आज ऐतिहासिक दिन

आज नेपालका लागि इतिहास लेख्ने दिन हो । विगतमा लागेको दाग मेटाउँदै मुलुकलाई नयाँ संविधान दिन प्रतिनिधि चुन्ने दिन आज नेपाली जनता उद्देश्यमूलक मतदान गर्दै छन् । आज नेपाली जनताले शान्त, सम्वृद्ध, समुन्नत गणतन्त्र नेपालका लागि संविधान निर्माण गर्ने आफ्ना प्रतिनिधि छान्दै छन् । निकै लामो खिचातानी, छिनाझप्टी र रस्साकसीपछि संविधानसभाको दोस्रो निर्वाचन आज मंसिर ४ गतेलाई तोकिएको हो । यो दिनलाई नेपाली जनताले ऐतिहासिक दिनका रूपमा लिएका छन् । शान्त वातावरणमा उत्साहपूर्ण ढंगले निर्वाचन सम्पन्न भएमा आजैका दिनले लोकतान्त्रिक संविधान निर्माण गर्ने सूत्रधारको काम गर्नेछ । विगतमा के भयो ? कसो भयो भन्नुभन्दा पनि अब संविधान निर्माण हुन्छ भन्ने पूर्णविश्वास साथ अगाडि बढ्नुपर्ने भएको छ । आजले इतिहास निर्माण गर्ने भएकाले यस दिनलाई ऐतिहासिक दिन मान्न सकिन्छ । अहिले नेकपा–माओवादीलगायत मोर्चाले १० दिने यातायात बन्दको आव्हान गरेकोछ । तर, सरकारको दह्रो सुरक्षा उपस्थितिले बन्दको खासै प्रभाव परेको देखिँदैन । तसर्थ आज निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा शंका गर्नु पर्ने ठाउँ छैन । सबै मिलेर निर्वाचनलाई भयरहित ढंगले सम्पन्न गर्नु पर्छ । मतदाताले पनि निर्वाचनलाई सहज बनाउन सहयोग गर्नुपर्छ भने दलका कार्यकर्ताले अनुशासित तवरमा निर्वाचन गराउन सम्पूर्ण रूपमा मद्दत गर्नुपर्ने छ ।
नेपालको राजनीतिक संकट समाधान गर्नका लागि संविधानसभाको दोस्रो निर्वाचन आज भएको हो । यो निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलिरहीत भएमा लोकतान्त्रिक पद्धति दह्रो हुने अपेक्षा गर्न सकिन्छ । यो निर्वाचन संविधान निर्माणका लागि हुन गइरहेको छ । निर्वाचनमा हारजित हुनु स्वाभाविक हो । सबैले जित्दैनन् । हार र जितलाई अतिरञ्जित नबनाई सामान्य रूपमा लिएर एकअर्काको अस्तित्व स्वीकार गर्न सक्नु नै लोकतान्त्रिक कर्म हो । यस कर्मलाई सबैले सम्मानपूर्वक पालना गर्नुपर्छ । निर्वाचनलाई नेपालमा व्याप्त समस्या समाधान गर्ने उपायको रूपमा लिएको वर्तमान अवस्थामा सबै सजग हुन जरुरी छ । अहिले निर्वाचन असफल बनाउन तयार ३३ दलीय मोर्चा मात्र होइन निर्वाचन लडिरहेका दलहरूले पनि जनताको स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अधिकारको सम्मान गर्ने समय हो । एउटा मोर्चाले विरोध गरिरहेको अवस्थमा सहभागी दलहरू वीचमै छिनाझप्टीको अवस्था आयो भने त्यो झन् गम्भीर आपत्तिको विषय बन्ने छ । आज भइरहेको निर्वाचनमा मतदाताले पनि आफ्नो मताधिकार सही पार्टी र व्यक्तिलाई दिनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।
आज ७ बजेदेखि मतदान भइरहेको छ । सुरक्षा व्यवस्था निकै कडा बनाइएको देखिन्छ । यसले पनि मतदातालाई मतदान केन्द्रसम्म पुगेर मतदान गर्न उत्साहित बनाएको छ । तर, निर्वाचनमा भाग लिइरहेका दलका कार्यकर्ताले भने संयमता अपनाउन जरुरी छ । सबैले आफ्ना मतदातालाई सहजरूपमा मतदान गर्ने वातावरण तयार गरिदिनु पर्छ । निर्भयतापूर्वक मतदान होस् र लोकतान्त्रिक पद्धतिको विकासको ढोका खुलोस् भन्ने सबैले सोच्नुपर्छ । त्यो सोच्ने दिन आजै हो । झैझगडा र दंगाफसाद गर्ने काम अपराध हो । यस खाले कर्म गर्दा कसैले जित्दैन राष्ट्रले हार्छ । अहिले राष्ट्र संकटमा छ । यो संकटबाट राष्ट्रलाई मुक्त गर्नु सबै नेपालीको कर्तव्य हो । यो कर्तव्य पूरा गर्ने मौका बारम्बार आउँदैन । त्यसैले निर्वाचनलाई शान्ति, सुव्यवस्था, सुशासन र संकटमुक्त राष्ट्रका लागि अनिवार्य सर्तका रूपमा लिएर कार्य गरिनु पर्छ । निर्वाचनलाई हल्ला र भ्रम छर्ने माध्यम बनाइनु हुँदैन ।

प्रतिक्रिया