तराईमा डाला नाङ्लोको बिक्री बढ्यो

गौशाला : तराईवासीका महत्वपूर्ण पर्व छठको अवसरमा प्रयोग हुने बाँसका भाँडाकुडा डाला, नाङ्लो र टपरीको बिक्रीमा अत्यधिक वृद्धि भएको छ । छठ पूजामा भगवान सूर्य तथा छठी मातालाई चढाइने (प्रसाद) अर्घ बाँसबाट निर्मित डाला, नाङ्लो र टपरीमा नै दिइने चलन रहेकाले जिल्लाका बजारमा बाँसका भाँडाकुडाले बजार पाएको हो ।
बाँसका भाँडाकुडा तयार गर्ने पुख्र्यौली पेसा रहेका डुम समुदायलाई अहिले ती भाँडाकुडा माग बमोजिम पूरा गर्न भ्याइनभ्याइ भएको छ । जिल्लाको सदरमुकाम जलेश्वरलगायत मटिहानी, पिपरा, भ्रमरपुरा, गौशाला, औरही, मनरा, सरपल्लो, बलबा, बथनाहा, हलखोरी, सम्सी, बर्दिवास, रामगोपालपुरसहित दर्जनभन्दा बढी बजारमा अहिले डाला, नाङ्लो र टपरी किन्नेको घुइँचो लाग्ने गरेको छ ।
माग बमोजिम ती सामान पूर्ति गर्न डुम समुदायलाई हम्मेहम्मे परेको कुरा जलेश्वरका राजकुमार डुमले बताए । जिल्लाको बजारमा अहिले एउटा डालाको दुई सय देखि चार सय सम्म, नाङ्लोको एक सय देखि दुई सय र टपरीको ७० देखि एक सय २० सम्ममा बिक्री हुने गरेको रामगोपालपुरका विपती डुमले बताए । छठ पूजामा एउटा परिवारले एउटा डाला, दुई वटासम्म नाङ्लो र तीनदेखि पााच वटासम्म टपरी प्रयोगमा ल्याउने गरेकाले यी भाँडाकुडा किन्नमा बर्सेनि एक परिवारले कम्तीमा एक हजार खर्चिनु परेको कुरा मटिहानी १ का श्यामकिशोरम मण्डलले बताए । महोत्तरीका डुमले छठ पर्वको बेला आफ्ना परिवारका प्रत्येक महिला पुरुष एवम् बुढादेखि बच्चासम्म सबैलाई बाासका भााडाकुडा बनाउनमा लगाएका हुन्छन् ।
छठ पर्वको बेला महोत्तरीका प्रत्येक डुम परिवारले आफ्नो कार्य क्षमताअनुसार दुई/तीनदेखि पाँच/सात लाख रुपैयासम्म कमाउने गरेको कुरा गौशालाका साधु डुमले बताए । (सौस)

प्रतिक्रिया