जनताको अभिमत सम्मान गर्न ओलीको आग्रह

दमक : नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले जनताले दिएको अभिमत मान्दैनौ भन्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको भन्दै एमाओवादीलाई संयमता अपनाएर मत परिणाम स्वीकार गर्न आग्रह गरेका छन् ।
जनताले दिएको अभिमतलाई सम्मान गरेर राजनीतिक चरित्र देखाउन पनि उनले आग्रह गरे । शुक्रवार विहान दमक–१० स्थित आफ्नै निवासमा सञ्चारकर्मीसाग कुराकानी गर्दै नेता ओलीले मतपरिणाम प्रति एमाओवादीको सार्वजनिक टिप्पणी बालहठ भएको जीकिर गरे । नेता ओलीले भने “जित्नै पर्ने र मत परिणाम आफ्नो पक्षमा हुनैपर्छ भन्नु नाजायज तर्क भएकाले जनताले दिएको अभिमत स्वीकार नगरे राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट समेत ऊ आफै अलगिने छ ।”
जनताको भावनाअनुसारको संविधान निर्माणका लागि एमाओवादीलाई धैर्य गर्न पनि ओलीले आग्रह गरे । अघिल्लो संविधानसभा निर्वाचनमा नेकपा (एमाले)ले हार ब्यहोरेको प्रसङग कोट्याउदै ओलीले भने “विगतमा हामीले पनि लज्जास्पद हार बेहोरेको हो तर हामी त्यसबाट विचलित भएनौा ।” एमाले नेता ओलीले एक वर्षभित्रमा संविधान जारी गर्न एमाले प्रतिबद्ध रहेको र एकीकृत नेकपामाओवादीलाई समेतसँगै लैजान आफूहरू तयार रहने पनि उनले बताए ।

प्रतिक्रिया