धनगढी : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बन्नेमा कुनै शंका नगर्न आग्रह गरेका छन् । कैलाली क्षेत्र नंम्वर ६ बाट संविधानसभा सदस्यको चुनावमा विजयी भएका देउवाले शुक्रबार धनगढीमा आयोजित विजय सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसले जनचाहानाको संविधान बनाएरै छाड्ने दावी गरे ।
उनले चुनावी नतिजा बहिस्कारको घोषणा गरेको एमाओवादीलाई संविधान निर्माण प्रक्रियामा भाग लिन समेत आग्रह गरे । देउवाले भने, ‘संविधान भनेको सहमति र सम्झौताको दस्तावेज हो, हामी माओवादीसागै सहमति गरेर संविधान निर्माण गर्नेछौ ।’ प्रजातन्त्रका मूलभूत सिद्धान्तमा कांग्रेसले कसैसाग कुनै किसिमको सम्झौता नगर्ने उल्लेख गर्दै देउवाले त्यसबाहेकमा सहमति गरेर संविधान बनाउने बताए । उनले मतदाता माझ गरेका प्रतिज्ञापूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘धनगढी सुदूरपश्चिमकै केन्द्र रहेको प्रमुख सहर हो । धनगढीलाई भौतिक पूर्वाधार निर्माणमा ब्यवस्थित गरी आधुनिक नगरपालिका तथा सहर बनाउन सडक कालोपत्रे गर्ने, खानेपानी र ढललाई ब्यवस्थित गर्न पहल गर्छु,’ नेता देउवाले भने, ‘धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल मेरो पहल रहने छ ।’
कैलाली नदी कटानको उच्च जोखिममा रहेकोले त्यसलाई नियन्त्रण गर्न मोहना, कान्द्रा, खुटिया लगायतमा उचित तटबन्धको ब्यवस्था गर्ने देउवाले आम जिल्लावासीलाई विश्वास दिलाए । देउवाले भने, ‘धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको अंगरुपमा बनाउने छु ।’ गेटामा निर्माण हुने मेडिकल कलेजलाई सुदूरपश्चिमको मात्र नभएर देशकै नमूना कलेज बनाउने देउवाको भनाइ थियो । कैलाली र कञ्चनपुर जिल्लामा रहेका राना थारु समुदायलाई अलग्गै आदिवासीमा सुचिकृत गर्ने र मुक्तकमैयाको उचित बसोबासका साथ सदाका लागि समस्याको समाधान गर्ने देउवाले बताए । (सौस)
प्रतिक्रिया