सुरक्षामा गम्भीर चुनौती

nepal policeकाठमाडौं, ९ कार्तिक । सरकारले संविधानसभा निर्वाचन शान्तिपूर्ण बनाउन जनपथ, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरे पनि चुनावी सुरक्षा भने चुनौतीपूर्ण बन्दै गएको छ । दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका नेकपा माओवादीसहित ३३ दलीय मोर्चा र तराईमा रहेका भूमिगत समूहका कारण सरकारको चुनावी योजना प्रभावित हुने त्रास बढ्दै गएको छ ।

चुनावी अभियानका लागि आफ्नो क्षेत्रमा व्यस्त रहेका राजनीतिक दलका उम्मेदवारहरू नै आक्रमणको निशाना बन्न थालेपछि अवस्था थप जटिल बन्दै गएको हो । ताप्लेजुङमा एमाओवादी उम्मेदवार सञ्चपाल मादेनमाथि आक्रमण भएपछि एमाओवादी प्रवक्ता अग्नि सापकोटाले वक्तव्य नै जारी गरेर सुरक्षाकर्मीको चरम लापरबाही र सुरक्षा चुनौतीका कारण त्यस्तो घटना भएको आरोप लगाए । निर्वाचनको समय नजिकिँदै जाँदा दैनिकजसो उम्मेदवारहरू माथि आक्रमण र अवरोधका घटना भइरहेका छन् । दर्जनाँ स्थानमा उम्मेदवारमाथि आक्रमण भएका छन् । हरेक दिनजसो झडप हुने र विभिन्न दलका कार्यकर्ता घाइते भएर अस्पताल भर्ना हुने क्रम पनि बढ्दो छ । सुरक्षा फौज आवश्यक मात्रामा खटाएको भनेर सरकारले दाबी गरे पनि आक्रमणका घटना नरोकिँदा चुनावी सुरक्षाका विषयमा शंका उब्जिएको हो ।
यता गृहमन्त्री माधवप्रसाद घिमिरले भने चुनावका लागि उच्च सतर्कता अपनाएको दाबी गर्दै चुनाव बिथोल्ने खोज्नेलाई कारबाही गर्न सरकार पछि नहट्ने बताउँछन् । वाम विश्लेषक हरि रोका भने एउटा शक्तिलाई इन्कार गरेर निर्वाचनमा अघि बढ्दा यस्ता परिस्थिति उत्पन्न हुनु स्वाभाविक भएको तर्क गर्छन् ।
चुनाव बहिष्कारको घोषणा गरेको नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसाल कुनै पनि निर्वाचनमा भाग लिनु र बहिष्कार गर्नु दुवै लोकतान्त्रिक अधिकार भएको जिकिर गर्छिन् । ‘चुनाव बहिष्कार गर्दा गिरफ्तार गरी फाासिवाद उन्मुख चरित्र प्रदर्शन गरियो’, प्रवक्ता भुसालले भनिन्, ‘गिरफ्तार गरिएका कार्यकर्ताहरू सबैलाई रिहा गरी बहिष्कार गर्न पाउने लोकतान्त्रिक अधिकारको सम्मान नगरिए कडा आन्दोलनमा जान्छौा ।’ केही साता पहिले मात्रै बाराका एमाले उम्मेदवार मोहमद आलमको गोली हानी हत्या गरियो । प्रचारप्रसारमा हिँडेका उम्मेदवारहरू विभिन्न स्थानमा आक्रमणको सिकार भइरहेका छन् । केही उम्मेदवार घाइतेसमेत भएका छन् ।
ताप्लेजुङमा एकीकृत माओवादीका उम्मेदवार सञ्चपाल मादेनलाई आक्रमण गरी गम्भीर घाइते बनाइएको छ । नेकपा–माओवादी र संघीय लिम्बुवानका कार्यकर्ताले उनीमाथि आक्रमण गरेको दाबी एमाओवादीको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुँदाहुँदै उनी आक्रमणमा परेको एमाओवादीको भनाइ छ । त्यसैले पनि चुनावी सुरक्षा योजना फितलो भएको आशंका गर्न थालिएको छ । नेकपा–माओवादीका कार्यकर्ताले नेकपा एमालेका सचिव शंकर पोखरेल चढेको जिपमा तोडफोड गरे ।
