रौतहटमा पनि आचारसंहिता उल्लंघन

रौतहट, १३ कात्तिक । दोश्रो संविधान सभा सदस्य को निर्वाचनको मिति नजिकिदै जादाँ रौतहटमा व्यापक रूपमा आचारसंहिताको उल्लघंन हुन थालेको छ ।

प्रत्यक्ष तर्फका उम्मेदवार र तिनका कार्यकर्ताले आचारसंहिता विपरित कार्य गरेको पाईन्छ । दलका नेता कार्यकर्ता मात्र होइन, स्वतन्त्र उम्मेदवारले पनि आचारसंहिता लत्याइ रहँदा अनुगमन गर्ने निकाय भने मौन देखिन्छ । आचारसंहिताले बन्देज गरेका हरेक गतिविधी रौतहटका ६ वटै क्षेत्रमा संचालन भएपनि अहिले सम्म कसैलाई कारवही गर्ने हिम्मत सम्बन्धित निकायले गरेको छैन । आचारसंहितामा उल्लेख गरीएका अधिकांश बुदाँहरू रौतहटमा उम्मेदवारले उल्लघन गरेका छन ।
आयोगको आचारसंहिताको परिच्छेद २ को दश नम्बर बुदाँमा राजनितिक दल विद्यालय, सरकारी तथा सार्वजनिक भवन तथा र्धािर्मक पुरातात्विक भवनाको भित्तामा पर्चा टास्न मनाही गरिएको भए पनि रौतहटमा त्यसको पालना भएको छैन । त्यसै गरी बुदाँ नंम्बर १२ मा तुल ब्यानर प्रयोग गर्न नपाइने भनिए पनि सदरमुकाम गौरका मुख्य चोक, जिल्ला निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला अदालत अगाडि नै एमाओवादी, एमाले र फोरम लोकतान्त्रिकको तुल झुण्डीएको छ । प्रचार प्रसारका लागी प्लास्टीकजन्य बस्तु निषेध गरीएकोमा यसको पनि प्रयोग भएको छ । साथै आयोगले आचारसंहितामा उल्लेख गरेको झण्डा तथा पर्चाको नापतौल र मुद्रणमा पनि उम्मेदवारहरूले लापरवाही देखाएका छन् ।
यसै गरी आचारसंहिताले एक उम्मेदवारले दुई भन्दा बढी गाडी प्रयोग गर्न नपाउने भने पनि एउटै उम्मेदवारले दश भन्दा बढी गाडीहरू प्रयोग गरि रहेका छन् । अर्का तर्फ कमाउने दाउमा उम्मेदवारी दिएका केही स्वतन्त्र तथा नक्कली उम्मेदवारहरूले आफूले पाएका गाडीमा अर्कै दलको झण्डा राखी प्रचार प्रसार गरेको पाइएको छ ।
यसै गरी क्षेत्र नम्बर ३ मा मौलापुर प्रहरी चौकीका असई रणधिर सिंह स्वयं माओवादीको पक्षमा मत मागेर हिडेको आरोप लागेको छ । आफ्नो इलाकामा सिंहले दल विषेशको मत माग्दै हिडेको नेपाली कांग्रेसका उम्मेदवार हृदय राय यादवले आरोप लगाएका छन् । यता क्षेत्र नम्बर ३ मै एमाओवादीका प्रभु साहले पनि आचारसंहिता विपरीत भोजभतेर गर्ने तथा वाइसिएल जम्मा पारी ब्यारेक नै बनाएको आरोप संघीय सद्भावनाका उम्मेदवार राजेन्द्र पटेलले लगाएका छन । आफ्नो प्रभाव देखाउन साहले विभिन्न मस्जीदहरूलाई नगद चन्दा दिएको समेत उनले आरोप लगाएका छन । यस सम्बन्धमा एमाओवादीले भने आफूहरूले आचारसंहिता विरोधी कुनै काम नगरेको प्रतिक्रिया दिएको छ । गौर नगरपालिकाको सभा कक्षमा उम्मेदवारहरू संग आचारसंहिता विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा प्रहरी नै प्रचारमा लागेको भन्ने कुरा उठे पछि प्रहरी उपरिक्षक गोबिन्दराम परियारले भने त्यस बारे अनुसन्धान गरी कारवाही गरिने बताएका छन् । कार्यक्रमा सहभागीहरूले अनुगमन गर्ने निकाए प्रभावकारी नभएको आरोप लगाएका थिए ।
रौतहटका अधिकांश क्षेत्रहरूमा व्यापकरूपमा आचार संहिता उल्लघंन भए पनि कारवाही भने कसैलाई गरिएको छैन । आचारसंहिता उल्लघंनका विषयमा हाल सम्म कुनै क्षेत्रबाट पनि उजुरी नपरेको निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतिले जनाएका छन । मौखिक रूपमा आएका केही उजुरी अनुसार पोस्टरहरू हटाउन राजनितिक दललाई जानकारी गराइएको तथा अब आचारसंहिता उल्लघंनका घटना अनुगमनका लागी आफूहरू लागेको उनले बताएका छन । त्यसै गरी वाइसीएलको व्यारेकका बारेमा पनि सूचना जुटाएर कारवाही गर्ने उनले बताए ।

प्रतिक्रिया