उषा र ठाकुरले सुनाए कविता

Usha-Sherchanकाठमाडौं, ३ मंसिर । पछिल्लो समयमा कलाकार भनौँ या साहित्यकार सबैजना एक न एक पार्टीको प्रचारमा हिँडेको त सुन्नमा आइहल्छ । तर अहिले साहित्यकारहरू साहित्यिक कार्यक्रममा व्यस्त छन् भन्ने समाचार सुन्न गाह्रोको विषय बनेको छ । त्यसैले यो महिनाको सुरुवातदेखि चुनावको चटारोमै कलाकारहरूको दैनिकी बितेको छ ।

तर कतिपय लेखक, साहित्यकारले भने त्यो चटारोबाट पन्छिएर कविता सुन्ने साहस पनि बटुले । लुकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनाम थिएटरको आयोजनामा प्रत्येक महिनाको पहिलो दिन हुँदै आएको कविता वाचन कार्यक्रममा मंसिर महिनाका लागि कविद्वय उषा शेरचन र ठाकुर बेलवासे मञ्चमा उपस्थित  भएका थिए ।
वाचनका लागि सुरुमा उषालाई निम्त्याइएको थियो । चुनावको चटारोबीच पनि अविश्वसनीय रूपमा साहित्यका फ्यानहरूको उपस्थिति देखेर उनले हौसिँदै मुक्तक सुनाइन् ।
नडराउनु चुक भोप्टेजस्तो निष्पट्ट अँध्यारोसँग रात जत्ति छिपे पनि बिहानीलाई डाक्नुपर्छ नै आखिर  यस्तै किसिमका मुक्तकहरू आफ्ना साहित्यप्रेमी फ्यानहरूलाई श्रवण गराएर उनले कविता सुनाउन लागिन् । उषाले काव्यिक सयरका क्रममा मनको इच्छा–पत्र, कठपुतली, म सिर्फ भीर भीर खोजिरहेछु, समुद्र र बादल, जिउँदो नेपाल हेर्ने रहर’ लगायत आधा दर्जनभन्दा बढी कविता सुनाएर साहित्यमय मञ्च ठाकुर बेलवासेलाई प्रदान गरिन् । मञ्चमा पुगेपछि ठाकुरले उषाकै कविता पढेर दुई दशकदेखि कविता सिर्जनामा लोगेको बताए । साहित्यकार ठाकुरले ‘म उही नदी किनारमै छु’ शीर्षकको कविताबाट वाचन सुरु गरेका थिए । त्यसपछि उनले ‘गरिबको बेग, भाइसँग, हाम्रो भेट, मान्छेको बादल’ जस्ता कविताहरू क्रमश: सुनाए । सबै नयाँ कविता सुनाइरहेका ठाकुरले कवि मणि लोहनीको छनोटमा रहेका केही प्रेम कवितासमेत सुनाए ।
आफूलाई कवितामा लागेर निकै सुरक्षित महसुस भएको बताउँदै साहित्यकार ठाकुरले क्रमश: मृत्युको झोला, बाटोविहीन वस्ती, ईश्वरको राज्य, आमाको लय, बाँच तिमीले बाँच्नुपर्छ तिमीले भन्छौ, एउटा पहिरोमा तिम्रो सम्झना, छोडेर जानेहरू गरी दर्जन कविता सुनाएर साहित्यमय माहोलबाट ओझेल परे ।

प्रतिक्रिया