मतदातालाई पनि चुनाव लाग्यो

मुलुक अहिले चुनावमय बनेको छ । जनता मतदान गर्न व्यग्र छन् । विभिन्न स्थानमा निर्वाचनपछि के हुन्छ भन्ने छलफल पनि सुरु भएको पाइन्छ । व्यक्तिपिच्छेका विचार पनि आइरहेका छन् । निर्वाचन सम्पन्न भएपछि सरकार कुन दलको बन्ला ? संविधान बन्छ वा बन्दैन होला ? भन्ने खालका प्रश्न जनताले उठाउनु अस्वाभाविक होइन । चुनावपछि हारजितलाई सहज रूपमा स्विकार्दै जनताले उठाएका ती प्रश्नको सहज रूपमा नेताहरूले जवाफ दिन सक्नुपर्छ । विगतमा कमी–कमजोरी भएकै हुन् । त्यसलाई सच्याउँदै नेतृत्वले संविधान निर्माण गर्ने र दोस्रो संविधानसभाले मुलुकको समस्या समाधान गर्ने विश्वास गर्नै पर्छ । यसको विकल्प अहिले केही देखिँदैन । नेपाली जनताले दु:ख पीडा निकै अनुभव गरिसके । मुलुक आर्थिक रूपले जर्जर बन्दै गइरहेको छ । युवाशक्ति रोजगारीको खोजीमा विदेश पलायन हुन बाध्य छ । सहर, बजार अथवा ग्रामीण क्षेत्रमा शान्ति–सुरक्षामा सुधार आएको पाइँदैन । यो सबै हुनुको मूल कारण अस्थिर राजनीति नै हो । अब हुने निर्वाचनले यो अस्थिर राजनीतिको विकल्पमा एउटा निष्कर्ष दिनेछ । सरकार सबै दल मिलेर नै बन्ला वा केही दलकै बन्लाजस्तो बने पनि विगतबाट पाठ सिकेर त्यसले काम गर्नेछ । लोकतान्त्रिक मूल्य–मान्यता र पद्धतिअनुरूप भएको निर्वाचनले जस्ता नतिजा दिन्छ त्यसलाई स्विकार्नु सबैको कर्तव्य हुन आउँछ । निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र रूपमा भएको निर्वाचनबाट प्राप्त नतिजालाई आत्मैदेखि स्विकार्दै जनप्रतिनिधिले काम गर्नेछन् । मुलुकले दिगो राजनीति, शान्ति, सुशासन र सुव्यवस्था प्राप्त गर्नेछन् । यो चुनावपछि एक वर्षभित्र संविधान निर्माण गर्ने र आर्थिक क्रान्ति सम्पन्न गर्ने प्रतिज्ञा नेताहरूले गरेका छन् । यस प्रतिज्ञालाई कार्यरूपमा परिणत गर्न जनताले पनि उनीहरूलाई दबाब दिनै पर्छ । अहिले नै भने निर्वाचन रोक्ने वा अविश्वास गर्ने खालका गतिविधि गरिनु हुँदैन ।
४ मंसिरको चुनाव आइसकेको छ । यो चुनावले धेरै खालका समस्या समाधान गर्ने अपेक्षा पनि गरिएको छ । आºनो प्रतिनिधि छान्न जनता उत्साहित र आतुर छन् । यी जनतालाई निर्भयतापूर्वक मतदान गर्ने वातावरण तयार गर्ने दायित्व सरकारको हो । फाट्टफुट हुने घटनाले पनि भय सिर्जना गर्न सक्छ । यसतर्फ सुरक्षा निकाय चनाखो हुन जरुरी देखिन्छ । चुनावमा भाग लिइरहेका दलले निर्वाचनसम्बन्धी आचारसंहितालाई पूर्णरूपमा पालना गर्ने हो भने अन्य खाले घटनामा कमी आउनेछ । आफूले भने कानुन मिच्दा हुने अर्कोले कानुन मिच्न पाउँदैन भन्दा पत्याउने अवस्था रहँदैन । तसर्थ दलहरूले निर्वाचनसम्बन्धी आचारसंहिता पालनामा जोड दिनुपर्छ । आचारसंहिता तोडेर ठूलो भएको ठानिन्छ भने त्यो प्रत्युत्पादक घमण्ड हुनेछ । आचारसंहिताले आफूलाई मात्र होइन, अरूलाई पनि मर्यादामा रहन बाध्य बनाउँछ । मतदातालाई निर्भयतापूर्वक मतदानकेन्द्रमा पुग्न र मतदान गर्न प्रेरित गर्ने काम आचारसंहिताको पालना पनि गराउँछ । अहिले निर्वाचनको मुखैमा आएर केही राजनीतिक दलबीच प्रचारका क्रममा एकले अर्कालाई स्वीकार गर्न नसकेका खबर आइरहेका छन् । यस्ताखाले गतिविधिले मतदातालाई निराश बनाउनेछ भन्नेतर्फ दलहरूले सोच्न सक्नुपर्छ । निर्वाचन प्रजातान्त्रिक पद्धतिको एउटा प्रक्रिया हो । यो प्रक्रियामा सबै दलले प्रचार–प्रसार गर्न पाउने नैसर्गिक अधिकार सुरक्षित राखेको हुन्छ । सबै दलका नेता र कार्यकर्ताले प्रतिस्पर्धीलाई स्वीकार गर्न सक्नुपर्छ । प्रजातान्त्रिक निर्वाचनको महत्वपूर्ण विषय भनेकै अर्काको अस्तित्व स्विकार्नु पनि हो । यसर्थ यो निर्वाचन निष्पक्ष, धाँधलीरहित र भयरहित तवरमा सम्पन्न हुन जरुरी छ ।

प्रतिक्रिया