कुङ्फुका उपाध्यक्ष एमालेमा

Pracharकाठमाडौं, १३ कात्तिक । नेपाल कुङफु संघका उपाध्यक्ष प्रकाश श्रेष्ठ नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । गएको संबिधानसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर पाँचबाट नेकपा (एमाले) ले पराजय बेहोरे पनि यस क्षेत्रमा विकास निर्माणका कार्यमा एमालेले महत्वपूर्णं काम गरेकाले आफू एमालेमा प्रवेश गरेको उनले बताए । विगतमा कांग्रेसले जिते पनि उनीहरूले यस क्षेत्रका जनताको समस्या तथा विकास निर्माणमा कुनै पनि चासो नरोखेकाले गर्दा कांग्रेसप्रति जनचासो घट्दै गएको उनको भनाइ रह्यो ।

उनीलगायत नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु मधुसुदन श्रेष्ठ, रवि श्रेष्ठ, सुजनवेद नकर्मी, संगम नकर्मीलगायत ८० जना तथा अन्य पार्टीका गरी कुल १ सय ३० कार्यकर्तालाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अबिर, माला तथा खादा लगाइ पार्टी प्रवेश गराए ।
संविधान निर्वाचनको घरदैलो तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर पाँचका उम्मेदवार ईश्वर पोखरेलले मंगलबार उनीहरूलाई अबिर, खादा तथा माला लगाई आफ्नो पार्टी प्रवेश गराएका हुन् ।
त्यस अवसरमा नेता पोखरेलले आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) ले बहुमत ल्याएर अग्रगामी संविधान निर्माण गर्ने ठोकुवा गरे ।
विष्णु गाविस (चपली) मा आयोजित घरदैलो तथा एमाले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालमा प्रगतिशील, लोकतान्त्रिक, जनपक्षीय तथा अग्रगामी संविधान निर्माण गर्ने हो भने नेकपा (एमाले) लाई अत्याधिक बहुमतसहित विजयी गराउनु पर्ने धारणा व्यक्त गरे ।
जनताको प्रतिनिधि कमजोर भएको खण्डमा कमजोर संविधान बन्ने धारणा व्यक्त गर्दै नेता
पोखरेलले सही विचार भएका तथा बोलाइ र गराइमा प्रतिबद्ध नेतालाई मत हाल्न आग्रह गरे । उनले आफ्नो पार्टीले विगतका जनपक्षीय कार्यलाई निरन्तरता दिँदै राष्ट्र निर्माणका एजेन्डाहरुलाई प्राथमिकतामा राखेको औँल्याए ।
समाजसेवी तथा वरिष्ठ भेटेरेनरी चिकित्सक डा. रेवतीमान श्रेष्ठले यसअघिको निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवारले जिते पनि जनताले चाहेअनुरूपको काम नगरेको भन्दै एमालेप्रति जनलहर उर्लिएको बताए ।

प्रतिक्रिया