सिनियरमा प्रहरी र जुनियरमा काठमाडौं टिम च्याम्पियन

taekwondoकाठमाडौं, १० कात्तिक । चौथो कोटेश्वर आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियरमा नेपाल प्रहरी क्लब र जुनियरमा काठमाडौं जिल्ला शनिबार च्याम्पियन बनेका छन् । कोटेश्वर तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा प्रहरीले ५ स्वर्ण, १ रजत र २ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । २ स्वर्ण, ३ रजत र ३ कांस्यसाथ आयोजक ‘ए’ दोश्रो भयो भने तेश्रो बनेको एपीएफ क्लबले २ स्वर्ण र २ कांस्य हात पार्‍यो । जुनियरमा च्याम्पियन बनेको काठमाडौंले ३ स्वर्ण र १ कांस्य आफ्नो नाममा लेखायो । दोश्रो भएको पूर्वाञ्चलले १ स्वर्ण, २ रजत र २ कांस्य जित्यो । १ स्वर्ण, १ रजत र ४ कांस्यसाथ आयोजक ‘ए’ ले तेश्रो स्थानमा चित्त बुझायो । सिनियरको पुरुषमा रञ्ज श्रेष्ठ र महिलामा निमा गुरुङ उत्कृष्ट खेलाडी चुनिए । दुवै प्रहरीका हुन् । जुनियरको पुरुषमा आयोजक ‘ए’ का कृष्ण लामा र महिलामा काठमाडौंकी सन्दिपा आम्गाईं उत्कृष्ट खेलाडी ठहरिए । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको अन्तिम दिन १४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । नरेफााटमा भएको प्रतियोगिताको सिनियरतर्फ पुरुषको ५४ केजीमुनि एपीएफका चन्द्र राना मगरले स्वर्ण जिते । उनले फाइनलमा प्रहरीका विशाल श्रेष्ठलाई पराजित गरे । ५८ केजीमुनि प्रहरीका रञ्जन श्रेष्ठले बाजी मारे । फाइनलमा उनले पश्चिमाञ्चल जोर्डनविक्रम श्रेष्ठको चुनौती समाप्त पारे । ६३ केजीमुनिको फाइनलमा आयोजक ‘ए’ का रोहित तामाङले आफ्नै ‘बी’ टिमका विवश श्रेष्ठलाई निराश पार्दै स्वर्ण जिते । सिनियरकै पुरुष ६८ केजीमुनि आयोजक ‘ए’ का मोहम्मद वेशले स्वर्ण चुमे । फाइनलमा उनले पूर्वाञ्चलका पवन अगस्तीलाई पाखा लगाए । ७४ केजीमुनि प्रहरीका अनोज पुजारीले आयोजक ‘ए’ का सक्षम कार्कीलाई निराश पार्दै शीर्ष स्थान हात पारे ।

सिनियर महिलाको ४६ केजीमुनि प्रहरीकी रेजिना कार्की पहिलो भइन् । रेजिनाले आयोजक ‘ए’ की काजोल श्रेष्ठलाई हराइन् । ४९ केजीमुनिको उपाधि भिडन्तमा प्रहरीकी सीता तामाङले मध्यमाञ्चलकी सोममाया तामाङलाई हराउदै पहिलो स्थान हात पारिन् । प्रहरीकी निमा गुरुङ पश्चिमाञ्चलकी तारा जीसीलाई पाखा लगाउदै ५३ केजीमुनि च्याम्पियन बनिन् । ५७ केजीमुनि एपीएफकी संगीता बस्याल शीर्ष स्थानमा रहिन् । संगीताले फाइनलमा आयोजक ‘ए’ की सुष्मा श्रेष्ठलाई पन्छाइन् । जुनियर महिलाको ४२ केजीमुनि पूर्वाञ्चलकी विनिका जोशी र ३८ केजीमुनि काठमाडौंकी सन्दिपा आम्गाईंले स्वर्ण चुमे । त्यसैगरी जुनियर पुरुषको २५ केजीमुनि काठमाडौंका विधान श्रेष्ठ, ४६ केजीमुनि मध्यमाञ्चलका प्रशन्न कायश्थ तथा ५० केजीमुनि आयोजक ‘ए’ का कृष्ण लामा पहिलो भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगितामा सिनियर र जुनियरमा १२ टिमका जम्मा १ सय ५३ खेलाडीले १५ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया