प्रतिमान राई खोटाङ जिल्लाका पुराना शिक्षक । तर, यतिबेला उनको परिचय फेरिएको छ । यसपटक नेपाल कम्युनिस्ट पार्टीको प्रत्यक्षतर्फबाट खोटाङ क्षेत्र नम्बर १ का उम्मेदवार बनेका छन्, राई । लामो समय शिक्षण पेसामा रहेका राईको उम्मेदवारीबारे जिल्लामा सकारात्मक र नकारात्मक दुबैखाले चर्चा चल्ने गरेको छ । राईको उम्मेदवारीबारे ‘यत्रो वर्ष शिक्षण पेसामा लागेको मान्छे राजनीतिमा नलागको भए बेस’ भन्ने र ‘शिक्षण पेसामा लागेर देशको सेवा गर्नेले फेरि राजनीतिमार्फत देशको सेवा गर्न खोज्नु राम्रै हो’ भन्नेहरू पनि छन् । तर, आफ्नो उम्मेदवारीबारे राई आपैँm चाहिँ यसो भन्छन् :–
राजनीति जनताका लागि हुनुपर्छ, नेताका लागि होइन । हामी नेपाली जनताको सेवामा समर्पित भएर लाग्ने कसम खाएर लागेकाहरू, राजनीतिबाहेक अन्य काम गरेर पनि जनउत्तरदायी भावना बोकेका हुन्छौँ । म अहिले खोटाङ जिल्ला क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिस्ट पार्टीको प्रत्यक्षतर्फको उम्मेदवार । मैले राजनीति ०२८ सालदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट सुरु गरेँ । मेरो अध्ययनको क्रममा भूमिगत रूपमा पार्टीसँग सम्पर्क स्थापना भएपछि पछिल्लो समयसम्म म नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी समूहमा आवद्ध रहेको थिएँ । त्यति बेला हामीले मूल्य र मान्यताको राजनीतिलाई प्राथमिकता दिन्थ्यौँ । तत्कालीन अवस्था जनताको सेवकका रूपमा नेता कार्यकर्तालाई समर्पित गरिन्थ्यो । पार्टी कामका लागि जनताको घरदैलोमा गएर विचार, दर्शन र व्यवहारको कुरामा प्रशिक्षण दिइन्थ्यो । यसैको जगमा आज नेपालमा ठूला भनिएका कम्युनिस्ट दलहरू स्थापित भएका छन् । तर, हिजोको राजनीतिक दर्शन, सर्वहारा श्रमजीवी वर्ग उत्थानको विचार दर्शनलाई तिलाञ्जली दिएर राजनीतिज्ञहरू बुर्जुवा वर्गको पक्षपोषण गर्ने समूहमा परिवर्तन भइसकेका छन् । उपभोक्तावादी चिन्तन र सोचका कारण ठूला भनिएका सबै दलले जनताको सेवा गर्ने कुरा बिर्सिसकेका छन् ।
हामीले चुनावमा यतिखेर जनताको मुद्दा उठाएका छौँ । गणतन्त्र, पहिचानसहितको संघीयता, धर्म निरपेक्षता र अग्रगामी राजनीतिक, सामाजिक र आर्थिक अधिकारलाई संस्थागत गर्न सार्थक संविधान निर्माण गर्न जरुरी छ । यस मानेमा म खोटाङ जिल्लाको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवार भएको हुँ । म जनताको घरदैलोमा गएर भोट माग्छु । जनताहरूले ‘लौ हुन्छ, हामी तपाईंलाई भोट दिन्छौँ,’ भनेर विश्वास दिलाएका छन् । तर, त्यसपछि म प्रश्न गर्छु मलाई किन भोट दिनुहुन्छ ? उनीहरू छक्क पर्छन् † किन दिने भोट ? यसपछि मैले भन्ने गरेको छु, हाम्रा लागि जनमुखी संविधान बनाउन, गणतन्त्रको संस्थागत विकास गर्न, पहिचानसहितको संघीय संविधान लेख्न, धर्म निरपेक्षता, अग्रगामी सामाजिक तथा राजनीतिक निकासका लागि मलाई भोट दिनुहोस् भनेर जनतालाई सम्झाउँछु ।
सुनिन्छ, खोटाङ क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिनुभएका मित्रहरूमध्ये कोही विद्यालय बाँड्दै हुनुहुन्छ रे, कोही पुल अनि कोही चाहिँ जागिर बाँड्दै हुनुहुन्छ रे । उहाँहरू बढो तामाझामका साथ रवाफिलो पाराले चुनाव प्रचार–प्रसारमा हिँड्नु भएको छ । निर्वाचन आचारसंहिताको ख्याल नगरी तुल–ब्यानर, टांग्नुभएको छ, लुगा पनि त्यस्तै पहिरिएको देखिन्छ । तर, मैले भनिरहेको छु हल्लाको पछि जोखिम हुुन्छ । भयंकर ठूलो खर्च भएको छ । बाफ रे † त्यत्रो खर्च कहाँबाट ल्याउनुभयो होला । आर्थिक हैसियत त हाम्रो बराबरजस्तै होला । यद्यपि यत्रोविधि खर्च भइरहेको छ । जनताले विचार गर्ने ठाउँ यही हो । जनताले यसको पनि मूल्यांकन गर्लान् भन्ने मलाई लागेको छ । यस्तो रवाफिलो खर्च गर्न साथीहरूले चन्दा उठाउनु परेको होला, दातासँग सहयोग माग्नु परेको होला । सबै उम्मेदवारले जनताबीचमा गएर उनीहरूका लागि काम गर्ने बाचा पनि गर्नुपरेको छ । मित्रहरूले यसो नगरे हुन्थ्यो, चन्दा मागेर, सहयोग उठाएर चुनाव लड्नेले विजयी बनेपछि सबैभन्दा पहिले कसको काम गर्ने होला– जनताको कि दाताको ? या सहयोगीको ? यो प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । यसको उत्तर जनताले अवश्य खोज्ने छन् ।
चन्दादाताले पनि त त्यत्तिकै दिएका छैनन् होला । चन्दादाता या त व्यपारी हुन्छन् या ठेकेदारहरू हुन् । उनीहरूले आफूले कमाएको सम्पत्तिको अंश काटेर चन्दा तथा सहयोग गरेका छन् । भोलि तिनले त्यो रकमको सावा र ब्याज एकैपटक असुल गर्नुपर्ने हुन्छ । त्यतिखेर व्यापारीले सामानको मूल्य बढाउन बाध्य हुन्छ भने ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग गर्नुपर्ने हुन्छ । त्यसको प्रत्यक्ष घाटा नेपाली जनतालाई नै पर्ने भएकाले सबैले यस्ता कार्य नगर्दा नै नेपाली राजनीतिमा आएको विकृतीको न्यूनीकरण हुनेछ ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई नै मुद्दाको रूपमा स्थापित गर्न यस्ता कुरालाई नजरअन्दाज गर्नुहुन्न । हामी झुठा बाचा बाँडिरहेका छैनौँ । हामी अरू राजनीतिक दलका नेताजस्तो अहिले नै बिजुली बालिदिने, जागिरमा लगाइदिने, खोलामा पुल हाल्ने, विद्यालयको भवन बनाइदिनेजस्ता आश्वासनहरू बाँड्दैनौँ । विकास भनेको आवश्यकताले निरन्तर बढिरहन्छ । हामीले कार्यनीतिक रूपमा तयारी गरिदिने हो । आज हामीलाई विकासको बारेमा कसैले पनि कम आँक्न सक्तैन । हामीले बौद्धिक पलायनतालाई मात्र रोक्न सक्यौँ भने, हामीसँग भएका प्राकृतिक स्रोतसाधनको समुचित व्यवस्थापन गर्न सक्यौँ भने अवश्य विकास हुन सम्भव छ । हामीले भन्ने गरेका छौँ, विकासको नाममा बाटोघाटो, पुल–पलेसा, बिजुली–बत्ती मात्र नभएर बौद्धिक विकास गर्न जरुरी छ । यसका लागि देशको राजनीति सुध्रिनु पर्छ । सुधारका लागि सही नीति र दृष्टिकोण भएको पार्टीले जित्नै पर्छ । नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको नीति–विचारले मात्र अस्तव्यस्त बनेको मुलुकलाई सही दिशामा अघि बढाउन सक्छ । मलाई खोटाङे जनताले बिग्रिएको राजनीतिलाई सुधार गर्ने भरपर्दो व्यक्तिका रूपमा हेर्नुभएको छ । जनताको यस्तो आशालाई म तुषारापात हुन दिन्नँ । यसमा म विस्वस्त छु ।
मैले शिक्षण पेसामा रहँदा आफ्नो पेसासँगै गरेको सामाजिक कामको पनि खोटाङका जनताले मूल्यांकन गरेका छन् । आज तापखोला लघु जलविद्युत्को विस्तार भएको छ, हुर्लुङ–जालपा सडक खन्ने कामको डिजाइन र कार्य सम्पन्न भएको छ । जुन बाटो आज सोलु–सल्लेरी जोड्ने छोटो बाटोको रूपमा विकास भइसकेको छ । आफ्नो गाउँ–ठाउँको विकास नै किन गर्ने ? यो विषयमा म सिक्कम गएर मजदुरी गर्दा त्यहाँका एक जना व्यक्तिले भनेको शब्दलाई सम्झन्छु । म नेपालबाट आएको देखेर होला तिनले मलाई ‘भतुवा’ भन्ने शब्द प्रयोग गरे । त्यसले मलाई छोयो अर्काको ठाउँमा परिश्रम गरेर त्यहाँकै भौतिक तथा सम्पूर्ण विकासमा सहयोग गर्दा पनि हामी यस्तो अपमानित हुनुपर्ने ? मैले त्यसबेला प्रवासमा काम गर्ने सारा नेपालीको अपमान भएको महसुस गरेँ । हो त्यही कुरालाई चुनौतिको रूपमा स्वीकार गर्ने हिम्मतका साथ अगाडि बढेको छु । मलाई विश्वास छ खोटाङे जनताले घन–कोदोलोमा मतदान गर्ने छन् । शैक्षिक क्षेत्रमार्फत मैले जनताको सेवा गरिसकेँ, अब राजनीतिमार्फत गर्न चाहन्छु, जनताले मलाई मौका दिनेछन् ।
(भीम राईसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया