जीवनमा यदाकदा आमुन्ने–सामुन्ने भइने घटना वा अनायास जम्काभेट हुन पुग्ने कोही व्यक्तिविशेष, अथवा स्वयंलाई स्तब्ध तुल्याइदिने अनपेक्षित क्षण आदि कुनै पनि कुराले मानिसको जिन्दगीको दिशा र दशा कसरी प्रभावित हुन सक्छ भन्ने एक बुलन्द दृष्टान्त हुन्– डा. मीना पौडेल । जीविकालाई सहज प्रवाह दिन उनले नर्सिङ विषय पढिन् र त्यही पेसा अँगालिन् पनि । राजनीति, समाजसेवा र घरायसी दायित्व निर्वाह गर्नेतिर त्यही पेसाले सघाउ पुर्याइरह्यो । तर, समयको एउटा मोडमा उनी समाजको एउटा यस्तो नांगो यथार्थसित साक्षात्कार हुन पुगिन्, जसले उनको समग्र जीवन–खोलाको बहाव नै फर्काइदियो ।
समाजको यो कटु पाठ उनलाई पढाउने ‘विश्वविद्यालय’ प्रहरी हिरासत थियो ।
०००
विक्रमीय संवत् ०१९ मा लादिएको पञ्चायती व्यवस्थाविरोधी आन्दोलन छयालीस सालमा चरमोत्कर्षमा थियो । देशैभरि आन्दोलनका ज्वारभाटा उर्लिरहेका थिए । के विद्यार्थी, के शिक्षक, के चिकित्सक, के वकिल, के नेता–कार्यकर्ता र के मजदुर, किसान, जनता– सबै जना आ–आफ्ना ठाउँबाट जर्याकजुरुक उठेर निर्दलीय तानाशाही व्यवस्थाविरुद्ध एकजुट भई संघर्षको दावानल दन्काइरहेका थिए । कांग्रेस र कम्युनिस्टको संयुक्त मोर्चाको अगुवाइ र आह्वानमा मानौँ देश निर्दलयीताको अन्त्य अनि बहुदलीय व्यवस्थाको पुन:स्थापनाका लागि निर्णायक लडाइँमा सम्पूर्ण रूपले होमिएको थियो । त्यही आन्दोलनक्रममा राजधानी उपत्यकामा एक युवा महिला राजनीतिक, पेसागत एवं सामाजिक सक्रियताले गर्दा निकै चर्चित थिइन् । धेरै जना उनलाई ‘क्रान्तिकारी नर्स’ भनेर सम्बोधन गर्थे, त्यसैगरी चिन्थे पनि ।
त्योबेलाकी ती क्रान्तिकारी नर्स मीना पौडेल थिइन् । सानो उचाइ पाएको शरीर तर दृढताले भरिएको गोरो अनुहारमा चम्किरहेको पावरदार चस्माभित्र सुरक्षित काला आँखालाई कतै गहिराइतिर डुलाउँदै उनी भन्छिन्, ‘पैँतालीस सालको अन्तिम समयतिर बीएन नर्सिङको पढाइ सिध्याउने क्रममा फिल्ड वर्कका लागि म सिन्धुपाल्चोकको सिन्धुकोट पुगेकी थिएँ । त्यो ठाउँ पशुपति शमशेर राणा र नेत्रविक्रम चन्द (राजासाहेब र काजीसाहेब) को रहेछ । चैत्र–वैशाखको समय, मैले हेर्दाहेर्दै कोदो र मकै छर्न ठिक्क पारेको बारीमा एउटा हेलिकोप्टर आएर बस्यो र करिब दश मिनेट जतिपछि उड्यो । विस्मित हुँदै त्यो के रहेछ भनेर मैले सोध्दा ‘राजा साहेबको हेलिकोप्टर’ भन्ने जवाफ पाएँ ।’ फेरि सोधेँ, ‘किन ?’ उनीहरूले भने, ‘हाम्रा छोरीचेलीलाई ठूलो सहर पुर्याउन ।’ ‘कहाँ ?’ ‘बम्बई । धनी बनाउन उता लैजाने गरेको हो । सहर बसेर पैसा कमाएर ल्याउने थुप्रै चेलीका परिवार यहाँ राम्रै गरी बसेका छन् ।’
