गोलमेच सम्मेलनका लागि वार्ता : माओवादी

mohan baidhya ji 1काठमाडौं, १२ कात्तिक । नेकपा माओवादीले सर्वपक्षीय गोलमेच सम्मेलन र परिणाममुखी राजनीतिक निकास निकाल्न वार्ताका लागि अनुरोध गरेको छ ।

नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले आज (मंगलबार) विज्ञप्ति जारी गरेर संविधानसभाको दोस्रो निर्वाचनलाई स्थगित गरेर परिणाममुखी वार्तामार्फत राजनीतिक निकास निकाल्न आग्रह गरेका हुन् ।

‘देश र जनताप्रति जिम्मेवार राजनीतिक पार्टीका नाताले हामी अझैपनि समय छदै गम्भीर बन्न र राष्ट्रिय सहमति विना हुन गइरहेको संविधान सभाको दोस्रो “निर्वाचन”लाई स्थगन गर्नु पर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सर्वपक्षीय गोलमेच सभा लगायतको प्रस्तावलाई गम्भीरतापूर्वक लिई वार्तामार्फत् परिणाममुखी राजनीतिक निकासका लागि आवश्यक पहल गर्न चार राजनीतिक दल तथा सरकारसंग फेरि पनि विशेष अनुरोध गर्दछौं ।’

अध्यक्ष बैद्यले मुलुक राजनीतिक दृष्टिले अत्यन्तै संवेदनशील संक्रमणकालीन तथा राष्ट्रिय सङ्कटको अवस्थामा रहेको बताएका छन् ।

‘संविधानसभाको निर्वाचन शान्ति प्रक्रियाको एउटा प्रमुख अङ्ग हो,’ बैद्यले भनेका छन्, ‘महान् जनयुद्धमा संलग्न माओवादी शक्तिको एउटा मूल हिस्सालगायत ३३ दलीय राजनीतिक मोर्चालाई पृथक राखेर हुन गइरहेको संविधान सभाको दोस्रो कथित निर्वाचनको कुनै अर्थ तथा औचित्य छैन र यसबाट जनताको संविधान पनि बन्न सक्तैन ।’

जनताको संविधान नबन्ने र शान्ति प्रक्रियालाई पूरा गर्न नसक्ने जनाउंदै नेकपा माओवादीले उल्टो अर्को द्वन्द्व समेत निम्त्याउने जनाएको छ ।

विभिन्न भागहरुमा बहिष्कार आन्दोलनमा रोक लगाउने, नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने र मुद्दा लगाउने जस्ता क्रियाकलापहरु गरिरहेको भन्दै अध्यक्ष बैद्यले विरोध जनाएका छन् । ‘दमनकारी नीतिको तीव्र विरोध तथा भत्र्सना गर्दछौं र गिरफ्तार गरिएका सबैलाई विनाशर्त रिहा गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन मिति नजिकिंदै गर्दा र चुनावी माहौल बढी रहेका बेला नेकपा माओवादीले चुनाव रोकेर सर्वपक्षीय गोलमेच सम्मेनको माग गरेको हो ।

प्रतिक्रिया