व्यायाम मन्दिरको अध्यक्षमा नारायण प्रधान नै

byayam-mandirनेपाल व्यायाम मन्दिरको चौधौं साधारणसभाले नारायण प्रधानको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति शुक्रबार चयन गरेको छ । तीन महत्वपूर्ण पद अध्यक्ष, महासचिव र कोषाध्यक्ष बाहेक सबै पद निर्विरोध भए । अघिल्लो कार्यसमितिका पनि अध्यक्ष प्रधान ४८ मतसहित विजयी भए । उनका प्रत्यासी नानीकाजी डंगोलले २१ मत ल्याए । महासचिवमा ४१ मतसाथ अजयकुमार वज्राचार्यले बाजी मारे ।
उनले यसअघिका महासचिव सूर्यप्रसाद जोशीलाई हराए । जोशीले ३० मत प्राप्त गरे । कोषाध्यक्षमा विजयी भएका ईश्वर श्रेष्ठले ५३ मत पाए । उनका निकत्तम प्रतिद्वन्द्वी जुजुभाई महर्जन १८ मतमा सीमित भए । उपाध्यक्षमा प्रतापकाजी बरिया र रत्नलाल मानन्धर, सचिवमा हरि श्रेष्ठ र सह–कोषाध्यक्षमा प्रशान्त सिंह निर्विरोध चुनिए । ईश्वर खड्गी शाही, दिनेश श्रेष्ठ, राजेन्द्र तण्डुकार, रैनबहादुर बासुकला र नरेश पोडे सदस्यमा निर्विरोध चयन भए । २०१० सालमा स्थापना भएको नेपालकै पुरानो व्यायामशालाको साधारणसभामा ७१ प्रतिनिधि सहभागी थिए ।
यसैबीच व्यायाम मन्दिरले विभिन्न प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । गत वर्ष धरानमा भएको चौथो मिस्टर हिमालयको पुरुष ५५ केजीका स्वर्ण विजेताका सुजन तामाङ, ७० केजीका स्वर्ण विजेता श्याम श्रेष्ठ, ६५ केजीका स्वर्ण विजेताका साथै मिस्टर हिमालय उपाधि विजेता रामबहादुर दाहाल, ६० केजीका रजत विजेता रामहरि खनाल तथा ७५ केजीका रजत विजेता सन्जिव श्रेष्ठ सम्मानित भए । त्यस्तै गत फागुनमा भैरहवामा भएको दोश्रो मिस्टर नेपालको पुरुष ६० केजीका स्वर्ण विजेता सुजन तामाङ, ६५ केजीका स्वर्ण र उपाधि विजेता श्याम श्रेष्ठ, ७० केजीका स्वर्ण विजेता सन्जिव श्रेष्ठ, ८० केजीका रजत विजेता प्रभाश केसी तथा ७७ केजीका कांस्य विजेता दीपकध्वज ठकुरीलाई सम्मान गरियो । प्रत्येक स्वर्णलाई १० हजार, रजतलाई ७ हजार र कांस्यलाई ५ हजारका दरले सम्मान गर्नुका साथै प्रशंसापत्र प्रदान गरियो । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले सम्मान गरे ।

प्रतिक्रिया