दाङको क्षेत्र नम्बर ४ का उम्मेदवार पोखरेल चढेको बा. २ च २७३४ नम्बरको जिपलाई शुक्रबार नेकपा–माओवादीका कार्यकर्ताले तुलसीपुर नगरपालिका–५ को नयाँ बसपार्कमा तोडफोड गरिदिए । पोखरेल चुनावी सभालाई सम्बोधन गर्न नयाँ बसर्पाक पुगेका थिए । पोखरेल पुगे लगत्तै नेकपा–माओवादीका कार्यकर्ताले उनको गाडी तोडफोड गरेको दाङका प्रहरी प्रमुख उपरीक्षक शरदकुमार खत्रीको भनाइ छ । तोडफोडमा संलग्न भएको आरोपमा हेकुली–४ का २० वर्षीय सुरज परियार, तुलसीपुर–९ का १६ वर्षीय बद्री खड्का र तुलसीपुर–६ का १६ वर्षीय सुधीर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै गत बुधवार सप्तरी निर्वाचन क्षेत्र ५ बाट नेकपा माले समाजवादी पार्टीबाट उम्मेदवार बनेका सिंहेश्वर शाहलाई स्थानीय ४ युवकले निर्घात कुटपिट गरेका थिए । यस्तै, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको गाडीमा पनि आगजनी भएको थियो ।
गोरखा २ र रूपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका भट्टराईको ग १ च ५१५४ नम्बरको गाडीमा रूपन्देही पर्वा ६ मा आगजनी गरिएको थियो । जनयुद्धको उद्गमस्थल नै मानिएको रोल्पामा पनि बिहीबार एमाओवादीको उम्मेदवार टोलीमाथि वैद्य माओवादीले आक्रमण गर्‍यो । प्रचारप्रसारका लागि चुनावी सभामा सहभागी हुन पुगेकी रोल्पा २ की उम्मेदवार ओनसरी घर्तीमगरको टोली र नेकपा–माओवादीका कार्यर्ताबीच ढुंगा हानाहानसमेत भएको थियो । यसैगरी, पाँचथर क्षेत्र नम्बर २ का लागि पठाइएको संविधानसभा सम्बन्धी शिक्षा सामग्री नेकपा–माओवादीले बिहीबार नियन्त्रणमा लिएर जलाइदिए । ती घटनाक्रमले चुनावी सुरक्षा थप चुनौतिपूर्ण बन्दै गएको छ । यस्ता घटनाले कतै संविधानसभाको तिथि मितिमा असर त गर्ने होइन भन्ने आशंका पनि पैदा भएको छ ।
वाम विश्लेषक रोकाका अनुसार राज्य र राजनीतिक दलले वैद्य पक्षलाई इन्कार गर्दा यस्ता घटनामा वृद्धि भएको हो । नेकपा–माओवादी नेतृत्वको मोर्चाले घोषित रूपमै बहिष्कार गर्छौँ
भनिरहेको अवस्थामा त्यो पक्षलाई बाहिर राख्नु भूल भएको उनको ठम्याई छ । सुरक्षा चुनौती थप जटिल बनिरहेको बेला एमाओवादी प्रवक्ता सापकोटाले आफूमाथि आईलाग्नेहरूको डटेर प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । चुनावी अभियानमा जुटेको पार्टीबाट आधिकारिक रूपमा भिडन्तको निर्देशन प्राप्त भएपछि अवस्था थप समस्याग्रस्त हुने सुरक्षा अधिकारीहरू बताउंछन् ।
राजनीतिक विश्लेषक मुमाराम खनालका अनुसार अघिल्लो निर्वाचनमा भन्दा यो पटक बढी झडप र अप्रिय घटना हुनेछ । विपक्षी दल वार्तामा बस्न तयार हुदा हुदै उनीहरूलाई वेवास्ता गरेर निर्वाचनमा अगाडी बढ्दा यस्ता घटना हुनु सामान्य भएको उनको भनाई छ । यता शुक्रवार मात्रै नेकपा माओवादीका सचिव देव गुरुङले आफनो पहिलो प्रहार एमाओवादी अध्यक्ष प्रचण्ड भएको घोषणा गरेका छन् । गुरुङको यो अभिब्यक्तिले थप त्रास उत्पन्न गराएको विश्लेषकहरूको ठम्याई छ । नेकपा– माओवादीले विभिन्न स्थानमा अन्य पार्टीका उम्मेदवार र कार्यकर्ता भन्दा एमाओवादीका उम्मेदवार र कार्यकर्तालाई निशाना बनाएकाले चुनावी अभियानको सुरक्षा ब्यस्थामा थप चुनौती देखा परेको विश्लेषकको ठम्याई छ ।

प्रतिक्रिया