नेताहरूको सोचमा परिवर्तनको खाँचो

govinda-copyसबैले भन्ने गरेका छन्, राष्ट्र संकटमा छ । धेरैलाई थाहा छ राष्ट्र संकटमा छ । राष्ट्र किन संकटमा फस्यो र यसको निदान के हो ? मुलुकले प्राप्त गरेको अवसर गुमाउने मुख्य भूमिका निभाउने खेलाडी को हुन् ? यसको लेखाजोखा गर्ने बेला आएको छ । वास्तवमा यो सबै राजनीतिक कुसंस्कारले भित्र्याएको संकट हो । हुन त संस्कार राम्रो पनि हुन्छ र नराम्रो पनि हुन्छ । संस्कार मानिसले विकास गर्ने कुरा हो । मान, सम्मान प्राप्त भएपछि त्यसलाई जोगाई राख्न सक्ने व्यक्ति नै सम्मानित हुन्छ । तर, उक्त व्यक्ति सम्मानित स्थानमा बस्न सकेन भने त्यो पतन भएर जान्छ । विश्वमा थुप्रै व्यक्तिले राम्रो संस्कार स्थापित गर्न ठुल्ठूला त्याग गरेका उदाहरणहरू छन् । हाम्रै छिमेकी मित्र राष्ट्र भारतका महात्मा गान्धी, दक्षिण अफ्रिकाका नेल्सन मन्डेलालगायत व्यक्तिले राजनीतिमा संस्कार स्थापित गरेका छन् । उनीहरूले राजनीतिलाई व्यवसाय होइन, सेवाको रूपमा ग्रहण गरेर सोहीअनुरूप व्यवहार गरेर देखाए । जनतालाई ढाँटेनन्, झुक्याएनन् । जे गर्न खोजेको हो त्यो गरेरै देखाए र त्यो राष्ट्र साथै जनताकै पक्षमा भएको प्रमाणित गरे । नेपाली जनता आफ्ना नेताहरू पनि त्यस्तै इमान्दार र राजनीतिक संस्कार विकास गर्न सक्ने हुन् भन्ने चाहन्छन् । तर, हाम्रा नेताहरू जति धेरै ढाँट्न र छल्न सक्यो त्यति नै सफल र ठूलो हुने ठान्छन् । यही कारणले गर्दा जनताले सफलतापूर्वक सम्पन्न गरेको आन्दोलनबाट प्राप्त उपलब्धिसमेत गुम्ने गरेको छ । वर्तमान अवस्था पनि प्राप्त उपलब्धि गुम्नेतिर नै अग्रसर भएको पाइन्छ । एउटा गुट, गुटभन्दा माथि पुगे एउटा पार्टीको मात्र नेता बन्ने सपना बोकेको व्यक्ति राष्ट्रको नेता बन्न सक्दैन । अर्कोतर्फ कार्यकर्ता पंक्तिमा चेतनाको विकास नभएसम्म नेतृत्व विकास हुन सक्दैन । नेताले कुतर्कद्वारा कार्यकर्ता, जनता र राष्ट्रलाई समेत लज्जित बनाइरहेको हुन्छ । यसमा सचेत कार्यकर्ता छ भने नेतालाई पनि सही मार्गमा ल्याउन सक्छ र कार्यकर्ता सचेत हुन जरुरी छ ।
नेपाली जनताले ठुल्ठूला आन्दोलन सफलतापूर्वक सम्पन्न गरे । कसैले माने पनि नमाने पनि ००७ सालदेखि यता भएका आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो । वास्तवमा नेपालमा वामपन्थी वर्चश्व रहे पनि वाम नेतृत्वले अत्यन्त कप्टी र छली काम गर्‍यो । जस्तो कि माओवादी सशस्त्र संघर्ष के का लागि भएको थियो ? जनवाद ल्याउने सपना देखाएर १६ हजार निर्दोष जनता किन मारिए ? प्रचण्डपथ कहाँ थियो र अहिले कहाँ छ ? एमालेको जनताको बहुदलीय जनवाद भनेको के हो ? अर्थात् कम्युनिस्टहरूले जनतालाई ढाँटेर कुटिल, छली र धूर्त भाषणमा व्यक्त गर्ने जनवादी शासन भनेको के हो ? वास्तवमा वामपन्थीहरूले जनतालाई भ्रममा राख्न मात्र भाषण गरे । यसैले गर्दा बौद्धिक वर्गमा वामपन्थीहरूले जनतालाई भ्रममा राखेर सत्तामा जाने गर्छन् भन्ने सोच विकसित भएको छ । विगतले भन्छ वाम आन्दोलन राष्ट्र र जनताको पक्षमा भए पनि नेतृत्व तहमा रहेको पुँजीवादी चिन्तनले गर्दा प्राप्त उपलब्धिहरूले स्थायित्व पाएनन् । वर्तमान अवस्थामा पनि प्राप्त उपलब्धि दिगो, स्थायी र व्यवस्थित बनाउनेतर्फ सोचेको पाइँदैन । यही कारणले गर्दा जनतामा नेताहरूप्रति वितृष्णा बढ्दै गएको छ । ठूलो आन्दोलनपछि प्राप्त संविधानसभाले जनतालाई संविधान दिन सकेन । अहिले आएर दोस्रोपटक ४ मंसिरमा संविधानसभाको निर्वाचन हुँदै छ । तर, अहिले पनि ४ मंसिरको मितिमा निर्वाचन हुन्छ भन्ने विश्वास पूर्ण गर्न सक्ने अवस्था छैन ।
