काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति तथा कार्टर सेन्टरका संस्थापक जिमी कार्टरले एमाओवादीलाई चुनावी परिणाम स्वीकार गर्न आग्रह गरेका छन् ।
संविधानसभा चुनावको पर्यवेक्षणका लागि नेपाल आएका पूर्वराष्ट्रपति कार्टरले बिहीबार पत्रकार सम्मेलन गरी हिंसाबाट टाढा रही चुनावी प्रक्रियालाई निरन्तरता दिन एमाओवादीलाई आग्रह गरेका हुन् । मतगणनाका क्रममा उत्पन्न विवाद उपयुक्त माध्यमबाट समाधान गर्न सुझाव दिदै उनले मतपत्रको माध्यमबाट जनताले व्यक्त गरेको अभिमतको एमाओवादीले सम्मान गर्ने विश्वास व्यक्त गरे ।
उनले अब बन्ने संविधानसभाले राजनीतिक मतभिन्नतालाई किनारा लगाउँदै नेपाललाई आर्थिक रुपमा समृद्ध, राजनीतिक रुपमा स्थिर बनाउन जनचाहनाअनुरुपको संविधान बनाउने विश्वाससमेत व्यक्त गरे । वैदेशिक लगानी सुनिश्चित गर्न पनि राजनीतिक स्थायित्व एवम् विकास अपरिहार्य रहेको उनको भनाइ थियो । एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई भेटेको जानकारी दिदै उनले आफ्नो दलले जनमतको सम्मान गर्ने बताएको उल्लेख गरे ।
नेकपा–माओवादीको अवरोधका बाबजुद उल्लेखनीय रुपमा चुनाव सम्पन्न भएकामा नेपालीलाई बधाई ज्ञापन गर्दै उनले कार्टर सेन्टरले मतगणनालगायत चुनावी प्रक्रियाको अनुगमन गरिरहेको जानकारी दिए । कार्टर सेन्टरका पर्यवेक्षकहरूले ३ सय ३६ मतदान केन्द्र र ३१ वटा मतगणनास्थलको पर्यवेक्षण गरेको उनको भनाइ थियो ।
प्रतिक्रिया