काठमाडौं, ६ मंसिर । जुम्ल्याहा दिदी–बहिनी मायांका र माहिका राणाको जोडीले प्रथम नेपाल जुनियर खुला लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स डबल्सको उपाधि जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा २ घण्टा ५० मिनेट चलेको फाइनलमा मायांका र माहिकाको जोडीले विभूति कार्की र विजिशा श्रेष्ठको जोडीलाई ५–७, ६–२ र ६–४ को सेटमा पराजित गरे । खुशी पाण्डे र करुणा गौचन तथा फुरा शेर्पा र स्वस्तिका गुरुङको जोडीले तेश्रो स्थानमा चित्त बुझाए ।
सोही स्पर्धाको ब्वाइजमा आभाष मल्ल र सक्षम कार्कीको जोडीले बाजी मारे । उक्त जोडीले उपाधि भिडन्तमा अन्जन थिङ र रेन्जन लामाको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा निराश पारे । कस्तुपराज पाण्डे र विवेक श्रेष्ठ तथा अभिषेक विष्ट र गणेश कार्कीको जोडी तेश्रो बने ।
यु–१८ को डबल्स खेल नेपालमा पहिलो पटक भएको आयोजकले जनाएको छ ।
जुनियर टेनिस खेलाडीका अभिभावकको सक्रिएतामा भएको प्रतियोगितामा आभाष मल्ल यु–१६ ब्वाइज सिंगल्स च्याम्पियन बने । उपाधि भिडन्तमा आभाषले अभय गौचनलाई ६–२ र ६–१ ले हराए । अनुस्थानबहादुर सिंह र एन्डी नाइफेनेगर तेश्रो भए ।
यु–१० गल्र्स सिंगल्समा अभिलाषा विष्ट पहिलो भइन् । अभिलाषाले सलोनी तामाङको चुनौती ८–१ ले समाप्त पारिन् । निमान्शा तोमर र आशियाना प्रसाईं संयुक्त रुपमा तेश्रो भए ।
यु–१२ गल्र्स सिंगल्सको उपाधि एनी माथेमाले चुमिन् । ३ घण्टा ९ मिनेट चलेको फाइनलमा एनीले करुणा गौचनमाथि ६–१, ५–७ र ७–६ को कठिन जित रचिन् । खुशी पाण्डे र इरा राउत तेश्रो स्थानमा रहे ।
गणेश कार्की र संरक्षकभूषण वज्राचार्य यु–१८ ब्वाइज सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् ।
गणेशले अभिषेक विष्टलाई ६–० र ६–२ तथा १२ वर्षीय संरक्षकले सुमन कार्कीलाई ६–३ र ६–४ ले पन्छाए ।
यु–१४ ब्वाइज सिंगल्समा सक्षम कार्की र अन्जन थिङ उपाधिनजिक पुगेका छन् । सेमिफाइनलमा सक्षमले सत्यप इल्मिलाई ६–१ र ६–० तथा अन्जनले प्रनव खनाललाई ६–१, ४–६ र ७–५ ले पाखा लगाए । अन्जन र प्रनवबीचको खेल २ घण्टा ५५ मिनेट चलेको थियो ।
यु–१० ब्वाइज सिंगल्समा आदित्य सुवेदीले आर्यन गिरीलाई ८–४, आदित सुवेदीले लुशान रिजाललाई ८–०, अभी जोशीले देवान्सचन्द्र शाहलाई ८–० तथा सम्यकभूषण वज्राचार्यले अकी जुवेन राउतलाई ८–० ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
प्रतिक्रिया