घोडचढीको तयारी पूरा

काठमाडौ : दोस्रो इतिहाद राष्ट्रिय घोडचढी प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेपाल इक्वेस्ट्रियन संघले जनाएको छ । एकदिने प्रतियोगिता बिहीबारदेखि टुंडिखेलमा सुरु हुँदैछ ।
प्रतियोगितामा हर्स सो जम्प, टेन्ट पेगिङ सो र हाइ जम्प (पुसेन्स) गरी तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नगद पुरस्कार राशी रहेको यो स्पर्धामा ४० पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने इक्वेस्ट्रियन संघका महासचिव बलराम श्रेष्ठले जनाएका छन् ।
उक्त तीन विधामा कुल नगद पुरस्कार १ लाख ५० हजार रुपियाँ रहेको छ । हर्स सो र टेन्ट पेगिङका विजेताले समान पुरस्कार पाउनेछन् । पहिलो हुनेले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजारका दरले नगद पुरस्कार जित्नेछन् । हाइ जम्पमा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पार्नेछन् ।
एकदिने प्रतियोगितामा प्रदर्शनी खेल पनि राखिएको छ । प्रदर्शनी खेलका रूपमा हर्स बल सो, फाउल्ट एन्ड आउट सो (महिलाका लागि मात्र) र चिल्ड्रेन सो हुनेछ ।
नेपाली सेना र प्रहरीको विशेष सहयोग र सहभागितामा प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो संस्करण पोखरामा भएको थियो । (सौस)

प्रतिक्रिया