‘स्थानीय गाउँलेको यस्तो कुरा सुनेर म त अवाक् भएँ । बुझ्दै जाँदा त्यो त खुलेआम भइरहेको गम्भीर किसिमको ट्रयाफिकिङ पो थियो त † काठमाडौं फर्किसकेपछि त्यही विषयमा एउटा लेख तयार पारेँ । ‘अन्तर्राष्ट्रिय मञ्च’ मा छापियो । अनि त सिन्धुपाल्चोकमा हल्लीखल्ली मच्चिएछ । सोझा गाउँलेलाई बेचबिखन गर्न पल्केका ठूलाठालुले मेरो टाउको काटेर ल्याउने उर्दी जारी गरेछन् । साथीहरूले सतर्क रहन र गाउँतिर आवतजावत नगर्न सल्लाह दिए । यत्तिकैमा छयालीस सालको आन्दोलन चर्कियो । त्यसमा सक्रियतापूर्वक लागिरहेको अवस्थामा म कीर्तिपुरबाट पक्राउ परेँ । केही दिन बग्गीखाना राखेपछि मलाई हिसिला यमी, कल्याणी शाह आदिसमेत हनुमानढोका सरुवा अनि फेरि केही दिनपछि जेल चलान गरियो ।’
‘त्यही हनुमानढोकामा हो, हामीलाई कविता महर्जन भन्ने एक जना रोगी महिलासितै राखिएको थियो । ती महिलाको खास नाम कसैलाई थाहा थिएन, त्यो मैँले नै जुराइदिएकी हुँ । उनी भारतमा बेचिएर देहव्यापारमा लगाइँदा रोग लागेपछि मात्रै नेपाल फर्काइएकी थिइन् । उनी जानकारीमा आएको सम्भवत: नेपालकै पहिलो एचआइभी भिक्टिम हुन् । उनलाई आधार बनाएर हामीले बेचबिखन मुद्दालाई राजनीतिकरण गर्यौँ ।’
‘आन्दोलनको सफलतापश्चात् हामी जेलमुक्त भयौँ । मैँले नर्सिङबाट मात्र आफूले चाहेको सबै कुरा पूरा नहुने देखेर अरू केही साथी मिलेर ‘वाच’ नामक संस्था खोल्यौँ । अन्तरिम सरकार गठन हुँदा डा. मथुरा श्रेष्ठ स्वास्थ्यमन्त्री बने । त्यसै बेला कवितालाई हनुमानढोकाबाट निकालेर टेकु अस्पतालमा स्विपर नियुक्त गरियो । पछि गिरिजाप्रसाद कोइराला प्रम भएपछि कविताको जागिर खोसियो । मैले उनलाई धेरै ठाउँ खोजेँ । कविता त भीमसेन डबलीमा बसेर मगन्ते जीवन बिताइरहेको अवस्थामा भेटिइन् । उनलाई त्यहाँबाट ‘वाच’ कार्यालयमै लगेर राखियो । कविता बाँचुन्जेल मैले उनलाई मासिक दुई हजार रुपियाँ र लत्ताकपडा नियमित दिने गरेकी थिएँ ।’
