विस्तारित सडकको लक्ष्य निर्धारण

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाडौंमा विस्तारित सडक निर्माणको कामलाई तीव्रता दिन सम्बद्ध मन्त्री, सचिव र उच्चपदस्थ पदाधिकारीलाई निर्देशन दिएका छन् । निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं काठमाडौं विस्तारित सडक अनुगमन उच्चस्तरीय समितिका संयोजक कृष्णहरि बास्कोटाले आगामी मंसिर मसान्तसम्मको निर्माणको लक्ष्य प्रस्तुत गरेको पाइन्छ । तोकिएको लक्ष्यअनुसार मंसिर मसान्तसम्ममा थप करिब १६ किमि सडक कालोपत्रे, ११ किमि सबवेश, २२ किमि बेस, करिब ३ किमि टेवा पर्खाल निर्माण, ९ किमि नाली र ५ किमि फुटपाथ निर्माण हुने जनाइएको छ ।
०७० मंसिर मसान्तसम्ममा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाबाट माईतीघर–तीनकुने सडकमा एक हजार मिटर ग्य्राभेल, १९ सय मिटर फुटपाथ र दुई हजार एक सय मिटर कालोपत्रे हुने जानकारी पनि गराइयो । यसरी कालिमाटी–टियु गेट सडकमा ३ सय मिटर ग्य्राभेल र १२ सय ८० मिटर कालोपत्रे गरिनेछ । साथै, लैनचौर–गल्फुटार सडकमा १८ सय मिटर ग्य्राभेल, ८ सय ५० मिटर फुटपाथ र २५ सय मिटर कालोपत्रे गर्ने, गौशाला–शंखमूल सडकमा सय मिटर ग्य्राभेल, सय मिटर फुटपाथ र २३ सय मिटर कालोपत्रे गर्ने र माइतीघर–भद्रकाली सडकमा एक सय ५० मिटर ग्य्राभेल, दुई सय मिटर फुटपाथ र तीन सय कालोपत्रे गरिने जनाएको छ ।
०७० मंसिर मसान्तसम्ममा डिभिजन सडक कार्यालय काठमाडौंले नक्साल–मित्रपार्क सडकमा ६ सय ४० मिटर कालोपत्रे, पीपलबोट–सुकेधारा सडकमा ९ सय ७५ मिटर सबवेस र ६ सय ५० मिटर कालोपत्रे निर्माण, गाईबाच्छा पार्टी सडकमा ९ सय ४० मिटर बेस र ९ सय ४० मिटर कालोपत्रे, टंकेश्वर–स्वयम्भू सडकमा दुई सय मिटर बेस, २ हजार मिटर फुटपाथ र १४ सय मिटर नाली निर्माण, सामाखुसी सडकमा एक सय मिटर टेवा पर्खाल र २ सय मिटर सबवेस निर्माण, भगवानपाउ–वनस्थली सडकमा एक हजार मिटर सबवेस, ७ सय मिटर ह्युम पाइप, ३ सय मिटर नाली निर्माण गर्ने र छिन्नलता सडकमा ३ सय ६० मिटर कालोपत्रे गर्ने गरी लक्ष्य तोकिएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले ०७० मंसिर मसान्तसम्ममा कौशलटार–बालकोट बिरुवा सडकमा दुई सय मिटर फुटपाथ र २ सय मिटर कालोपत्रे, लोकन्थली राममन्दिर सडकमा एक सय ८० मिटर ह्युम पाइप, ठिमी शंखधर चोकदेखि बालकुमारी सडकमा सय मिटर कालोपत्रे र सानोठिमी–खाप्ला मिलरोडमा सय मिटर टेवा पर्खाल लगाउने गरी लक्ष्य निर्धारण गरिएको छ ।
त्यस्तै, काठमाडौं महानगरपालिकाले प्रयोग मार्गमा ८ आठ सय मिटर कालोपत्रे तयार गर्ने, जनसेवा मार्गदेखि चख्खुमार्गसम्म दुई हजार मिटर बेस कोर्स सम्पन्न गर्ने र कैलाशमार्ग, नमुनामार्ग, नयाँबस्ती र लाम्टागिन मार्गमा १८ सय मिटर ग्य्राभेल गर्ने लक्ष्य तोकिएको कुरा सचिव बास्कोटाले बताए । उनका अनुसार यस अवधिमा नेपाल विद्युत् प्राधिकरणले देवीमार्ग–सानो गौचरन, आनन्द भैरवमार्ग–ज्ञानेश्वर, साझा बस्तीमार्ग–बानेश्वर, रुद्रनगरमार्ग–बानेश्वर, सुविधामार्ग–सामुदायिक मार्ग, गौशाला तिलगंगा, चण्डोल–टुडालदेवी, लामटाङ्गी, जगदम्बा टावर–नेकोसेरा र एसओएस बालग्राम सडकमा रहेको विद्युतीय संरचना स्थान्तरण गर्ने काम सम्पन्न गर्नेछ भने, विद्युत् प्राधिकरणसँगै नेपाल टेलिकमले पनि पोल गाड्ने र तार तान्ने काम गर्ने गरी लक्ष्य तोकिएको छ । ०७० मंसिरसम्ममा बागमती सभ्यता एकीकृत विकास समितिले सिनामंगल–मीनभवन खण्डमा ३ सय मिटर ढल बिच्छाउने र मीनभवनसम्म बागमती नदीलाई ढलरहित तुल्याउने लक्ष्य तोकिएको छ । उपत्यकावासीले सडक निर्माण नहँुदा निकै सास्ती खेप्नुपरेको छ । यदि, अहिले प्रस्तुत लक्ष्यअनुसार काम पूरा भएमा त्यो सास्तीबाट उपत्यकावासी मुक्त हुने देखिन्छ । यसका लागि सरकारले दृढ इच्छाशक्ति देखाउन जरुरी छ ।

प्रतिक्रिया