कांग्रेसलाई खुलेरै मत माग्दै कलाकारहरु

Neer-Shahaकाठमाडौं, १२ कात्तिक । मतदानको मिति निजिकिँदै गरेको र घरदैलो कार्यक्रम तिव्र भई रहेका बेला कलाकारहरुले पनि खुलेर उम्मेदवारहरुको अभियानमा सहयोग गर्न थालेका छन् ।

वरिष्ठ कलाकार नीर शाह, वरिष्ठ अभिनेता मदनदास श्रेष्ठ र वरिष्ठ गीतकार किरण खरेलले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्दै आज (मंगलबार) राजधानीमा घरदैलो कार्यक्रम गरेका छन् ।

काठमाडौंको क्षेत्र नम्बर–१ को अनामनगर क्षेत्रमा शाहसहितका कलाकर्मीले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । उनीहरुले लोकतान्त्रिक संविधान र व्यक्तिगत स्वतन्त्रताको रक्षा कांग्रेसले मात्रै गर्न सक्ने बताए ।

वरिष्ठ कलाकार शाहले समग्र चलचित्र क्षेत्रको विकासमा योगदन कांग्रेसले मात्रै दिन सक्ने बताए । ‘कांग्रेसले मात्रै चलचित्र क्षेत्रको मर्म बुझ्न सक्छ,’ उनले भने, ‘कला क्षेत्रको विकासका लागि कांग्रेसको पक्षमा मत मागेको हुँ ।’

कलाकार शाहले आफू कांग्रेसको बहुमतको पक्षमा रहेको बताए । उनले भने, ‘कांग्रेसको बहुमत आयो भने लोकतान्त्रिक संविधान बन्छ ।’

वरिष्ठ गीतकार खरेल र वरिष्ठ कलाकार श्रेष्ठले पनि कांग्रेसले बहुमत ल्याउनु अनिवार्य भएको बताए । उनीहरुले कांग्रेसले मात्रै मुलुकलाई संविधान दिन सक्ने भएकाले आफूहरु खुलेर लागेको बताए ।

एमालेले कलाकार भुवन केसी, एमाओवादीले नायिका रेखा थापा, राप्रपा नेपालले चलचित्र निर्माता उद्धव पौडेललाई चुनावी अभियानमा सक्रिय रुपमा अघि सारिरहेका बेला कांग्रेसले पनि कलाकारलाई चुनावी अभियानमा ल्याएको छ ।

पौडेल काठमाडौं–४ मा राप्रपा नेपालका प्रत्यक्ष तर्फका उम्मेदवार हुन् । केसी एमालेका समानुपातिक तर्फका उम्मेदवार हुन् ।

नायिका थापा उम्मेदवार हुने चर्चा चले पनि फोटोसहितको मतदाता नामावलीमा नाम नरहे पछि एमाओवादीको चुनावी प्रचारमा मात्रै सक्रिय छिन् ।

प्रतिक्रिया