रक्तदानका लागि जनचेतनाको खाँचो

janardan_paudel_aavasयतिखेर राजधानी लगायत देशका सबै ठाउमा रगतको अभाव देखिएको छ । मानिसहरु रगतको अभावले गर्दा आफ्ना बिरामीका लागि रगतको व्यवस्था गर्न यत्रतत्र भौतारिरहेका छन । हिजो भर्खर त्रिशुलीमा गाडी दुर्घटनामा घाइते भइ अपरेशन गर्नु परेको मित्रका आफन्तका लागी एबी पोजिटिभ व्लड ४ प्वाइन्ट जम्मा गर्न नसकेर झन्डै झन्डै मृत्युको मुखमा धकेलिएका थिएनन । बर्षेनि प्राय: दशै तिहार लगायत चाडबाडको नजिक यसरि नै रगत अभाव हुने गरेको छ । जसको प्रमुख कारणमा चाडबाडको रमाइलोमा कसैले पनि स्वास्थ्यको बारेमा नसोच्नु र रक्तदान कार्यक्रम रगतको माग र आवश्यकता हेरेर गरिनु पर्नेमा फेशन सो जस्तो संघ संस्थाहरुले आ—आफ्नो फुर्सदका समयमा गरिनु पनि हो । रगत मानव शरिरमा बग्ने रातो तरल पदार्थ हो । मानव शरिरमा औसत ५.५ लीटर रगत हुन्छ । रगत मानव शरिरको लामो हाडमा बन्दछ । रगतले मानव शरिरमा पौष्टिक तत्वहरुलाइ एक स्थानवाट अर्को स्थानमा पुऱ्याउनुका साथै अक्सिजन र कार्वनडाइअक्साइडको आदान प्रदानमा मद्धत गर्दछ । रगतकोष फ्ल्युड र कनेक्टीभ टिस्यूको समीश्रणबाट बनेको हुन्छ । तसर्थ रगत हाम्रो शरिरको लागि नभइ नहुने पदार्थ हो । रगत कुनै देश, जाति , राज्य र धर्म को छुट्टै हुन्न । एउटा नेपालीको हात काटेपनि रातै रगत वग्छ , अमेरीकनको हात काट्दा पनि रातै रगत बग्छ अनि इराकीको हात काटेपनि रातै रगत वग्छ । रगतको रङमा मात्र हैन गूणमा पनि समानता पाइन्छ । एउटा नेपालीको ज्यान अमेरिकनको रगतले बचाउन सक्छ, एउटा बाहँुनको ज्यान दलितको रगतले बचाउन सक्छ अनि एउटा हिन्दुको ज्यान मुसलमानको रगतले बचाउन सक्छ । त्यसैले मानिसलाइ रगतको आवश्यकता पर्दा कुन जातिको हो, कुन वर्गको हो भन्ने हेरिन्न । त्यतिखेर त रक्तदातको रगतको गु्रप कुन हो, उक्त रगत शुद्घ छ कि छैन , रगतमा आवश्यक पदार्थहरु छन कि छैनन , रक्तदाताको शरिरमा प्रेसर , सूगर , हेपाटाइटिस ,मलेरिया एचआइभि एड्स जस्ता सरुवा रोग छन कि छैनन भन्ने कुराहरु मात्र हेरिन्छ । जसको लागि प्रयोगशालामा परीक्षण गरेर मात्र प्रयोग गर्ने गरिन्छ । विभिन्न खाले क्यान्सर , मुटुरोगको शल्यक्रिया , प्रसुति दुर्घटनामा परेका बिरामीहरुका लागि बढि रगत आवश्यक हुन्छ । त्यस्ता अपरेशनहरु गर्दा विरामीको शरीरबाट धेरै रगत वग्ने गर्दछ र कम्तीमा एक पाउन्ड देखि बढिमा आठ दश पाउन्ड सम्म रगतको जोहो गरेपश्चात मात्र डाक्टरहरुले अपरेशन गर्न शुरु गर्छन । मुटुको अपरेशन गर्दा भने फ्रेस रगत पनि चाँहिने हुन्छ । फ्रेस रगत तत्काल ठिक पारेर रगतका सबै परीक्षण गराए पछी मात्र अपरेशन शुरुगर्नु पर्ने हुन्छ । यसरी अपरेशन गरेको व्यक्ति मध्ये पनि केश हेरेर केहिलाइ त तीन चार दिनसम्म पनि लगातार रगत दिनुपर्ने हुन्छ ।
रक्तदान गर्न चाहने रक्तदाताको उमेर १८ बर्ष देखि साठी बर्ष विचको हुनुपर्दछ भने तौल ४५ केजि अनिवार्य हुनुपर्दछ । प्रेसर , सुगर एवं अन्य विभिन्न खालका सरुवा रोग लागेका व्यक्तिहरुले रक्तदान गर्नु हुदैन । एकपटक रक्तदान गरेको व्यक्तिले पुन रक्तदान गर्न त्यसअघि रक्तदान गरेको तिन महिना काटेको हुनु पर्दछ । नेपालका केही अस्पताल वाहेक अधिकांश अस्पतालमा ब्लड बैक छैनन । सबै केन्द्रीय रक्तसन्चार केन्द्रले नै धान्नु परिरहेको अवस्था छ भने रक्तसंन्चार केन्द्रलाइ देशमा माग भइरहेको रगतको सहज ढंगले आपूर्ती गर्न कठिनाइ परिरहेको छ । त्यसैले प्रायजसो समयमा रगतको अभाव नै भइरहेको समाचारहरु सुन्नमा आइरहन्छ । नेपालका अधिकांश जनतामा रक्तदान सम्वन्धि