टेलिस्कोप प्रविधिद्वारा मिर्गौला शल्यक्रिया सुरु

भक्तपुर, १३ कात्तिक । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले मुलुकमै पहिलोपटक टेलिस्कोप प्रविधिद्वारा सहज तरिकाले मिर्गौलादाताको शल्यक्रिया गर्न सुरु गरेको छ । विदेशमा यसअघि नै यो प्रविधि प्रयोगमा आइसकेको छ । विगतमा दान गर्ने व्यक्तिको मिर्गौला झिक्दा शरीरको धेरै भाग चिर्नुपर्ने बाध्यता थियो । यो प्रविधि सुरु भएपछि मिर्गौला निकाल्न जत्रो प्वाल चाहिन्छ, त्यति मात्रै चिरिने केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । यो प्रविधिका कारण मिर्गौला दान गर्ने व्यक्तिले विगतको जस्तो पीडा भोग्नु नपर्ने, मिर्गौला निकाल्न सहज हुने र घाउ पनि छिटो निको हुने भएको छ । विगतमा मिर्गौला दान गर्ने व्यक्ति शल्यक्रिया पछि पनि एक सातासम्म अस्पताल भर्ना हुनुपथ्र्यो । यो प्रविधिबाट मिर्गौलादाता शल्यक्रिया गरेको दुईदेखि तीन दिनमा घर जान सक्छन् । नयाँ प्रविधिबाट उपचार गर्न नेपालमा दक्ष जनशक्ति अभाव भएपछि केन्द्रले चेकोस्लाभियाका दुई विशेषज्ञ चिकित्सक स्वयंसेवकका रूपमा ल्याएको छ । कात्तिक ६ गते नेपाल आएका उनीहरूले ७ गतेदेखि यो प्रविधिबाट उपचार सुरु गरेको डा. श्रेष्ठले जानकारी दिए ।

अहिले नै १५ जना यो प्रविधिबाट उपचार गर्ने क्रममा रहेको बताउँदै उनले तत्काल दुई साताका लागि नेपाल आएका विशेषज्ञ टोलीले १० देखि १२ जनाको उपचार गर्न भ्याउने जानकारी दिए । नयाँ प्रविधिबाट मिर्गौला निकाल्दा खर्च भने बढी हुने बताइएको छ । यो केन्द्रमा अहिलेसम्म २० जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ । केन्द्रमा बढीमा चार लाख रुपैयाँमा मिर्गौला प्रत्यारोपण हुने
गरेको छ ।

प्रतिक्रिया