‘चार वर्षजति ‘वाच’ मा काम गरिसकेपछि सन् १९९६ मा म अन्तर्राष्ट्रिय संस्था अक्सफाममा ‘प्रोग्राम म्यानेजर’ का रूपमा जागीरे हुन पुगेँ । पछि म त्यहीँ ‘कन्ट्री डाइरेक्टर’ भएँ । त्यहाँ कार्यरत छँदा पनि मैले बेसहारा महिलालाई सहयोग गर्ने सामाजिक संस्थाहरूलाई उल्लेखनीय फन्डिङ गरिरहन्थेँ । त्यतिबेला मैले फन्डिङ गरेका संस्था अहिलेसम्म पनि चलिरहेकै छन् र ट्रयाफिकिङका मामिलामा त एक्सपर्ट भएरै देखापरिरहेका छन् । ग्रामीण महिला सिर्जनशील परिवार लामोसाँघु, महिला आत्मनिर्भरता केन्द्र, नारी शक्ति सिर्जना केन्द्र आदि काठमाडौंबाहिर सक्रिय प्रमुख संस्था हुन् । काठमाडौंमा एबिसी र नवज्योति केन्द्र प्रमुख हुन् । ओरेक, सिविन आदि संस्था पनि छन् । चरीमाया तामाङ संस्थापक अध्यक्ष रहेको संस्था शक्ति समूह स्थापनामा अरू साथीको सहयोग रहेको भए पनि खासमा यो मेरै ‘ब्रेनचाइल्ड’ हो । अवस्था कस्तो भइसकेको छ भने यी संस्थालाई माइनस गरेर सरकारले ट्रयाफिकिङ सम्बन्धमा कुनै नयाँ नीति ल्याउनै सक्दैन ।’
०००
‘सन् १९९५ को कुरा हो । अन्यायपूर्वक बेचबिखनमा परेकालाई सरकारले पनि निकाल्ने, अन्य संघसंस्थाले पनि कुनै सहयोग नगर्ने स्थिति थियो । यस्तोमा मैले फिलिपिन्सका यौनदासी (कम्फर्ट विमेन) हरूले आफ्नै संगठन खोली अनेक गतिविधि अगाडि बढाएपछि जापानी सरकार झुकेर सार्वजनिक माफी माग्नुका साथ क्षतिपूर्ति पनि उपलब्ध गराएको घटनाबाट पाठ सिक्दै नेपालमै पहिलोपटक १९९५ जुुनमा ‘सार्वजनिक सुनुवाइ’ (पब्लिक हियरिङ) को आयोजना गरेँ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी त्यो सुनुवाइमा भारतमा बेचिएका र एचआइभी भएर फर्केका दुई महिलाको कथा सुनेर कार्यक्रमस्थल सभागृहमै रोएका थिए । एक वर्षपछिकै अर्को घटना हो, अघिपछि गरी भारतमा बेचिएका ११८ जना नेपाली महिला एकैपटक उद्धार गरिएर स्वदेश फर्किएका थिए । तिनै महिलाबाट चरीमायालाई अध्यक्ष बनाएर ‘शक्ति समूह’ स्थापना गर्यौँ । बन्न त यो समूह सन् १९९७ मा बन्यो तर विविध प्राविधिक कारणले दर्ताचाहिँ सन् २००० मा मात्र हुन सक्यो ।
०००
रुपन्देहीको देवदह–६ बंगलाटोलमा आमा विष्णुमाया र पिता दुर्गाप्रसाद पौडेलका चार छोरा, दुई छोरी सन्तानमा जेठी–बाठी भएर माघ २०२० मा जन्मेकी मीनाले बेलायतको न्युकासल युनिभर्सिटीबाट पिएचडी गरेकी हुन् । त्यसअघि उनले त्रिविबाट समाजशास्त्र एन्थ्रोपोलोजीमा मास्टर्स र अझ त्यसअघि बिएस्सी नर्सिङ उत्तीर्ण गरेकी हुन् ।