चेतना नहुनु , रक्तसन्चार केन्द्रको रगत संकलन गरेर राख्न सक्ने क्षमता कम हुनु नै रगतको अभावका मुख्य कारण हुन । बिशेष गरि राजधानीमा नै जनसंख्या बढिहुनु र रक्तदातको संख्याभने कमी हुनाले देशका अन्य भुभाग भन्दा राजधानीमा रगतको अभाव देखिएको छ । आम मानिसलाइ जीवनमा रक्तदान गर्नु पर्दछ , रगतले मानिसको जिवन बचाउँछ भन्ने कुराको भान त्यतिखेर मात्र हुन्छ जतिवेला उसको आफन्त वा एकदमै नजिकको प्रिय मानिस रगतको अभावमा मृत्यूशैयामा छट्पटाइ रहेको हुन्छ र एक पाउण्ड रगतको लागि उसले यत्रतत्र भौंतारीनु परेको हुन्छ । वास्तवमा जीवनमा कहिल्यै रक्तदान नगर्नेले रगतको आवश्यकता भएको समयमा पाइएन भनेर गुनासो गर्नेे अधिकार रहन्न । श्रीमद्घभागवतमा अठार हजार श्लोक छन । ति अठार हजार श्लोकको शार एक श्लोकमा बयान गरिएको छ । ँपरोपकार पूष्याय पापाय परपिडनम्’ अर्थात अरुलाइ उपकार गर्नु पुण्य हो भने पिडा दिनु पाप हो । सम्पूर्ण धर्मशास्त्रको सार पनि यहि हो । मानव सेवा नै धर्म हो भनेर भनीएको छ । आफ्नो शरिरभित्र कलकल बगिरहेको रगत दान दिइ अर्काको प्राण वचाउनु भन्दा ठूलो धर्म अरु केही होला त ?त्यसैले रक्तदन सम्वन्धि चेतना जगाउने कार्य गर्नु आवश्यक देखिन्छ ।
कोहिकोहिा रक्तदान गर्दा श्वास्थ्यमा कमजोरी हुन्छ किक भन्ने आशका पनि पाइन्छ । तर त्यो सब अज्ञानताको कारणले मात्र भएको हो । रक्तदान गर्दा स्वास्थ्यमा कमजोरि हुने हैन बरु रत्तदान गर्ने मानिसको स्वास्थ्य अन्यको तुलनामा झन राम्रो हून्छ भन्ने कुरा आम मानिसमा बुझाउनु पर्ने आजको आवश्यकता हो ।यसमा स्वास्थ्यकर्मीले राम्रो भुमिका निभाउनु पर्ने हो तर विडम्वना भनौ या के भनौ प्राप्त तथ्याङ्कअनुसार श्वास्थ्यकर्मीमा पनि आवश्यक मात्रामा रक्तदान प्रति अभिरुची पाइएको छैन । कतै यसो हुनुमा स्वास्थ्यकर्मीहरुमा नै चेतनाको कमी भएको त हैन ? स्वास्थ्यकर्मीहरु रक्तदानमा चेतना ल्याउन सक्ने प्रमुख सम्वाहक हुन उनिहरुमै रक्तदान प्रति त्यति धेरै अभिरुची नपाइएकोले सर्वप्रथम स्वास्थ्यकर्मीमा अभिरुची बढाइ त्यसलाइ अन्य जनता सम्म पुराउनु आवश्यक देखिन्छ । रक्तसन्चार केन्द्रको काम चाहि विभिन्न रक्तदाताहरुको लागत राम्रो संग राख्ने, रक्तदान गर्ने व्यक्ति र उसका आफन्तलाई चांहिएको समयमा रगत सजिलो तरिकाले उपलब्ध गराउने , पटक पटक रक्तदान गर्ने व्यक्तिहरुको नाम , ठेगाना र रगत समुह सहित राष्ट्रीय पत्रिकामा प्रकाशित पो गर्ने, पटक पटक रक्तदान गर्ने व्यक्तीहरुलाई छुट्टै कुनै सम्मानको कार्यक्रम राख्ने , ७ पटक भन्दा माथी रक्तदान गर्ने लाइ स्थायि रक्तदाता भनि कार्ड बनाइदिने आदि कार्य गरेमा रक्तदाताको संख्या बृद्धि हुने निश्चीत छ जसले गर्दा रक्तदाताको संख्यामा वृद्धि भई हाल भइरहेको रगतको अभावलाइ पुर्ति गर्दछ । सबै जनतामा रक्तदान गरौ रक्तदान नै जीवन दान हो भन्ने चेतना फैलाइ हरेक नेपालीलाइ आफ्नो १८ बर्षको जन्मदिन रक्तदानको शुरुवात गरेर मनाउन प्रेरणा जगाऔ यतिमात्र गर्न सकेमा कहिल्यै रगतको अभाव हुन्न । यस पवित्र काममा हामी सबै लागौ , आजै बाट लागौ , अहिल्यै बाट लागौ , आफै बाट सुरु गरौ । अनि रक्त सन्चार कार्यायलले चांहि स्वयंसेवी रक्तदाताहरुले निशुल्क रुपमा दिएको रगत थोरै मात्र परीक्षण शुल्क लिइ वितरण गर्ने गरौ अनि शुल्क बुझाउन नसक्ने जनतालाइ भने सित्तैंमा रगत उपलब्ध गराउने व्यवस्था गरौ । अनि तपाइ हामि नागरिक समाजले चाहि चाडबाडमा खानपिनमा अलि बिचार गर्ने अनि रक्तदान लगायतका स्वास्थ्य सम्वन्धि कार्यक्रममा भाग लिने पो हो कि ?

प्रतिक्रिया