नेताहरूले राजनीतिक संस्कार गुमाएपछि मुलुकमा संकट भित्रिएको भन्ने ठानिएको छ । वास्तवमा अहिलेको राष्ट्रिय समस्या नेताहरूको विमतिले निम्त्याएको समस्या हो । त्यसमा पनि संस्कारहिन असहमतिको विकास गरेर तीन दलका शीर्ष नेताले यसलाई निम्त्याएका हुन् भन्ने सबैले बुझेका छन् । राष्ट्रकै लागि नेतृत्व गर्न सक्ने क्षमतावान् नेता नजन्मनु अर्को दुर्भाग्य हो । स्वार्थी, आफ्नो अनुकूल मात्र सोच्ने र सत्तामा पुगेर छिटै अतिरिक्त सम्पति आर्जन गर्ने सोचले ग्रस्त नेतृत्वले राष्ट्रको हित गर्न सक्दैन । त्यसले कुसंस्कार विकास गर्छ र मुलुकमा समस्या निम्त्याउँछ । अहिले नेपालमा राजनीतिक नेताकै अदूरदर्शी चिन्तन, व्यक्तिगत स्वार्थपूर्ति गर्ने उच्च अभिलाषा र संस्कारहीन कारण विभिन्न खाले समस्या उत्पन्न भएका हुन् ।
नेपालमा विभिन्न दर्शन मान्ने दल छन् । त्यस मध्ये पनि कम्युनिस्टहरूले आत्मसम्मान र नैतिकताको अर्थ बुझेनन् । राजनीति गर्न मैदानमा ओर्लिनुको अर्थ सम्पत्ति आर्जन गर्नु र झुठ बोल्नु मात्र थिएन । यसको अर्थ सेवाभावले ओतप्रोत र लक्ष्यप्रति दृढताको फराकिलो सोच हुनु पथ्र्यो तर, राजनीतिलाई कपटपूर्ण खेलमा रूपान्तरण गरियो । जसले गर्दा वामपन्थीले नेपालमा थालेको आन्दोलन लक्ष्यविहीन हँुदै भड्किएर सामन्तवादको सेवामा समर्पित हुने गरेको छ । माक्र्सले प्रतिपादन गरेको विज्ञानसम्मत दर्शनलाई तोडमरोड गरेर नेपाली कम्युनस्टिले विकृत तुल्याएका छन् । जसले गर्दा नेपाली कांग्रेसले समेत वामपन्थीहरूको कुरा पत्याउँदैन । तथापि जनता भने अहिले पनि कम्युनिस्ट समर्थक नै बढी देखिन्छन् । माक्र्सवादको बोक्रो घोकाएर होइन वास्तविकतामा आधारित भएर जनतालाई नझुक्याई साँच्चैको अग्रगामी कदम चाल्ने हो भने कम्युनिस्टले नै नेपाल र नेपालीको मुहार फेर्न सक्ने थिए । उत्पादनका स्रोत र साधनमाथि समानअधिकारको अपेक्षा राख्ने जनतालाई कहिले जनताको बहुदलीय जनवाद, कहिले मानिस मार्ने जनयुद्ध र कहिले हुँदै नभएको ‘प्रचण्डपथ’ घोकाउनुको कुनै तुक छैन । राजा महेन्द्रले घोषणा गरिदिएपछि लागू भएको भूमिसुधार र मोहियानी हकमै अहिले पनि नेपाली जनता बाँचिरहेका छन् । त्योभन्दा उन्नत प्रकारको भूमिसुधारको अपेक्षा गरेका जनतालाई कम्युनिस्टहरूले बनाएको पाँच वटा सरकारले पनि केही दिन सकेन । यो सबै नेताहरूको नैतिकतामा आएको ह्रास, मनमा पनपियको कुसंस्कार र अल्प सोचका कारण भएको हो । माक्र्सले प्रतिपादन गरेको दर्शनको कपाल खौरिएर नक्कली कपाल लगाइदिएपछि त्यसैलाई संसारको सबैभन्दा उत्तम दर्शन ठान्ने मानसिकताबाट नेपालका कम्युस्टिहरू मुक्त हुनुपर्छ । संस्कार बसाउने हो भने दर्शनमाथिको नक्कली कपाल हटाउँदै आफ्नो संस्कार विकसित गर्न सकिन्छ ।
नेपाली कांग्रेसलाई केही भन्नु छैन । उ आफ्नै धरातलमा दूधे पाडो जस्तो धरङखरङ गर्दै छ । आफ्नै पुरानो इतिहासको सहारा लिएर त्यही संस्कारमा रमाइरहेको छ । जनतालाई झुक्याउने र ढाँट्ने काम पनि यसबाट त्यति भएको छैन । ‘हारे नेल हतकडी जान्छ, जिते राज्य सत्ता प्राप्त हुन्छ’ भन्दै ‘जनयुद्ध’ पनि यसले गरेको छैन । नेपाली कांग्रेसले जनआन्दोलनहरूको नेतृत्व भने गरेको छ । उसँग एक खालको संस्कार पनि छ । तसर्थ नेतृत्वले विश्वास योग्य, भरपर्दो र सान्दर्भिक हुन जरुरी छ । सोही अनुरूपको आचारण विकास गर्ने र उन्नत संस्कार बसाउने काम नेतृत्वले गर्न सक्नु पर्छ । तब मात्र राष्ट्रमा व्याप्त समस्या समाधान हुनेछ । भनेकै मितिमा चुनाव सम्पन्न हुन सक्छ र संविधान पनि
बन्न सक्छ ।

प्रतिक्रिया