पहाडी जिल्लामा औषधी र दैनिक उपभोग्य वस्तुको अभाव

धनगढी, ४ मंसिर । बिगत एक साता देखिको बन्दका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा अत्यावश्कीय सामान अभाव भएको छ ।

चुनावको विरोधमा रहेको नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चा कात्तिक २५ गतेदेखि लगातार बन्द गरेको कारण सामान ढुवानी गर्न नसकेर पहाडी जिल्लामा अत्यावश्कीय सामानको अभाव हुनपुगेको हो ।
दिनहुा तराइका कैलाली, कञ्चनपुर र डडेल्लधुरा जिल्लाबाट दर्जनौं मालबाहक गाडी सामान लिएर जाने यहाका पहाडी जिल्लामा बन्दका कारण जनाइ ट्रक ब्यवसायीले सामान ढुवानी गर्न नमानेपछि समस्या भएको जिल्लास्थित ब्यापारीहरुले बताएका छन् ।
एक साताअघि नेपाल सरकार र यातायात ब्यवसायीबीच बन्दको समयमा सवारी साधन चलाउने सहमति भएको थियो । बन्दको बेला चलेका सवारी साधनमा क्षति भए सरकारले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपनि सवारी धनीले चलाउन नमानेको स्थानीय बिक्रेताको भनाइ छ । स्थानीय प्रशासनले सुरक्षाकर्मीको स्कर्टिङ दिने जनाए पनि सवारी धनीले अनेक बहानामा पन्छिने गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले बताए ।
साता दिनदेखिको बन्दका कारण दुर्गम बाजुरा, अछाम, बैतडी, बझाङ, दार्चुला र डोटीमा दैनिक उपभोग्य वस्तु चामल, नून, तेल, तरकारी लगायतको अभाव भएको छ भने बिरामीहरुलाई आवश्यक पर्ने औषधी पनि बन्दका कारण ढुवानी गर्न नसक्दा समस्या भएको बझाङ औषधी ब्यवसायी जनक सिंहले बताए ।
माओवादीसहितको मोर्चाले बन्द घोषणा गरेर सामान ढुवानी पनि बन्द भएकोले स्थानीय ब्यापारीले आफूखुसी सामानको मूल्य तोकेको बझाङका पत्रकार हिमाल जोशीले बताए ।
‘सदरमुकामा फाट्फुट् रुपमा सामान पाएपनि ग्रामीण भेगमा भने चरम अभाव रहेको छ,’ जोशीले भने, ‘तत्काल बन्द नखुले खानेकुरा र बिरामीले औषधी नपाएर मर्नुपर्ने अवस्था रहेको छ ।’ जिल्लास्थित स्थानीय बजारमा सामान पाइन छोडेपछि कालोबजारी पनि बढेको स्थानीयले बताएका छन् ।
बाजुरा, अछाम, डोटी जिल्लामा पनि दैनिक उपभोग्य वस्तु र औषधीको अभाव भएको र भएका सामानको पनि ब्यापारीले वास्तविक मूल्य भन्दाबढी लिने गरेको बताइएको छ । बन्दका कारण सामान ढुवानी गर्न नसकेको र बन्द खुल्ने फिक्स नभएको भन्दै ब्यापारीले सामान लुकाएर बेच्न थालेपछि थप समस्या भएको हो बाजुरा कोल्टीका पुरन शाहीले भने । उनले स्टक सामान सकिएको भन्दै केही ब्यापारी पसल बन्द गरेर घरतिर गएको बताए ।
बन्दका कारण दार्चुला र बैतडी जिल्लामा दैनिक उपभोग्य वस्तु अभाव भएपछि स्थानीयले सीमापारि भारतीय जिल्लामा गएर किनमेल गर्नेगरेका छन् । त्यो पनि चुनावका कारण सीमा नाका बन्द भएपछि दैनिक उपभोग्य सामानको समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् ।
स्थानीय प्रशासनले सुरक्षा दिन तयार रहेको जनाएपनि बन्दकर्ताहरुले बन्दको अबज्ञा नगर्न भनेर कडा चेतावनी दिएकोले आफूहरु समस्यामा परेको ट्रक ब्यवसायीले बताएका छन् । उनीहरुका अनुसार बन्दले ब्यवसाय नै धरापमा परेको छ ।
बन्दका बेला केही ब्यवसायी जोखिम मोलेर ट्रक चलाउन खोज्दा उद्योगपति तथा थोक बिक्रेताले सामान नदिने गरेको ट्रक ब्यवसायी तथा सेतीमहाकाली ट्रक ब्यवसाय समिति सल्लाहकार देबबहादुर बमले बताए । उनले सामान नपाएपछि रित्तो ट्रक चलाउने अवस्था नरहेको बताउादै बन्दका कारण दैनिक लाखौं घाटा खाएको बताए । बन्द भएपछि केही ट्रक ब्यवसायीले बैंक किस्ता नै बुझाउन नसकेको बमको भनाई थियो ।
बझाङ बाहिर जिल्लामा निर्भर रहनुपर्ने भएकोले केही समस्या भएको छ । कसैले पनि कृत्रिम अभावको सिर्जना गर्न नपाओस् भनेर प्रशासनले निरन्तर अनुगमन गरिरहेको बझाङका प्रमुख जिल्ला अधिकारी उद्धबराज तिमिल्सिनाले बताए ।
उनले नेपाल खाद्य संस्थानको गोदाममा पर्याप्त चामल मौजाद रहेकोले चामलको त्यति अभाव नरहेको तर औषधी, तरकारी तथा अन्य दैनिक उपभोग्य सामानको अभाव देखिन थालेको बताउादै ब्यापारीहरुलाई सामान ढुवानीका लागि सुरक्षा दिन प्रशासन तयार र सक्षम रहेको बताए ।

प्रतिक्रिया