लिटरेचर फेस्टिबलको तेस्रो संस्करण काठमाडौंमा

काठमाडौं, ९ कात्तिक । नेपाल लिटरेचर फेस्टिबलको तेस्रो संस्करण काठमाडौंमा शुक्रबारदेखि सुरु भएको छ ।

महोत्सवको राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गरेका थिए । उदघाटन समारोहमा बोल्दै राष्ट्रकवि घिमिरेले यस्ता मेलाले साहित्यकारको राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय उचाईंमा पुर्‍याउन सहयोग गर्ने बताए । राष्ट्रकवि घिमिरेले ९४ वर्षको उमेरमा मेलाको प्रत्यक्षदर्शी बन्न पाएकोमा खुसी व्यक्त गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति वैरागी काइँलाले मेला साहित्यको मात्र नभएर सम्पूर्ण नेपाली वाङ्मयको मेला भएको बताए । फेस्टिबलका निर्देशक अजित बरालले यस्ता कार्यक्रमले पुस्तक बजार र पठन संस्कृतिलाई विस्तार र प्रोत्साहन मिल्ने आशा व्यक्त गरे । कार्यक्रममा लेखकद्वय प्रज्जवल पराजुली र फराह गुझनाभीको साहित्यिक पत्रिका ललितको दोस्रो संस्करणको विमोचन गरिएको थियो ।
बुकवर्म फाउन्डेशनले आयोजना गरेको महोत्सवमा साहित्य, कला, समाजशास्त्र, अर्थशास्त्र, सिनेमालगायत वषय समावेश छन् ।
अभि सुवेदी, विजयकुमार पाण्डे, सिके लाल, शारदा शर्मा, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नयनराज पाण्डेलगायत नेपाली लेखक र भारतबाट लेखक रविन्द्र सिंह, शोभा डे, एनी जेदी, प्रज्वल पराजुली, प्रकाश ऐयर, बेलायतबाट नेड ब्युम्यान र बंगलादेशबाट फराह गुझनभीलगायत विदेशी लेखक महोत्सवमा सहभागी छन् । लिटरेचर फेस्टिवल चार दिनसम्म चल्ने छ ।

प्रतिक्रिया