सफा मौसम : मनमोहक हिमाल

Himalधुन्चे, १२ मंसिर । हिमाली मौसम सफा रहेका कारण उच्च भागमा भ्रमण गर्ने पर्यटकलाई दृश्यावलोकन गर्न सहज बनाएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज लारानिंका अनुसार गोसाइँकुण्ड लौरिविनायकको गणेशगौंडाबाट देखिने चारैतिरका हिमाल, लाङटाङ क्याङ्जेन नजिक रहेको हिमनदी र यालापिक (हिमाल) लगायत हिमाली शृङ्खला अवलोकन गर्न सफा मौसमले साथ दिएको छ ।
पहिलो यामअन्तर्गत हिमाली क्षेत्रमा पुग्ने पर्यटक बिरामी हुने क्रम अत्यन्तै कम रहेको बताइएको छ । फिस्टेल एयर उडान प्रबन्धक श्रीहरि कुइँकेलका अनुसार “अहिले लाङटाङ क्षेत्रमा हेलिकोप्टर उडाउने कार्यमा कमी आएको र फाटफुट मात्र उडान भइरहेको छ ।”
चालु आवको यस अवधिमा करिब सात हजार पर्यटक निकुन्जभित्र प्रवेश गरिसकेका र पर्यटक निकुञ्ज प्रवेश गरेबापत उठ्ने राजस्व रु दुई करोडभन्दा बढी सङ्कलन भइसकेको लारानि कार्यालयले जनाएको छ । यस्तै तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ, नागथली, तातोपानी, वृद्धिम क्षेत्रमा पनि पर्यटकको चहलपहल वृद्धि भएका कारण भएको आम्दानीले दैनिक घर खर्च र बालबालिकालाई पठनपाठन गराउन सहज भएको पर्यटन व्यवसायी फुर्पु तामाङले बताए ।

प्रतिक्रिया