पश्चिम सेतीमा ठोस निर्णय गर्न आग्रह

west-seti-2काठमाडौँ, १६ कात्तिक । सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको प्रमुख लगानीकर्ता चाइना थ्री गर्जेज कर्पोरेसनले सो आयोजनाको सम्बन्धमा केही ठोस निर्णय तत्काल गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रमुख लगानीकर्ताको हैसियतले थ्री गर्जेजले लगानी बोर्डलाई प्रसारण लाइन निर्माण, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको पुर्नवास योजना, विद्युत् आपूर्तिको योजना, व्यापार व्यवस्थापन कार्ययोजनका बारेमा तत्काल निर्णय गर्न आग्रह गरेको हो । लगानी बोर्डका सहसचिव मुकुन्द पौडेलका अनुसार लगानीकर्ता गर्जेजले आन्तरिक खपतका लागि निर्माण गर्न लागिएको सो आयोजनाबाट उत्पादित बिजुलीको वितरणको कार्ययोजना पेस गर्न आग्रह गरेको छ । गर्जेजको आग्रहबमोजिम बोर्डले ठोस निर्णय गर्ने र छिट्टै आयोजनाको काम अगाडि बढ्ने सहसचिव पौडेलको भनाइ छ । बोर्ड र लगानीकर्ताबीच आयोजनाका सम्बन्धमा पटकपटक छलफल भएको जानकारी दिादै श्री पौडेलले मुलुकको चाहनाअनुसार पुर्नवास कार्ययोजना, प्रसारण लाइनको निर्माण सम्बन्धमा ठोस निर्णय गर्ने बोर्डको तयारी रहेको बताए । सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखी काम अगाडि बढाएको सो आयोजनामा थ्री गर्जेजको सिडब्ल्यू इन्भेस्टमेन्ट कम्पनीले काम गर्ने भएको छ ।
गत वर्ष सो आयोजनाको सम्बन्धमा नेपाल सरकार र लगानीकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । बोर्डले समझदारीमा पत्रमा हस्ताक्षर भए पनि काम अगाडि बढ्न नसकेको भन्दै तत्काल काम अगाडि बढाउन थ्री गर्जेजलाई आग्रह गर्दै आएको छ । सो सम्बन्धमा बोर्डले तत्कालै निर्णय गर्ने तयारी गरेको श्री पौडेलको भनाइ छ । यस्तै बोर्डले कुल ६ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजनाको आयोजना विकास सम्झौतालाई पनि अन्तिम रूप दिने तयारी गरेको छ । भारतीय लगानीकर्ता जिएमआरले लगानी गर्ने सो आयोजनाका सम्बन्धमा पनि पटकपटक छलफल भइसकेको छ ।

प्रतिक्रिया