फुट्नेलगायत दैवी विपत्तिको जोखिम बढेको भन्दै त्यस्ता विपत् आउन नदिन समयमै मानव समुदाय सजग हुनुपर्नेमा जोड दिए ।
विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव सोमलाल सुवेदीले प्राकृतिक स्रोतमा निर्भर भएर मानव जातिले अभूतपूर्व सफलता हासिल गरेपनि त्यसबाट उपन्न नकारात्मक प्रभावले हिमताल फुट्ने, हिम स्खलन तथा वातावरणीय दुष्प्रभाव हरेक वर्ष बढिरहेकामा चिन्ता प्रकट गरे । समाजका अध्यक्ष जगतकुमार भुसालको सभापतित्वमा भएको उक्त समारोहमा विभागका महानिर्देशक ऋषिराम शर्माले जलवायु परिवर्तन, जलस्रोत व्यवस्थापन र विपदसँग सम्बन्धित विषयमा चेतना अभिवृद्धिका विविध कार्यक्रम सरकारले सञ्चालन गर्दै आएको जानकारी दिए ।
सम्मेलनमा बंगलादेश, भुटान, क्यानाडा, चीन, फिनल्यान्ड, फ्रान्स, भारत, इन्डोनेसिया, इरान, जापान, दक्षिणकोरिया, कजाकस्तान, नेदरल्यान्डस्, पाकिस्तान, थाइल्यान्ड, रुसी महासंघ, श्रीलंका, स्विडेन, बेलायत र अमेरिकाका एकसय बढी सहभागी छन् । सम्मेलनमा ८० वटा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ ।

प्रतिक्रिया