उनले मानव बेचबिखन तथा श्रम सराइ (ह्युमन ट्रयाफिकिङ एन्ड लेबर माइग्रेसन) विषयमा इन्क्लुजन–एक्सक्लुजन पर्सपेक्टिभबाट विद्यावारिधि गरेकी छन् । सामाजिक सिद्धान्त प्रयोग गरेर ट्रयाफिकिङ विषयमा विद्यावारिधि गर्ने उनी पहिलो नेपाली स्कलर पनि हुन् । उनको अनुभवमा, यो उपाधि हासिल गर्न निकै एकेडेमिक रिसर्च (अन्य अध्ययनबाहेक, दस वर्ष लामो कामको अनुभव र ६ सयभन्दा धेरै महिलासित अन्तर्वार्ता) गर्नुपरेको थियो ।
‘डिलिङ विथ हिडेन इस्युज : सोसल रिजेक्सन, एक्सपिरियन्स बाई ट्रयाफिक्ड विमेन इन नेपाल’ शीर्षकमा उनले आफ्नो पिएचडी शोधपत्रको पुस्तक तयार पारिन् । यसमा मूलत: चारवटा सिद्धान्त छन्– स्टिग्मा (बहिष्कार आदि), जेन्डर (लैंगिक अवस्थिति अर्थात् किन महिला मात्र), फेमिनिस्ट
(नारीवादीले कसरी हेर्छन्) र सेक्सुआलिटी (नागरिकताको सन्दर्भ) । यिनै चार सिद्धान्तका आधारमा उनले ट्रयाफिकिङका सिकार महिलाको जीवन उधिनेकी छन् ।
उसो भए, मानव बेचबिखनको खास जरो के हो त ? डा. पौडेल भन्छिन्, ‘गरिबी भनिए पनि यसको जरो भनेको संरचनात्मक छ किनभने नारी मात्र होइन, पुरुष पनि बेचिन्छन् । मूल सवाल हो, बेचिन्छन् को र किन ? नियालेर हेर्ने हो भने स्पष्ट देखिन्छ– राजनीतिक संरचनामा पहुँच नभएका, आर्थिक रूपले विपन्न पारिएका, स्रोतमा पहुँच नभएका, सांस्कृतिक रूपमा पछि पारिएका (अर्थात्, डोमिनेन्ट कल्चरमा एक्सेस नभएका) हरू, सम्पूर्ण रूपले सीमान्तीकृत भएका वा पारिएकाहरू –ती चाहे धनी होउन् वा गरीब– सबै बेचिएका छन् । सूचनाबाट टाढा भएपछि दलालको फन्दामा पर्न वा पार्न धेरै गाहारो हुँदैन । त्यसैगरी, शिक्षित भएर पनि सचेत हुन नसकेकाहरू थुप्रै छन् समाजमा, जसले गर्दा प्लस टु पढेका वा क्याम्पस पढ्दै गरेका पनि बेचिएका प्रशस्त घटना छन् ।’
‘पुँजीवादी रूपान्तरण र बेचबिखन सँगसँगै जाँदा रहेछन् । त्यसकारण पनि मानव बेचबिखन राजनीतिक मुद्दा हो । राणाशासनको पालामा सामन्तवाद नराम्ररी हावी भएको बेला पनि महिला दरबारमा पुर्याइन्थे, व्यक्तिगत स्वार्थ र राजनीतिक पहुँचको प्रभावले गर्दा बेचिन्थे । सन् पचासको सन्धिपछि महिला दरबार हुँदै बम्बई पुर्याउन थालियो । सन् नब्बेसम्मै यही ‘ट्ेरन्ड’ ले संगठित रूप लिँदै गयो । पछि, डा. रामशरण महत अर्थमन्त्री भएपछि देशमा खुला र उदार अर्थव्यवस्था लागू भयो । यही बेला छयालीस सालको परिवर्तनपछि नेपाली महिलालाई भारत हुँदै अरब मुलुकतिर पुर्याउन थालियो । माओवादी द्वन्द्वका दस वर्षमा वैदेशिक रोजगारीका नाममा राज्यबाट लाइसेन्सप्राप्त ठेकेदारहरूले संस्थागत रूपमै सयौँको संख्यामा तेस्रो देश पठाउन थाले । अनि मानव बेचबिखन झन् फस्टायो । तसर्थ, पनि यो राजनीतिक मुद्दा हो ।’
