मंसिर दोस्रो साता जोर्नी टु वल्र्डकप

काठमाडौ: न्युजिल्याण्डमा आगामी जनवरीमा हुने विश्वकप छनोटको तयारीको लागि काठमाडौंमा यहि १७ठ देखि २२ मंसिर सम्म ‘सगरमाथा सिमेन्ट जोर्नी टु वल्र्डकप क्रिकेट’ प्रतियोगिताको आयोजना हुने भएको छ ।
प्रतियोगितामा नेपाल, सिंगापुर, एयर इन्डिया र दिल्ली वन्डरर्स गरी चार टोलीको सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघले प्रतियोगिता आयोजनाको जिम्मा जोहरा इन्टरनेसनल प्रालिलाई दिएको छ ।
युएईमा २० ओभरको विश्वकप छनोट प्रतियोगिताबाट खेलेर फर्केका खेलाडीहरुलाई ५० ओभरको खेल शैलीमा ढाल्न तथा विश्वकपको तयारी गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक जोहरा इन्टरनेसनलका कार्यकारी निर्देशक आमिर अख्तरले बताए ।
नेपाली टोलीका पुर्व कप्तान तथा प्रतियोगिताका टेक्निकल डाइरेक्टर विनोद दासले भारतबाट आउने टोलीमा भारतको ठुला प्रतियोगिताहरु आइपीएल र रणजी ट्रफी खेल्ने खेलाडीहरु आउने जानकारी दिए ।
सोही अवसरमा मुख्य प्रायोजक सगरमाथा सिमेन्टका मार्केटिङ मेनेजर प्रतिक अधिकारीले नेपाली क्रिकेट टोली अहिले ठुलो अभियानमा रहेकोले त्यसमा सहयोगी बन्न पाउदा खुशी लागेको बताए ।
करिव ५० लाख बजेट खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई नेपाली क्रिकेटको नौलो प्रायोजकको रुपमा सगरमाथा सिमेन्टले मुख्य प्रायोजन गरेको छ भने सिद्धार्थ बैंक र नया पेय पदार्थ कम्पनी ‘रोयस इनर्जी ड्रिंक्स’ सह प्रायोजकको रुपमा रहेका छन् । प्रतियोगितामा टिकटको ब्यवस्था गरिएको छ र टिकटबाट उठेको रकमको २५ प्रतिशत रकम नेपाली टोलीलाई दिइने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपाली क्रिकेटमा टिकटको एक हिस्सा खेलाडीलाई दिने ब्यवस्था पहिलो पटक हुन लागेको हो ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट गरिनेछ । साथै नेपालको चर्चित ब्यान्ड द रविन एण्ड रिभ्युलेसनले प्रतियोगितामा मनोरञ्जक सांगितिक प्रस्तुती पस्किने भएको छ ।
पत्रकार सम्मेलनमा नेपालका क्रिकेट प्रशिक्षक पुबुदु दशानायके, कप्तान पारस खड्का र नेपाल क्रिकेट संघको अध्यक्ष टंक आङबुहाङको सन्देश देखाइएको थियो । क्यानका अध्यक्ष आङबुहाङले राष्ट्रिय टोलीलाई राम्रो भन्दा राम्रो तयारीको लागि पहल गर्ने क्रममा सो प्रतियोगिता गर्न लागेको बताउनु भयो र यसले खेलाडीहरुले राम्रो अभ्यास गर्न पाउने विश्वास ब्यक्त गरे ।
त्यस्तै प्रशिक्षक पुबुदु दशानायकेले खेलाडीहरुलाई एकदिवसिय प्रतियोगिताको मुडमा लानको लागि प्रतियोगिता महत्वपुर्ण हुने बताउनुभयो । त्यस्तै कप्तान पारस खड्काले घरेलु दर्शकहरु सामु हुने खेल न्युजिल्याल्ड जानु अगाडीको मुख्य परीक्षा हुने बताए । (सौस)

प्रतिक्रिया