‘जसरी पनि संविधान बनाई छाड्ने’

काठमाडौं, १२ मंसिर । नेपाली काँग्रेसका महामन्त्री एवम् नवनिर्वाचित सभासद् प्रकाशमान सिंहले सहमतिबाट संविधान बन्न नसके बहुमतीय प्रणालीबाट भएपनि संविधान बनाई छाड्ने जीकिर गरे । भोग्य–सगुन सेवा समाजले मंगलवार आयोजना गरेको कार्यक्रममा महामन्त्री सिंहले अन्तिम समयसम्म पनि सहमतिका लागि प्रयास गरिने र त्यो सम्भव नभए बहुमतीय प्रणालीबाट भएपनि एक वर्षभित्रै लोकतान्त्रिक संविधान लेख्ने प्रतिबद्धता ब्यक्त गरे ।

विगतमा काँग्रेस ठूलो पार्टी बन्न नसकेकाले संविधान नलेखिएको बताउँदै यसपटक काँग्रेस ठूलो पार्टी बन्ने सुनिश्चित देखिएकाले संविधान पनि लेखिने सुनिश्चितता भएको दाबी गरे । कार्यक्रममा भोग्य–सगुन पत्रकारिता पुस्कार नेपाल पत्रकार महासंघका सचिव एवम् कान्तिपुर टेलिभिजनका पत्रकार जगत नेपाललाई प्रदान गरियो । रु १० हजार राशि रहेको सो पुरस्कार ग्रहण गर्दै पत्रकार नेपालले सो पुरस्कार रकम वृद्धाश्रमको रुपमा शान्तिनगरमा रहेको नि:सहाय सेवा सदनलाई प्रदान गरे । कार्यक्रममा वरिष्ठ पत्रकारहरू भैरव रिसाल र पी खरेलाई सम्मान प्रदान गरिएको थियो ।
रेडियो नेपालमा प्रस्तोता एवम् पत्रकारको रुपमा रहेका स्वर्गीय भोग्यप्रसाद शाहको स्मृतिमा उनकी पत्नी सगुन शाहको अध्यक्षतामा तीन वर्षअघि स्थापित भोग्य–सगुन सेवा समाजले प्रत्येक वर्ष एक जना पत्रकारलाई सो पुरस्कार प्रदान गर्दै आएको छ ।
यसैक्रममा नेपाली काँग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं १० का विजयी उम्मेदवार राजेन्द्रकुमार केसीले संविधान लेखन र विकासका लागि क्रियाशील बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौं क्षेत्र नं १० अन्तर्गतको बाडभञ्ज्याङमा मंगलवार आयोजित विजयीसभामा नेता केसीले यस क्षेत्रका जनताले नेपाली काँग्रेसको उम्मेदवारका रूपमा आफूलाई दिएको अत्यधिक मतलाई उच्च सम्मान गर्दै जनताको संविधान निर्माण एवम् विकासको अभिलाषालाई पूरा गराउन अहोरात्र खट्ने बताए ।
देश लामो समयदेखि राजनीतिक सङ्क्रमणमा गुज्रिरहेको उल्लेख गर्दै उनले जनताको अपेक्षाअनुरुप देशको राजनीतिक गतिरोध यथासक्य चाँडो अन्त्य गर्न सम्पूर्ण राजनीतिक दल अग्रसर हुनुपर्नेमा जोड दिए । काठमाडौंको दक्षिणपश्चिम भेगमा पर्ने क्षेत्र नं १० विकासका सम्भाव्यताका दृष्टिले पनि निकै महत्वपूर्णस्थल भएको चर्चा गर्दै उनले सबैको सामूहिक पहलमा त्यसलाई उजागर गर्न सकिने पनि बताए । उक्त क्रममा विजयी जुलुसले बाडभञ्ज्याङ क्षेत्रका विभिन्न स्थलको परिक्रमा गरेको थियो ।नेता केसीले एनेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाललाई भारी मत अन्तरले पराजित गरेपछि ठुलो चर्चा बटुल्न सफल भएका थिए ।

प्रतिक्रिया