‘समस्याको जरो अझ कहाँ छ भने विदेशबाट फर्केका महिलाहरू सामाजिक बहिष्कारका भागी हुनुपर्यो– परिवारबाट, साथीबाट, समाजबाट र राज्यबाटै पनि । परिवार र अन्यहरू आफू समाजमा बस्न पनि उनीहरूलाई बहिष्कार गर्नुपर्ने विवशतामा फँसेका वा सामाजिक संरचनाले फँसाइएका हुन्छन् । अनि उनीहरूले काम पाउने ठमेल वा त्यस्तै अन्य ठाउँका बारमा मात्र हुन्छ । यसरी, फर्केर आएकाहरू राज्यविहीनजस्ता, अनागरिकजस्ता हुन पुग्छन् । यही समस्याको अर्को पाटो के छ भने अरब–इजरायल–मलेसिया आदितिरबाट फर्केकाहरू बेचिएका मानिँदैनन्– भारततिरबाट फर्केकाहरू आँसु मात्र ल्याउँछन्, अरबबाट आउनेहरू पैसा र नयाँ कपडा †’
०००
उनी अहिले अमेरिकी सहयोग नियोग युएसएआइडीमा ‘डेभलपमेन्ट स्पेसलिस्ट’ का रूपमा कार्यरत छन् । विभिन्न मन्त्रालय र महिला आयोगसित प्रत्यक्ष काम गर्नुपर्ने उनले एक किसिमले अमेरिकी र नेपाली दुई सरकारबीच पुलको काम गर्छिन् । उनको अनुभवमा, ‘नर्सिङले मलाई आर्थिक रूपले आत्मनिर्भर बनायो । राजनीतिक सक्रियताले आत्म विश्वासपूर्वक काम गर्ने बनायो । राजनीतिमा नलागेको भए नर्सिङमै सीमित रहन्थेँ । यही समयमा मैले इस्युहरूलाई कसरी राजनीतिकरण गर्न सकिन्छ भनेर सिक्ने अवसर पाएँ । तापनि, पूर्ण सन्तुष्टि भने कहिल्यै पाउन सकिनँ । त्यही भएर म ०४७/०४८ देखि ती दुवै क्षेत्रबाट टाढिएँ । अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्न थालेपछि मैले अर्को जीवन्त पाठ सिक्न पाएँ– सामाजिक क्षेत्रमा रहे पनि राजनीतिमा रहेर गर्ने कार्य उत्तिकै प्रभावशाली ढंगले गर्न सकिन्छ ।’
उनको अनुभव बोल्छ, ‘कानुनी र आर्थिक परनिर्भरता (लिगल सबओर्डिनेसन एन्ड इकोनोमिक डिपेन्डेन्सी) अन्त्य नभएसम्म महिला हिंसा रोकिँदैन, मानव बेचबिखन पनि नियञ्त्रण हुन सक्दैन । त्यसो त यो समस्याको समूल समाधान कुनै पनि वाद वा सिद्धान्तले गर्न सक्दैन तर राज्यले नियन्त्रण भने गर्न सक्छ । त्यसका लागि कठोर राजनीतिक प्रतिबद्धता हुनुपर्छ । यस तथ्यप्रति पढेलेखेका सचेत महिला नै बढी जागरुकतासाथ लाग्नुपर्ने हुन्छ । तर यहाँ समस्या के छ भने सबै दलका महिला एक ठाउँमा आए भने समाजमा स्थापित ‘म्यासकुलिन डोमिनेसन’ लाई ‘थ्रेट’ हुने देखेर दलीय पुरुषहरू सधैँ डराइरहन्छन् । त्यसैले फरक दलका महिलालाई उनीहरूले एक ठाउँमा आउन दिँदैनन् ।’
प्रतिक्रिया